कांग्रेसको लाइन बनाउन बैठक बस्ने कि नबस्ने भन्नेमै दुई लाइन – Nepal Press

कांग्रेसको लाइन बनाउन बैठक बस्ने कि नबस्ने भन्नेमै दुई लाइन

‘ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको भए कांग्रेस घर न घाटको हुने रहेछ’

काठमाडौं । सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको पुनःस्थापना नहुँदासम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र मध्यावधि निर्वाचन र आन्दोलनमध्ये कुन उपयुक्त विकल्प भन्ने विवाद कायमै थियो ।

संसद पुनःस्थाना भएपछि कांग्रेसमा नयाँ सरकार निर्माणको अगुवाई गर्ने वा नगर्ने भन्नेमा अलमल देखियो । सभापति शेरबहादुर देउवा वर्तमान सरकारको ‘विकल्पका लागि उपयुक्त समयमा उपयुक्त निर्णय लिने’ पक्षमा थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल भने सरकारको विकल्प खोज्न ढिलाइ गर्न नहुने र त्यसका लागि प्रचण्ड-माधव पक्षसँग सहकार्य गर्न तयार हुनुपर्ने पक्षमा उभिए ।

प्रधानमन्त्री ओलीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव ल्याउनेसम्मको विषयमा कांग्रेसको शीर्ष नेतृत्व र ओलीइतर नेकपा सहमत भइसकेका थिए । यद्यपि नेकपाको वैधानिक विभाजन वा नामसम्बन्धी मुद्दामा अदालतको फैसला कुर्न कांग्रेस नेतृत्व तयार देखियो ।

सर्वोच्चको पछिल्लो फैसलाले नेकपा एकता भंग भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अस्तित्व ब्युँतिएपछि कांग्रेसलाई राजनीतिक लाभ मिलेको आकलन गरिन्छ । तर, कांग्रेस अझै राजनीतिकरूपमा ‘रिजर्भ’ बस्न चाहिरहेको छ ।

आफूले निर्णय लिनुभन्दा एमाले, माओवादी र जसपाको निर्णय पर्खने र त्यहीअनुसार कदम चाल्ने कांग्रेसको तयारी छ । यद्यपि कांग्रेसभित्र मुलुकको पछिल्लो अवस्थाबारे पर्याप्त छलफल र समीक्षाको माग नभएको होइन ।

वरिष्ठ नेता पौडेलले तत्काल पार्टीको केन्द्रीय समिति बैठक बस्न जरुरी भएको बताएका छन् । ‘मैले सभापतिजीलाई तत्काल बैठक बोलाउन भनेको छु । कांग्रेसका सबै साथीहरुको धारणा बुझेर उपयुक्त निर्णय लिनुपर्छ’, पौडेलले नेपाल प्रेससँग भने ।

पौडेलको बुझाइमा पुस ५ यता ‘निर्णय लिन नसक्ने’ पार्टीका रुपमा चिन्न थालिएकोले कांग्रेसकै अगुवाइमा राजनीतिक रोडम्याप तयार पार्नु उपयुक्त हुन्छ । ‘यस्तो बेलामा देशलाई कता लैजाने हो ? कांग्रेसको भूमिका के हो ? हामीले अरुको कदममा प्रतिक्रिया मात्रै दिएर हुँदैन । राजनीतिक निकासको बाटो पनि देखाउनुपर्छ’, पौडेलको भनाइ छ । वर्तमान सरकारप्रति आलोचनात्मक रहँदै आएका पौडेल सरकारको विकल्प दिनेबारे कांग्रेसले माओवादी, जसपालगायतका दलसँग छलफल थाल्नुपर्ने पक्षमा छन् ।

महामन्त्री पूर्णबहादुर खड्का भने कांग्रेसले छलफल गरिहाल्नुपर्ने विषय नै नभएको बताउँछन् । सर्वोच्चको फैसलाबाट ब्युँतिएका नेकपा एमाले र माओवादी केन्द्र कसरी अगाडि बढ्छन् भन्ने निश्चित नभइसकेकोले कांग्रेसले हतार गर्न आवश्यक नरहेको खड्काको भनाइ छ ।

‘एमाले र माओवादी छुट्टाछुट्टै बसेर के निर्णय गर्छन् भन्ने नभइकन कांग्रेस उत्ताउलो हुन जरुरी नै छैन । अनौपचारिक रुपमा सबैसँग छलफल गर्नुपर्छ तर धेरै हतार गर्नुपर्दैन’, खड्काले नेपाल प्रेससँग भने । विगतमा पार्टीभित्र ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन दवाव बढेको स्मरण गर्दै महामन्त्री खड्काले अविश्वास प्रस्ताव ल्याएको भए कांग्रेस घर न घाटको हुने दाबी गरे ।

‘हाम्रा डेढ अक्कले नेताहरुले झण्डै प्रचण्ड र माधवसँग मिलेर अविश्वास प्रस्ताव ल्याइसकेका थिए । त्यो ल्याएको भए कांग्रेसको कन्तबिजोग हुनेरहेछ’, खड्काले भने । उनले पार्टी सभापति देउवा अनौपचारिक छलफलमा रहेको भन्दै उपयुक्त समयमा कांग्रेसले उचित पहल लिने बताए ।

नेकपा माओवादी केन्द्रले ओली सरकार ढाल्ने विषयमा कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा कांग्रेसले चाल्ने राजनीतिक कदम नै अबको शक्ति समीकरणमा निर्णायक हुने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर