भागरथी हत्या प्रकरण : दोषीनजिक पुग्यो प्रहरी – Nepal Press

भागरथी हत्या प्रकरण : दोषीनजिक पुग्यो प्रहरी

कैलाली । बैतडी दोगडा केदार गाउँपालिका- ७ की १७ वर्षीया भागरथी भट्टको हत्या घटनामा दोषीनजिक पुगेको प्रहरीले बताएको छ ।

घटना भएको ८ दिन भएको छ । दोषी पहिचान गर्ने चरणमा अनुसन्धान पुगेको प्रहरीले जनाएको छ ।

‘दर्जनौँ व्यक्तिसँग सोधपुछ गरेका छौँ’ उच्च प्रहरी अधिकारीले भने, ‘उनीहरूमध्येकै केही शंकास्पद देखिएका छन् । निगरानी बढाएका छौं ।’

‘घटनास्थलमा भेटिएका प्रमाणहरूमा आधारमा केही व्यक्ति निगरानीमा छन’ उच्च अधिकृत भन्छन् ‘अनुसन्धान सकारात्मक दिशातर्फ गइरहेको छ । अनुसन्धानको घेरा साँघुरो बन्दै गइरहेको छ ।’

२१ गते विद्यालयबाट घर फर्किरहेको अवस्थामा बेपत्ता भएकी किशोरीको २२ गते स्थानीय लबदेव सामुदायिक बनमा शव फेला परेको थियो ।

अहिले प्रहरीले किशोरी अध्ययन गर्ने विद्यालयका साथी, शिक्षक, परिवारका सदस्य, गाउँका आफन्त, नजिकका चिनेजानेकाहरु गरी दर्जनौँ व्यक्तिसँग सोधपुछ गरिरहेको छ । घटनालाई सुक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा प्रहरीले अनुसन्धानको दायरा साँघुरो पारेको प्रहरीको भनाइ छ ।

भागरथीको मोबाइल लोकेसन भने लबदेवे वन नै पाइएको प्रहरी स्रोतले जनाएको छ । ‘उनको लोकेसन लबदेव वन नै देखिएको छ। त्यसैले हत्या वनमै भएको तथ्यले देखाएको छ’, प्रहरी स्रोतले भन्यो ।

प्रहरीले हरेक ढंगबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । अहिले नजिकका व्यक्तिहरू बढी निगरानीमा रहेका छन् ।

‘यस्ता घटनाहरू नजिकका व्यक्तिहरूबाट पनि हुने गरेको पाइएको छ’ प्रहरी अधिकारी भन्छन् ‘बलात्कार पछि मान्छे चिन्ने डरले हत्या हुने गरेको छ । यो घटनालाई पनि हामी हरेक कोणबाट हेरिरहेका छौँ ।’

भट्टले भारतीय नम्बरको सिम रहेको मोबाइल बोक्ने गरेकी थिइन् । उनका आफन्तहरू भारतमा रहेको र गाउँमा भारतीय नेटवर्कले मात्रै काम गर्ने भएकाले उनले भारतीय नम्बर प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरीले मोबाइलमा रहेका म्यासेज र नम्बरहरूलाई पनि विश्लेषण गरिरहेको छ ।

घटना भएको भोलि पल्टनै बैतडीका जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीसहितको टोली घटनास्थलमा खटिएको थियो । उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो ।

किशोरीको टाउकोमा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो ।

अहिले पनि एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली घटना स्थलमा खटिएको छ । डिआइजी उत्तम सुवेदी आइतबार देखि घटना स्थलमा छन् । घटनाको अनुसन्धानबालगि धनगढीबाट थप प्रहरी परिचालन गरिएको छ ।

शव बुझ्न अस्वीकार

भागरथीका आफन्तले शव बुझ्न अस्वीकार गरिरहेका छन् । भट्टको शनिवार साँझ पोस्टमार्टम गरिएको थियो। हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने आफन्तहरूले बताएका छन् । उनको शव जिल्ला अस्पतालमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर