कोरोना नियन्त्रणमा गम्भीर नभएको भन्दै संसदमा सरकारको आलोचना – Nepal Press

कोरोना नियन्त्रणमा गम्भीर नभएको भन्दै संसदमा सरकारको आलोचना

जनकपुरधाम । कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गए पनि नियन्त्रणका लागि आवश्यक तयारी नगरेको भन्दै प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेश २ सरकारको आलोचना गरेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जनताको ज्यू धनको रक्षा गर्न प्रदेश सरकार असफल भएको आरोप लगाए । उनले प्रदेश सरकार ‘निकम्मा’ बनेको टिप्पणी गरे । उनले भने, ‘पिसिआर मेसिन छ, तर प्राविधिक छैन । अनि कसरी हुन्छ परीक्षण ?’

उनले सर्वदलीय समिति बनाएर कोरोना नियन्त्रणका लागि आवश्यक गर्न सरकारलाई सुझाए । भने, ‘हामी विगतमा पनि हरकिसिमले सहयोग गर्न तयार भएकै थियौं । अहिले पनि तयार छौं । तर सर्वदलीय समिति बनाइयोस् । र छलफल गरी अगाडि बढोस् ।’

यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप कुमार साहले भने, ‘कोरोनाले भारत आक्रान्त बनेको छ । प्रदेश २ मा पनि संक्रमितको संख्या बढ्न थालेको छ । तर सरकार सुतेको देख्दा दुःख लागेको छ ।’

सत्तारुढ जसपाकै सांसद करिमा बेगम पनि कोरोना नियन्त्रणका लागि सरकारले केही नगरेको भन्दै आक्रोश पोखिन् । उनले प्रदेशका आठै जिल्लामा कोभिड अस्पताल निर्माण गर्न सुझाइन् ।

उनले भनिन्, ‘वीरगञ्जका सबै अस्पताल कोरोना संक्रमितले भरिसक्यो । अन्य विरामीको उपचार गर्ने ठाउँ छैन । त्यसैले हरेक जिल्लामा अलग कोभिड अस्पताल निर्माण गर्न आवश्यक छ । सरकारको यसतर्फ ध्यान जाओस् ।’

जसपाकै सांसद रिना यादवले पनि कोरोना परीक्षण गर्ने मेसिन खरिद गरियो तर कर्मचारी किन राख्न नसकेको भन्दै सरकारलाई प्रश्न गरिन् । उनले भारतमा अक्सिजनको अभाव भइरहेको भन्दै प्रदेशमा कोरोनासँग जुध्न सरकारले गरेको तयारी सदनलाई जानकारी गराउन माग गरिन् ।

नामाकरण र राजधानीका विषयमा छलफल

आजको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा पनि छलफल भएको छ । नामाकरणका लागि ६ र स्थायी राजधानीका लागि ७ वटा प्रस्ताव प्रदेशसभामा दर्ता भएको छ ।

सत्तारुढ जसपा र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नाम ‘मधेस’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ भने कांग्रेसले ‘मिथिला भोजपुरा’ र नेकपा एमालेले ‘जानकी’ प्रस्ताव गरेको छ । यस्तै पार्टीको निर्णय नमानेर एमालेकी सांसद शारदादेवी थापाले ‘जनक’ र नेपाली कांग्रेसका राजेश्वर प्रसाद साहले ‘मध्य मधेस’ नाम प्रस्ताव दर्ता गराएका छन् ।

राजधानीका लागि सत्तारुढ जसपा, माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसले पार्टीको निर्णय बमोजिम जनकपुरधामलाई स्थायी राजधानीको प्रस्ताव दर्ता गराएको छ । कंँग्रेस सांसद राजेश्वर प्रसाद साह र जसपा साँसद सिंहाशन साह कलवारले व्यक्तिगत रुपमा वीरगञ्जलाई स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गराएका छन् ।

आजको बैठकमा सम्बन्धित सांसदहरुले आ–आफ्नो प्रस्ताव तर्कसहित पेश गरेका छन् । नेपाली कांग्रेसका सांसद नरेश यादवले प्रदेशसभा आह्वान गरेपछि सबै दलले कम्तिमा छलफल गरी साझा प्रस्ताव ल्याउनुपर्थ्यो तर छलफलको वातावरण सरकारले नबनाउदा अलग अलग प्रस्ताव दर्ता गराउनुपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live