वर्षातबीच गाईजात्राको रौनक: हेर्नुस् वसन्तपुरका दृश्य – Nepal Press

वर्षातबीच गाईजात्राको रौनक: हेर्नुस् वसन्तपुरका दृश्य

काठमाडौं । मृतआत्माको सम्झनामा गाई वा परिवारका सदस्यलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गराई देशभर आज गाईजात्रा मनाइँदैछ । परिक्रमाका क्रममा श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।

 

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ ।

कोरोना महामारीका कारण लागू गरिएको स्वास्थ्य मापदण्डका कारण सरकारले भीडभाड काम गर्न आह्वान गरेको छ । तर पनि गाईजात्रा निकाल्दा वसन्तपुर क्षेत्रमा ठूलो भीड देख्न सकिन्छ । जात्रामा उपस्थित केहिले त मास्कसमेत लगाएका थिएनन् ।

 

गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।

सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज वागमती प्रदेशले पनि सार्वजनिक बिदा दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर