जब मेरो छेवैमा धरहरा खस्यो – Nepal Press

जब मेरो छेवैमा धरहरा खस्यो

६ वर्षअघिको त्यो दिन सम्झँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । ०७२ सालको भूकम्पले धरहरा ढाल्दा घटनास्थमा रहेको म भाग्यले जोगिएको थिएँ ।

शनिबारको बिदा भएकोले म कोठामै थिएँ । हल्का बदलीसहित केही चिसो मौसम थियो । बिहानको ११.३० बजेतिर मित्र चिन्तामणी ज्ञवालीजी आफ्नो मेडमसहित भेटघाटको लागि मेरो कोठा भोटेबहालमा आउनुभयो । एकछिनको भलाकुसारीपछि चिन्तामणि र म बीर अस्पतालतिर जान भनेर करिब ११.५० बजेतिर कोठाबाट निस्कियौं ।

भोटेबहालको गल्ली हुँदै हामी ठीक ११.५६ बजे धरहरा कम्प्लेक्सतर्फ लम्किँदै थियौं । ठिक त्यति नै बेला एक प्रकारको डरलाग्दो हुरी चलेजस्तो आवाज आयो । हावा थिएन केवल आवाज । मित्रले लौन के भयो भनेर आत्तिदै पछाडिबाट मेरा दुवै हात समात्नुभयो । मैले भूकम्प गएको थाहा पाइसकेको थिएँ ।

त्यति नै बेला मेरो आँखा धरहरातिर सोझियो । धरहरा लरलर हल्लिन थाल्यो । माथि रहेकाहरु कराउन-चिच्याउन थाले । हेर्दाहेर्दै आँखैअघि धरहरा चल्न लाग्यो । अब कतातिर ढल्छ भनेर हामी भाग्ने चेष्टा गर्न थाल्यौँ । दक्षिण-पश्चिमतिर ढल्लाजस्तो देखिएकाले म भोटेबहाल तिरकै गल्लितिर भाग्न खोजेँ, तर टेकेको जमिन नै बेस्सरी हल्लिएकाले भाग्न सक्ने गुञ्जायसै भएन । हामी जहाँको त्यहीँ अडियौं ।

हेर्दाहेर्दै धरहरा त हामीमाथि नै खस्लाजस्तो भयो । ठूलो कोलाहलको वातावरण थियो । मानिसहरु भागदौड गरिरहेका थिए । धरहरा मच्चिँदा मच्चिँदै पटट …आवाजसहित बीचमा दुई ठाउँ टुक्रियो । अनि माथिका दुई टुक्रा मेरो सामुन्नेमै जमिनमा ड्याम्म पछारियो । मेरो त होसहवास नै उड्यो एकछिन ।

त्यो पछारिएसँगै आएको बेगको हावाले म पनि जमिनमा पछारिएँ । धरहराको ढिक्को मभन्दा २ मीटर पर मात्रै बज्रिएको थियो । म भाग्यले बाँचे । इट्टाको धुलो उडेर आँखा हेर्न गाह्रो भयो । कोटभित्र मुख लुकाएर सास फेरिरहेको थिएँ । तर पनि थुप्रै धुलो मुखभित्र पसिसकेको थियो (त्यसले गर्दा छातिको संक्रमण भएर मैले दुई हप्ता औषधि खानुपर्यो ) ।

एकछिनपछि मेरो नजिकमा एउटा भ्यान आएर रोकियो । म बल्लतल्ल लम्केर भ्यानलाई समातेँ । भ्यान पनि हल्लिदै थियो । त्यसैले मलाई उभिनै गाह्रो भयो ।

एकछिनमा धुलो घटेर अलि आँखा हेर्न सकिने भयो । अनि, यसो अगाडि हेर्दा त धरहराको ठुटो मात्र बाँकी । त्यसमा कुनै फलामे डण्डी थिएन । केवल माटोले ईंटालाई जोडेर बनाएको धरहरासँग मनमनै रिस पनि उठ्यो । त्यतिबेलाका शासकहरु यति कमजोर संरचना किन बनाए होला ? भन्ने मनमा लाग्यो । तर, फेरि सोचेँ त्यसबेलाको प्रविधि नै त्यस्तै थियो त के गरुन् ।

यता भुईंमा खसेको धरहरामा थुप्रै मानिसहरु लडेका र किचिएका थिए । उनीहरुमध्ये कति मरिसकेका त कति जिवितै थिए । म एउटा स्वास्थ्यकर्मी भएका कारण गएर उद्दारमा जुटिहालौं भन्ने पनि सोच आयो । तर, आफ्नै अवस्था सामान्य नभएकाले रोकिएँ । अघिको कोलाहल एकछिनमा सन्नाटामा परिणत भएको थियो । पछारिने र च्यापिने सबैको मृत्यु भएको जस्तो लाग्यो ।

(पछि मिडियामा धरहराबाट खसेर बाँचेकाहरुको अन्तरवार्ता आएपछि आश्चर्यमा परेँ)

एकछिनपछि मेरो मोबाइलको घन्टी बज्यो । साथी चिन्तामणिजीले त मलाई माया नै मार्नुभएको रहेछ । मलाई समातिरहेको बेला धरहरा खस्ने छनक पाएपछि उहाँ कतिबेला भागेर अर्कोपट्टि पुगन भ्याउनुभएछ । मैले थाहै पाइनँ । पछि हामी भएतिरै धरहरा खसेको देखेपछि पक्कै म पनि किचिएँ होला भन्ने उहाँलाई परेछ ।

मैले ‘हेल्लो’ भन्नेवित्तिकै उताबाट आवाज आयो, ‘ए मरेको त रहेनछ ।’ त्यसपछि उहाँले ‘आउनुस्, टुँडिखेलतिर जाउँ’ भनेर बोलाउनुभयो । तर, मैले ‘घरमा मेडमहरुको के अवस्था छ, घरै जाउँ’ भनेँ । हामी डराई–डराई भोटेबहालको गल्लि हुँदै गयौं । बीचबीचमा पराकम्प आएर घरहरु सबै हल्लिन्थे । ज्यान बचाउनै गाह्रो हुन जस्तो अवस्था थियो । घर पुग्नै लाग्दा पछाडिबाट ‘हामी बाहिर छौ’ भन्दै श्रीमतीले बोलाइन् । अनि उनीहरु भएतिर गयौं ।

त्यहाँबाट हामी एक–अर्काको हात समातेर भोटेबहालको पिपलबोटनेरको कम्पाउण्ड पूर्वपट्टि रहेको खाली ठाउँमा बस्यौं । पराकम्पहरु आइरहेकै थिए । त्यतिकैमा अगाडिको घरबाट एकजना २०/२१ वर्षको भाईले काखमा कुकुर च्यापेर त्यहाँ आउनुभयो । घरको झ्यालबाट हजुरआमा ‘ए बाबु, मलाई पनि बाहिर लैजाउन’ भन्दै रुँदै चिच्याउँदै हुनुहुन्थ्यो । त्यो भाइले ‘कुकुर बोकेको छु, तपाईंलाई कसरी ल्याउनु’ भन्दै जवाफ दियो ।

उसको पारा देखेर मलाई झनक्क रिस उठ्यो । मैले उसलाई सम्झाएँ । ‘तिमी सानो छँदा हजुरआमाले तिमी मर्छौ कि भनेर कति काखमा च्याप्नु भयो होला । आज हजुरआमाले ज्यान बचाउन गुहार माग्दा तिमी कुकुर लिएर आउने ?’ मैले यसो भनेपछि बल्ल उ कुकुर त्यहाँ छोडेर हजुरआमालाई निकाल्न गयो ।

त्यसै बेला दुइजना स्वीस नागरिक दम्पत्ति एउटा बच्चासमेत लिएर आए । बिचराहरु ताहाचल जानुपर्ने हतारमा त्यहाँ आइपुगेछन् । उनीहरुले बसन्तपुर दरवार स्क्वायरमा सबै ध्वस्त भएको बताए । हामी बसेको नजिकै पनि कम्पाउण्ड वालले च्यापेर ३ जनाको ज्यान गएको रहेछ । म पनि भाग्यले न बाँचेको थिएँ । नत्र थोरै मात्रै अगाडि भएको भए च्यापिन सक्थेँ । त्यो सम्झँदा अहिले नि मुटु काँप्छ ।

समय बित्दै गयो, पहिले त बाँच्न पाएकोमा संसारै जितेजस्तो लाग्यो । तर मनमा धेरै कुरा खेल्न लागे । अब राती कहाँ जाने ? कोठामा जाने त हिम्मतै छैन । कुनै साथीको मा जाउँ भने सबैको उस्तै बेहाल छ । होटलमा जान झन् डर लाग्छ । बडो असमञ्जसमा परियो । बिस्तारै सबै जनालाई भोक लाग्न थाल्यो । केटाकेटीहरु पानी र खानेकुरा माग्दै थिए । त्यति नै बेला केही मारवाडी व्यापारीहरुले पानीको कार्टून, बिस्कुट, चाउचाउ बाँड्न लागे । अलिक पाको उमेरका मानिसहरुलाई भाग पुगेन ।

रात पर्न लाग्यो । अब रात कसरी काट्ने । अन्ततः सबैजना कलंकीमा बस्ने एकजना साथीकोमा जानेर त्यहाँबाट उठ्यौं ।

भोलिपल्ट बिहानै फोन आयो । चन्द्र श्रेष्ठजी (नेपाल स्वास्थ्य प्राबिधिक संघको महासचिब) घरभित्र च्यापिएर दिवंगत हुनुभएको सुनेँ । लास हेर्न जाने भनेर गाडी चढेर चावहिलस्थित मेडिकेयर अस्पतालमा गएँ । मित्र चन्द्रजी र मेडमको पार्थिब शरीरमा फूल चढाएर अन्तिम श्रद्धाञ्जली दिँदै गर्दा मन झसंग भयो । म यदि धरहराले किचिएको भए सायद… ।

भूकम्पले ८,५०० भन्दा बढी नेपालीहरुको ज्यान गयो, त्यत्तिकै संख्यामा घाइते र अपाङ्ग भए । लाखौं बेघरबार भए । अझै पनि कति त खुला आकासमुनि वा अर्काको आश्रयमा बस्नु परेको छ । आजको दिनमा मित्र चन्द्रजी लगायत भूकम्पमा ज्यान गुमाउनु हुने सम्पूर्णमा श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

यसबीचमा लाखौं घरहरु पुनर्निर्माण प्राधिकरणमार्फत सरकारले बनाइसकेको छ । रानीपोखरी, दरबार हाईस्कूल लगायत थुप्रै संरचनाहरु बनेका छन् भने कति बन्ने क्रममा छन् ।

ढलेको धरहरा नवनिर्माण भई हिजो मात्र सम्माननीय प्रधानमन्त्रीज्यूबाट उद्घाटनसमेत भएको छ । यो अत्याधुनिक प्रबिधिबाट बनेको छ । यसले नेपालको गौरबलाई समेत बढाउने छ । नेपालीहरु जस्तोसुकै कठिनाइको सामना गर्न सक्षम छन् भन्ने उदाहरण पनि हो यो । हुनत फेरी अर्को कोरोनाको महामारी आएको छ । यो विपत्तिबाट बाँच्न पनि हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ का मापदण्ड हरुको पूर्णरुपमा पालना गर्ने र सरकारले तोकेबमोजिमको लक्षित समुहले खोप लगाउनु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *