‘नयाँ प्रकृतिको भाइरस विरुद्ध पनि कोभिशिल्डको प्रभावकारिता देखियो’ – Nepal Press

‘नयाँ प्रकृतिको भाइरस विरुद्ध पनि कोभिशिल्डको प्रभावकारिता देखियो’

काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिईएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पुर्‍याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गरे । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडी नै खोप अभियान शुरु गर्नु सरकारको सफलता भएको उनको भनाई छ ।

खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताए । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उनी बताउँछन्  ।

भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उनले स्पष्ट पारे । खोपले व्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को व्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए ।

खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताए । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिए ।

त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउँछन् । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उनले बताए ।

विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताए । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उनले बताए ।

खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उनको भनाई छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकृतिको भाइरस विरुद्धमा पनि कोभिशिल्डले केही प्रभावकारीता देखाएको उनले बताए ।

खोपको गम्भिर प्रकारको साइड इफेक्ट नदेखिएको भन्दै उनले सामान्य इफेक्ट देखिएको र त्यसको २४ देखि ७२ घण्टा सम्ममा निको हुने बताए । कार्यक्रममा बोल्दै

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले कोभिशिल्ड खोपले रोग प्रतिरोधात्मक क्षमता र रोग प्रतिरोधात्मक एन्टीबडी बढाउने बताए ।

खोप लगाएपछि साधारण असर देखापर्ने भन्दै उनले असर देखिएको अवस्थामा पारा सिटामोल तथा झोलिलो पदार्थहरु खान सुझाव समेत दिए । ५/७ दिनसम्म असर देखा परेमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नपर्ने चिकित्सकको सुझाव छ ।

सरकारले भारत सरकारसँग माघ ८ गते कोभिड १९ कोरोना भाइरसविरुद्धको दश लाख मात्रा कोभिशिल्ड खोप ल्याएको थियो । पहिलो र दोस्रो चरण गरी प्राथमिकताका आधारमा लाखौँ जनतालाई खोप लगाइसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर