लोकसेवामा पदपूर्तिसँगै बढुवाको बाढी, तीन महिनाभित्र २५ सचिव र ७५ सहसचिवमा बढुवा – Nepal Press

लोकसेवामा पदपूर्तिसँगै बढुवाको बाढी, तीन महिनाभित्र २५ सचिव र ७५ सहसचिवमा बढुवा

काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा मात्र नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा २५ जना बढुवा भएका छन् । लोकसेवा आयोगमा लामो समयपछि पदपूर्ति भएसँगै एकैपटक धेरै सहसचिव सचिवमा बढुवा भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाका अनुसार प्रशासन सेवातर्फ १५ जना, इन्जिनिरयरिङ सेवातर्फ पाँच जना, कृषि वन सेवातर्फ तीनजना, परराष्ट्र सेवा र स्वास्थ्य सेवातर्फ एक/एक जना बढुवा भएका हुन् । एक सय ८६ जना उम्मेदवारमध्येबाट ५० वटा बढुवा समितिको बैठकले ६५ जना सहसचिवलाई सचिवमा बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो ।

यसै अवधिमा राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवमा ७५ जना बढुवा भएका छन् । जसमा सबैभन्दा बढी प्रशासन सेवातर्फ ४४ जना, इन्जिनियरिङ सेवा तर्फ २३ जना, परराष्ट्र सेवातर्फ पाँचजना, गत आर्थिक वर्षको विज्ञापनबाट कृषि सेवातर्फ दुईजना र वन सेवातर्फ एकजना बढुवा भएका हुन् । बढुवा समितिको ६३ वटा बैठकले तीन सय ८७ जना उम्मेदवारबाट ७५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

यस्तै राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवमा भने एक सय ६३ जना बढुवा भएका छन् । जसमा सबैभन्दा बढी प्रशासन सेवातर्फ एक सय १९, शिक्षा सेवातर्फ २२, परराष्ट्र सेवातर्फ ६, लेखा परीक्षण र विविध सेवातर्फ पाँच/पाँच जना, आयोजना तर्फ र वन सेवातर्फ दुई/दुई जना र इन्जिनियरिङ सेवातर्फ एक जना बढुवा भएका छन् ।

तीन महिनाको अवधिमा राजपत्रांकित तृतिय श्रेणी अर्थात् शाखा अधिकृतमा ९७ जना बढुवा भएका छन् । जसमा सबैभन्दा बढी प्रशासन सेवातर्फ ९४, आयोजनातर्फ दुई, विविध सेवातर्फ एक जना बढुवा भएका छन् । यसका लागि नौ सय ७८ जना उम्मेदवारमध्येबाट बढुवा समितिको २६ वटा बैठकले ९७ जना नै सिफारिस गरेको थियो ।

यस्तै राजपत्र अनंकित प्रथम अर्थात नायव सुब्बामा ५१ बढुवा भए । जसमा विविध सेवातर्फ २९ जना र प्रशासन सेवातर्फ २२ जना बढुवा भएका छन् । बढुवाका लागि ९३ जनाको माग भए पनि आवश्यक संख्या अपुग भएको बढुवा समितिले जनाएको छ ।

राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदारमा भने चारजना बढुवा भएका छन् । जसमा शिक्षा सेवातर्फ दुईजना र लेखा परीक्षण सेवा तथा नेपाल न्याय सेवातर्फ एक/एक जना बढुवा भएका छन् ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार सबै तहमा गरेर चार सय ६१ संख्या बढुवाका लागि तीन हजार ४३ जना उम्मेदवार थिए । जसमध्येबाट बढुवा सिफारिस समितिले चार सय १४ जनालाई बढुवाका लागि सिफारिस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर