सम्पत्ति खाने लोभमा काकाको हत्या – Nepal Press

सम्पत्ति खाने लोभमा काकाको हत्या

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका–७, गरकट्टीमा मृत फेला परेका सियारी गाउँपालिका २ का ३४ वर्षीया राजेन्द्र यादवको हत्या भएको पुष्टि भएको छ ।

राजेन्द्रको सम्पत्ति खाने लोभमा आफ्नै काकासहित ८ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ । माघ ६ गते राजेन्द्रको आगोले जलाइएको अवस्थामा शव फेला परेको थियो ।

रुपन्देही प्रहरीले हत्यामा संलग्न ८ मध्ये ६ जनालाई बुधबार सार्वजनिक गरेको छ । राजेन्द्रको हत्या गरेर उनको करोडौंको सम्पत्ति खान उनका काका रामबेलाश यादवले योजना बनाएको प्रहरीले जनाएको छ ।

काकाको योजनाअनुसार रक्सीमा निद्रा लाग्ने औषधि राखेर खुवाई राति मोटरसाइकलमा चढाएर लगेर पाइपले घाँटी च्यापी हत्या गरेर राजेन्द्रका कपडा खोलेर छातीमा राखि आगो लगाइएको अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिएका छन् ।
राजेन्द्र २ वर्षको हुँदा उनका बुवा रामसुभगको मृत्यु भएको थियो । रामसुभगको मृत्युपछि राजेन्द्रकी आमाले उनको काका अर्थात् आफ्नै देवर रामवेलाससँग विवाह गरेकी थिइन् । पारिवारिक माया नपाएपछि राजेन्दर १५/१६ वर्षकै उमेरमै भारत गए ।

त्यहाँ १४ वर्ष बसेपछि एक वर्षअघि मात्रै घर आएर अंश माग गरे । काकाले अंश नदिएपछि रुपन्देही जिल्ला अदालतमा मुद्दा हाले र अदालतले मिलापत्र गराएको थियो । मिलापत्रपछि राजेन्द्रको नाममा साढे १४ कठ्ठा जमिन परेको थियो ।

त्यही जमिन हडप्नका लागि उनका काका रामवेलासले योजना बनाएर हत्या गरेपछि २५ लाख रुपैयाँ दिने भनेर २ जना सुटर खोजेर उनीहरुकै सहयोगमा राजेन्द्रको हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले हत्यामा संलग्न काका रामबेलाससँगै सुटर बुद्धिराम कोहार, मृतकका काकाका छोरा वीरेन्द्र यादव, सन्तकुमार यादव, राकेश यादव, अफताव मुसलमानलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

हत्यामा संलग्नमध्ये सोनु मुराउ र लंगारे भनिने इन्द्रजित यादव भने फरार छन् । उनीहरुको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर