दैलेखमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन चक्की – Nepal Press

दैलेखमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन चक्की

सुर्खेत । दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका–१ को लक्ष्मी माध्यमिक बिद्यालयमा म्याद गुज्रेको आइरन चक्की बाँडिएको पाइएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाबाट आएको आइरन चक्की मिति सकिएको पाइएपछि फिर्ता गरिएको छ । बिद्यालयका छात्राहरुलाई आइरन चक्की खोलेर दिने क्रममा शिक्षक जीवराज रेग्मीले म्याद सकिएको फेला पारेका थिए ।

विद्यालयकी प्रधानअध्यापक इला शाहीले आफू सदरमुकाममा रहेकाले आइरन चक्कीको म्याद सकिएको थाहा पाएलगत्तै फिर्ता पठाउन भनेको बताइन् । ‘म अहिले दैलेख बजारमा एक कार्यक्रममा छु । म्याद सकिएको थाहा पाएपछि सबै फिर्ता गर्न भनेको छु,’ उनले भनिन् ।

उनले म्याद गुज्रेको औषधी कसरी विद्यार्थीको हातमा गयो भन्ने बारेमा अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने बताइन । ‘स्वास्थ्य राम्रो बनाउनका लागि महिनावारी हुने समूहका छात्रालाई आइरन चक्की खुवाउन सुरु भएको हो,’ उनले भनिन्, ‘हामी कसरी त्यस्तो भूल भयो आवश्यक छानविन गर्छौं ।’ उनले म्याद सकिएको आइरन चक्की कसैले पनि नखाएको दाबी गरिन । उक्त विद्यालयमा पाँच सय भन्दा बढी छात्राहरु अध्ययनरत रहेका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र भण्डारीले शाखाबाट त्यस्तो लापरवाही नभएको दाबी गरे । ‘हामीले म्याद बाँकी रहेका चक्की पठाएका हौं । त्यहि विद्यालयले नै केहि गलत गरेको हुनसक्छ ।’ उनले भने, ‘सूचना आएपछि हामीले त्यहाँबाट पाँच सय चक्की म्याद गुज्रेको आइरन फिर्ता ल्याएका छौं ।’ उनले पालिका भरि तीस हजार चक्की आवश्यक रहेको बताए ।

म्याद गुज्रेको आइरन चक्की वितरण भएको भन्दै स्थानीयले विरोध गरेका छन् । ‘गाउँपालिका नजिकै रहेको विद्यालयमा त म्याद गुज्रेको औषधी बाँडियो । हामीलाई औषधी खोलेर दिने गरिएको थियो ।’ नियमित रुपमा आइरन चक्की सेवन गर्दै आइरहेकी कक्षा ९ की एक छात्राले भनिन्, ‘त्यहाँ शिक्षकले म्याद गुज्रेको भनेर नभनेको भए हामी सबैले सेवन गथ्र्यौं । त्यसले हामीलाई असर गथ्र्यो कि ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर