फेरिँदै विराटनगर विमानस्थलको स्वरुप – Nepal Press
विकास निर्माण

फेरिँदै विराटनगर विमानस्थलको स्वरुप

१३ अर्ब लगानीमा अत्याधुनिक एवम् अन्तर्राष्ट्रियस्तरकाे विमानस्थल बनाउने काम थालियो

विराटनगर । विराटनगर विमानस्थललाई अत्याधुनिक एवम् अन्तर्राष्ट्रियस्तरको बनाउने काम शुरु भएको छ । अहिलेको भएको भन्दा ३ हजार मिटर रन वे विस्तारका लागि सर्वेको काम पूरा भइ जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको हो ।

साविकको १५ सय मिटर रन–वेको विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन असोजमा तीन तहका सरकारबीच समझदारी भएको थियो ।

अब विराटनगर विमान्नस्थल काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलकै स्तर हुने विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी बताए ।

खरेलका अनुसार केन्द्र, प्रदेश र विराटनगर महानगरपालिकाबीच भएको सम्झौताअनुसार विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार मिटर पुर्‍याउने तथा अन्य आवश्यक पूर्वाधार बनाएर अन्तर्राष्ट्रियस्तरको बनाइनेछ ।
विमानस्थल विस्तारका लागि मोरङ र सुनसरी जिल्लाको जमिन अधिग्रहण गर्न सर्वे टोलीले काम पूरा गरेको खरेलले जानकारी दिए ।

दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय, स्थानीय तह र प्रहरी प्रशासनको बैठक गरेर दुई जिल्लामा पर्ने जमिनको ‘बाउण्ड्री फिक्स’ (बेन्च मार्क) गर्ने निर्णयअनसार सर्वे टोलीले काम गरेको खरेलले बताए ।

सर्वे टोलीले साविक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहणका लागि ‘बाउण्ड्री फिक्स’ (बेन्च मार्क) गरेको छ । बेन्च मार्क गरिएकामा स्थानीयका ३०० घर परेका छन् ।

विराटनगर विमानस्थल विस्तारमा २८ सय मिटर दूरीमा केशलिया खोला छ भने, साविक विमानस्थलको अन्तिम बिन्दुबाट ८ सय मिटर दूरीमा रहेको केशलिया वारि मोरङ र पारि सुनसरीको बर्जु गाउँपालिका पर्दछ । केशलिया खोलाबाट सुनसरीतर्फ ८ सय मिटर पश्चिमतिर जग्गा अधिग्रहण गर्नुपर्ने विमानस्थल प्रमुख खरेलले जानकारी दिए ।

उनका अनुसार विमानस्थल तीन हजार मिटर लम्बाईमा विस्तार भएपछि भीओआर–डिएमीई (भेरी हाई फ्रिक्वेन्सी ओमीनी डाइरेक्सनल रेडियो रेन्ज अर्थात् डिस्टेन्न मेजरिङ्ग इक्यूपमेन्ट) टावर स्थापना गर्ने क्षेत्रसमेत आवश्यक पर्नेछ ।

साविक विराटनगर विमानस्थलको १५ सय मिटर रन–वेको अन्तिम बिन्दुबाट चार सय २० मिटरको दूरीमा टावर राखिएको छ । विमानस्थल पूर्ण विस्तार हुँदा भीओआर–डिएमी टावर राख्ने र विराटनगर चक्रपथ डाइभर्सन गर्नुपर्ने जग्गासमेत अधिग्रहण गरिने भएको हो ।

साविक विराटनगर विमानस्थलको १५ सय मिटर रन–वेको अन्तिम बिन्दुबाट चार सय २० मिटरको दूरीमा टावर राखिएको छ । विमानस्थल पूर्ण विस्तार हुँदा भीओआर–डिएमी टावर राख्ने र विराटनगर चक्रपथ डाइभर्सन गर्नुपर्ने जग्गासमेत अधिग्रहण गरिने भएको हो ।

यसका लागि कुल लम्बाई तीन हजार ६ सय मिटर आवश्यक पर्नेछ । विमानस्थलको पश्चिमतर्फ १.५ किलोमिटर लम्बाईसम्मको जमिन अधिग्रहण गर्नुपर्ने भएकाले त्यहीबीचमा चक्रपथ भेटिनेछ ।

साविक विमानस्थल ११९.९५ बिघा क्षेत्रफलमा छ । जसको रन–वे एक हजार पाँच सय मिटरको छ । त्यसबाहेक सरकारले १२६.४६ बिघा क्षेत्रफल जग्गा अधिग्रहण गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी प्राधिकरणलाई दिइएको छ । हालको विमानस्थलमा ९५ देखि १४० मिटरसम्मको रन–वे स्ट्रिप रहेकाले त्यसलाई तत्काल बढाउनका लागि विमानस्थलको पूर्वतर्फको भागबाट उत्तर–दक्षिणको जग्गा अधिग्रहण गरिनेछ ।

पश्चिम क्षेत्रमा विमानस्थलको एप्रोज लाइट भएका कारण तत्काल विस्तार गर्न नसकिने भएकोले यसलाई दोस्रो चरणका लागि राखिएको छ । जग्गा अधिग्रहणपछि एप्रोज लाइटलाई सारेर मात्रै पश्चिमतर्फ विस्तार गरिने योजना छ ।

विराटनगर विमानस्थल बिस्तारका लागि संघीय सरकारले जग्गाको मुआब्जाका लागि ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत बेहोर्ने समझदारी भएको थियो । विमानस्थल विस्तारका लागि करिब तीन अर्ब लागत लाग्ने अनुमान छ ।

विराटनगर विमानस्थल बिस्तारका लागि संघीय सरकारले जग्गाको मुआब्जाका लागि ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत बेहोर्ने समझदारी भएको थियो । विमानस्थल विस्तारका लागि करिब तीन अर्ब लागत लाग्ने अनुमान छ ।

विमानस्थल विस्तारका लागि प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर संघीय सरकारलाई सिफारिस गरेको थियो ।
हाल एक सय १५ बिघा क्षेत्रफल रहेको विमानस्थलको धावनमार्ग एक हजार चार सय मिटरको छ ।

अहिले ७२ सिट क्षमता भएका पाँच वटा जहाज राख्न मिल्ने वायुयान एप्रोन, धावनमार्ग र एप्रोनलाई जोड्ने दुईवटा ट्याक्सी वे, वायुयान पथ, रात्रि उडान र अवतरणका लागि एयरफिल्ड लाइटिङ सिस्टम, अग्निनिवारण तथा उद्धार सेवा, हवाइ इन्धन, हवाई सञ्चार सेवा, हवाइ ट्राफिक नियन्त्रक सेवा, मौसमी सेवाजस्ता पूर्वाधारहरू रहेका छन् ।

दुई दशक पहिलेदेखि विराटनगर विमानस्थल बिस्तारको चर्चा चले पनि विमानस्थल विस्तारको काम सुरू हुन सकेको थिएन ।

नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया शुरु

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ । विस्तारलाई आवश्यक जग्गा अधिग्रहणसँगै सबैभन्दा पहिले टर्मिनल भवन निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजनाका निर्देशक एवं एयरनोटिकल इन्जिनियर विभागका प्रमुख प्रदीप अधिकारीका अनुसार नयाँ टर्मिनल भवनको डिजाइन तयार भई आवश्य प्रक्रिया अगाडि बढाइएको छ ।

तीन अर्ब लागतमा साविक विमानस्थलको कार्यालय उत्तरतर्फको जग्गामा निर्माण गरिने भवन डोमेस्ट्रिकसँगै अन्तर्राष्ट्रिय उडान सुरु हुँदा प्रयोगमा ल्याउनसक्ने गरी डिजाइन तयार पारिएकोमा १६ हजार २७७.८२८ वर्गमिटर क्षेत्रफलमा बन्ने भवनको भुइँतला ८ हजार ९७५.६९ वर्गमिटरको हुनेछ ।

डिजाइन अनुसार १७ वटा टिकेट काउन्टर, २४ वटा पसल, चारवटा रेष्टुरेन्ट, मिडिया कन्फरेन्स हल, तीनवटा भिआइपी कक्ष र बालउद्यान, मातृशिशु कक्षसहितको सुविधा सम्पन्न हुनेछ ।

सरकारले गत कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेसँगै प्रारम्भिक रुपमा काम अगाडि बढिसकेको छ ।

प्राधिकरणले १० वर्षभित्रमा विराटनगर विमानस्थललाई दुई हजार ५०० सय मिटरमा विस्तार गर्ने लक्ष्य राखेको छ । त्यसका लागि जग्गाबाहेक १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । सन् २०२०–२०२३ सम्ममा टर्मिनल भवन र रन–वे स्ट्रिप विस्तारका लागि चार अर्ब खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर