आन्दोलन कांग्रेसको साझा, भाषण दुवै गुटको आधा–आधा – Nepal Press

आन्दोलन कांग्रेसको साझा, भाषण दुवै गुटको आधा–आधा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्‍यो । कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका केन्द्रीय नेताहरुले पनि विभिन्न क्षेत्रका सभालाई सम्बोधन गरे ।

आन्दोलनमा उत्रने कि निर्वाचनको तयारी गर्ने भन्ने बहसलाई थाती राखेर एकदिने प्रदर्शनमा उत्रिएका कांग्रेस नेताहरुले साझा सन्देश भने दिन सकेनन् । सडकमा पनि कांग्रेसका नेताहरुको परस्पर विरोधी धारणाहरु सार्वजनिक भए ।

देशभरको सभामा वक्ता बनेका केन्द्रीय नेताहरुले ‘गुटको लाइन’ अनुसारको वक्तव्य दिएका छन् । सभापति देउवाले भक्तपुरमा आयोजित विरोध सभामा बोल्दै अदालतमा विचाराधीन मुद्दाबारे नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

भक्तपुरमा देउवाले यसो भन्दै गर्दा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापना नै पार्टीको एजेण्डा रहेको बताउँदै थिए । ‘वैशाखमा निर्वाचन हुँदैन । संसद पुनःस्थापना नभए संविधान र लोकतन्त्र मासिन्छ’, पौडेलले भने ।

अदालतले नगरे जनताले सडकबाटै संसद पुनःस्थापना गर्ने चेतावनी पौडेलले दिएका छन् । सभापति देउवाले भने अदालतप्रति कांग्रेसको विश्वास रहेको भन्दै सरकारको विरोध गरे पनि पुनःस्थापनाको माग पार्टीले नराख्ने स्पष्ट पारे ।

देशभरका सभामा देउवा पक्षीय नेताहरुले संसद पुनःस्थापनाबारे कुरै उठाएनन् । सह–महामन्त्री डा.प्रकाशशरण महतले काठमाडौं क्षेत्र नम्बर ५ मा बोल्दै ‘अदालतले संसद विघटन सदर गर्नु पार्टीको हितमा हुने’, आशयको अभिव्यक्ति दिए । उनले संसद विघटन सदर भए निर्वाचन निश्चित हुने र निर्वाचनबाट कांग्रेस पहिलो पार्टी हुने बताए ।

काठमाडौं क्षेत्र नम्बर १ को सभामा भने पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारविरुद्ध आन्दोलन अपरिहार्य भएको बताए । ‘संसद विघटनको विरुद्धमा जनताले आन्दोलन गर्नुपर्छ । ताजा जनादेश ओलीको देखावटी कुरा हो’, सिंहले भने ।

नेपालगञ्ज पुगेका युवानेता गगन थापाले अदालतबाट न्याय मिल्ने आशा नमरेको बताए । तर उनले संविधान र लोकतन्त्र जोगाउन सडकबाट निरन्तर खबरदारी हुनुपर्नेमा जोड दिए ।

काठमाडौं क्षेत्र नम्बर २ मा सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ‘महागल्ती’ गरेको बताए । प्रधानमन्त्रीले गरेको गल्ती सच्याउने उपाय अदालत कि आन्दोलन भन्ने शर्माले खुलाएनन् ।

संसद विघटनको कदमको आलोचना गरे पनि आन्दोलन कि निर्वाचन भन्नेमा कांग्रेसमा साझा मत बन्न सकेको छैन । जारी केन्द्रीय समितिको बैठकमा सभापति देउवा पक्षका नेताहरुले अदालतको आदेश शिरोपर गरेर निर्वाचनको तयारीमा होमिनुपर्ने बताउँदै आएका छन् ।

वरिष्ठ नेता पौडेल पक्षका नेताहरुले भने संसद पुनःस्थापना पार्टीको बटमलाइन हुनुपर्ने र त्यसलाई सफल पार्न सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर