कुपोषित बालबालिकाकालाई पोषण सामग्री वितरण – Nepal Press

कुपोषित बालबालिकाकालाई पोषण सामग्री वितरण

धादिङ । कुपोषणमा परेका पाँच वर्ष मुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने उद्देश्यले धादिङका ६ सय १५ घरपरिवारलाई पोषण सामग्री वितरण गरिएको छ ।

खाद्यान्न संकटको कारण पर्याप्त खानेकुरा नहुँदा कुपोषणको मारमा परेका बालबालिकालाई लक्षित गरि पोषण सामाग्री सहयोग गरिएको हो ।
धादिङको गजुरी र बेनिघाटरोराङ गाउँपालिकाका ५ वर्ष मुनिका बालबालिका परिवार, अति विपन्न, गर्भवती, सुत्केरी भएका परिवारलाई अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एमसिसिएनको सहयोगमा शान्ति नेपाल धादिङले पोषण सामग्री वितरण गरेको हो ।

शान्ति नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेलका अनुसार धादिङको गजुरी गाउँपालिकामा २ सय एक घरपरिवार र बेनिघाटरोराङ गाउँपालिकाका ४ सय १४ घरपरिवारलाई पोषण सामग्री वितरण गरिएको छ ।

घरमा खाद्यान्न सकिएको र कोरोना महामारीका कारण अभिभावक ज्याला मजदुरी गर्न जाने सम्भावना पनि नरहेका कारण कुपोषणको जोखिममा रहेका बालबालिका, गर्भवति तथा सुत्केरी महिला, सामाजिक सुरक्षा भत्ताबाट बन्चित असहाय ज्येष्ठ नागरिकका परिवारलाई पोषण सामाग्री वितरण गरिएको पोखरेलले बताए ।

गएको जेठ २९ गतेबाट शुरु गरेको पोषण सामग्री वितरण कार्यक्रम ५ गते सम्पन्न भएको थियो । कुपोषणमा परेका ५ बर्ष मुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने उद्देश्यले पोषण सामग्री वितरण गरिएको हो ।

पाँच वर्षमुनिका कुपोषित बालबालिकाको परिवार ४ सय ५५ घर, गर्भवती भएको परिवार २१ घर, सुत्केरी भएको परिवार ९ घर, अति विपन्न ६९ घरपरिवार, ज्येष्ठ नागरिक ८ परिवार, एकल महिलाको ७ परिवार र ३ अपाङ्गता भएको परिवारलाई पोषण सामग्री सहयोग गरेको हो ।

वितरित पोषण सामग्री अन्तर्गत चामल ३० किलो, दाल दुई किलो, तेल दुई लिटर, चिनी दुइ किलो, नुन दुई किलो, अन्डा एक क्रेट, सर्बोत्तम पिठो तीन किलो र साबुन तीन वटा समाबेश गरिएको छ ।

पोषण सामग्री वितरणबाट लाभग्राही परिवारका ५ वर्ष मुनिका बालबालिका ८ सय ३३ जना, ६ देखि ५९ वर्षका १ हजार ८ सय ५३ जना र ६० वर्ष माथिको १ सय २३ जना लाभान्वित भएका छन् ।

शान्ति नेपालले सामुदायिक पोषण स्वयमसेवक, आमा समुह तथा साुमदायिक संस्थाहरुको सिफारिस र सम्वन्धित वडा कार्यालयको स्वीकृतीमा छनौट भएका परिवारहरुलाई वडाको रोहबरमा सामाग्री वितरण गरेको हो । पोषण सामग्री वितरण कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधी, स्वास्थ्य सस्था र खाद्यअधिकार सन्जाल बेनिघाट रोराङकाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

शान्ति नेपाल र गाउँपालिकाको साझेदारीमा गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँ पालिकामा १ सय ३४ वटा वृद्धि अनुगमन केन्द्र सञ्चालन गर्दै आइरहेको छ । गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका वृद्दि अनुगमन केन्द्रमा प्रत्येक महिना २ हजार ६ सय ४२ जना ५ वर्ष मुनिका बालबालिकाको नियमित तौल अनुगमन भइरहेको छ ।

वृद्धि अनुगमन गरिएका बालबालिकामध्ये अझै पनि ६ प्रतिशत अति कम तौल, ३ प्रतिशत शिघ्र ख्याउटेपन र २० प्रतिशत बालबालिका कडा पुड्कोपन रहेको छ । त्यस्तै १९ प्रतिशत मध्यम कम तौल, ५ प्रतिशत मध्यम ख्याउटेपन र २५ प्रतिशत मध्यम पुड्कोपन रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *