लुम्बिनी सरकार र ९ स्थानीय तहबीच सडक निर्माण तथा सुधार सम्झौता – Nepal Press

लुम्बिनी सरकार र ९ स्थानीय तहबीच सडक निर्माण तथा सुधार सम्झौता

रुपन्देही । संघीय सरकारले ल्याएको प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश सरकारले आइतबार ९ वटा स्थानीय पालिकासँग सम्झौता गरेको छ ।

प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत सञ्चालन गरिने सडक निर्माणको कार्य सातवटै प्रदेशमा एकसाथ सुरु गरिएको हो ।

लुम्बिनी प्रदेशमा पनि सडक सञ्जालले नजोडिएका ९ वटा स्थानीय तहका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै तिवारीले हाललाई ७५ किलोमिटर सडक निर्माण गर्ने गरी पहिलो चरणमा प्रस्तावना आएको र सोहीअनुसार सम्झौता गरिएको उनले बताए ।

मन्त्रालयले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका, पश्चिमनवलपरासीको सुनवल नगरपालिका, गुल्मीको मालिका गाउँपालिका, इस्मा गाउँपालिका गुल्मी, कालिकागण्डकी गाउँपालिका गुल्मी, पाल्पाको रम्भा गाउँपालिका, प्युठानको ऐरावती गाउँपालिका, रोल्पाको सुनछहरी गाउँपालिका र पश्चिम नवलपरासीको त्रिवेणी गाउँपालिका जनप्रतिनिधिबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सडक सञ्जालले नजोडिएका २ सय ८३ वटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सडक पुर्याइसक्ने लक्ष्य सरकारको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर