पोखरा महानगरका करार र अस्थायी कर्मचारीले पनि अवकास सुविधा पाउने – Nepal Press

पोखरा महानगरका करार र अस्थायी कर्मचारीले पनि अवकास सुविधा पाउने

६ नयाँ ऐन, १७ ऐन संसोधन गर्दै सकियो आठौं नगर सभा

पोखरा । पोखरा महानगरपालिकाका करार र अस्थायी कर्मचारीले अवकार सुविधा पाउने भएका छन् । संघीयताको कार्यान्वयनसँगै पोखरा महानगर भएपछि करार र अस्थायी कर्मचारीको सुविधा खोसिएको थियो ।

पोखरा महानगरपालिका हुनुअघि त्यहाँ कार्यरत अस्थायी तथा करार कर्मचारीले अवकास हुँदा विभिन्न सुविधा पाउने गर्दथे । तर, महानगर भएसँगै अवकास पाउने कर्मचारीले पाउँदै आएको सुविधा हटाइयो ।

२०७३ सालअघि साविक पोखरा उपमहानगरमा कार्यरत अस्थायी तथा करार कर्मचारी अवकास हुँदा उनीहरुले ‘अवकास सुविधा’ पाएका थिए । पछि महानगरले सो व्यवस्था हटाइसकेपछि भने करार, अस्थायी कर्मचारीहरु खाली हातै फर्किनु परेको थियो ।

ऊर्जाशील समयअवधिभर आफूहरु संस्थाको लागि काम गर्ने तर, फर्किंदा खाली हात फर्किनु परेपछि करार तथा अस्थायी कर्मचारी अवकास सुविधा हटाएपछि रुष्ट थिए । यस विषयमा महानगरको कार्यपालिका बैठकहरु पनि कुरा उठिरहन्थ्यो ।

महानगरका अनुसार २०७३ सालपछि हालसम्म १४ जना अस्थायी तथा करार कर्मचारी महानगरबाट बिना सुविधा अवकास भएका छन् । लामै समय संस्थाका लागि काम गरेर पनि अवकास लिँदा खाली हात हुनु परेको भन्दै पोखरा महानगरले हटाइसकेको सुविधा फेरि व्यवस्था गरेको छ ।

‘अस्थायी, करार, सेवा करार, ज्यालादारी कर्मचारीको अवकास सुविधा सम्बन्धी’ विशेष प्रस्ताव पोखरा महानगरको आठौं नगर सभाले पारित गरेसँगै महानगरमा कार्यरत अस्थायी तथा करार कर्मचारी अवकास हुँदा पुनः सुविधा प्राप्त गर्ने भएका छन् । उक्त विशेष प्रस्ताव

आइतबारदेखि सुरु भएको नगर (विधायन) सभामा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पेश गरेकी हुन् ।

‘पहिले यो सुविधा हटाइएको थियो । तर, यस्तो गर्दा कर्मचारी खाली हातै फर्किनुपर्ने अवस्था आयो,’ महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘यो सुविधा पाउन भने कम्तिमा ३ वर्ष महानगरमा सेवा गरेको हुनुपर्छ ।’ उनले ३ वर्ष महानगरमा सेवा गरेर त्यसपछि राजीनामा दिनेले पनि यो सुविधा पाउने गरी कार्यविधि बनाइएको जानकारी दिए ।

नगर सभामा करार तथा अस्थायी कर्मचारीलाई सुविधा दिने विशेष प्रस्तावसहित ६ वटा नयाँ विधेयक र १७ वटा विधेयक, नियमावली संसोधनका लागि प्रस्तुत गरिएको थियो । महानगर विधायन समिति संयोजक शोभामोहन पौडेलले महानगरको ४६ औं कार्यपालिका बैठकमा नयाँ ऐन र नियमावली संसोधनको प्रस्ताव प्रस्तुत गरेपछि नगर सभामा ती प्रस्ताव पेश गर्ने निर्णय भएको थियो ।

पोखरा महानगरको आठौं नगर सभाबाट पारित भएका नयाँ विधेयक
१ पोखरा महानगरपालिका कृषि विधेयक
२ पूर्वाधार विकास निगम विधेयक
३ वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक
४ पर्यटन विधेयक
५ विपत् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन विधेयक
६ गैरसरकारी संस्था सम्बन्धी विधेयक

पोखरा महानगरको आठौं नगर सभाबाट संसोधन भएका विधेयक तथा नियमावली
१ पोखरा महानगरपालिका आर्थिक कार्यविधि ऐन (पहिलो संसोधन)
२ गण्डकी बहु प्राविधिक शिक्षालय ऐन (पहिलो संसोधन)
३ कर तथा गैरकर राजश्व सम्बन्धी ऐन (पहिलो संसोधन)
४ खेलकुद विकास ऐन (पहिलो संसोधन)
५ पोखरा महानगरपालिकाको पूर्वाधार विकासलाई व्यवस्थापन गर्न बनेको ऐन (पहिलो संसोधन)
६ कृषि व्यवसाय प्रवद्र्धन ऐन (पहिलो संसोधन)
७ सहकारी ऐन (पहिलो संसोधन)
८ पोखरा महानगरपालिका सुशासन ऐन (पहिलो संसोधन)
९ कार्यविभाजन नियमावली (पहिलो संसोधन)
१० कार्यसम्पादन नियमावली (पहिलो संसोधन)
११ नगरकार्यपालिका निर्णय आदेश र अधिकार पत्रको प्रमाणीकरण (पहिलो संसोधन)
१२ नगर प्रहरी ऐन (पहिलो संसोधन)
१३ पोखरा महानगरपालिका फोहोरमैला व्यवस्थापन ऐन (पहिलो संसोधन)
१४ बालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको ऐन (पहिलो संसोधन)
१५ सार्वजनिक निजी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (दोस्रो संसोधन)
१६ सहरी योजना अयोग गठन नियमावली (दोस्रो संसोधन)
१७ न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन (दोस्रो संसोधन )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *