च्याङ्थापुदेखि रुकुमसम्म डुलेका प्राविधिक ठाकुर: भन्छन्- देश बुझ्न पहाडले मधेश ओर्लनुपर्छ, मधेश पहाड उक्लनुपर्छ – Nepal Press

च्याङ्थापुदेखि रुकुमसम्म डुलेका प्राविधिक ठाकुर: भन्छन्- देश बुझ्न पहाडले मधेश ओर्लनुपर्छ, मधेश पहाड उक्लनुपर्छ

काठमाडौं । मधेश आन्दोलन सकिएपछिका एसएलसी दिने पहिलो पुस्ताका एक अनुहार हुन् उमेश ठाकुर । बुद्धिलाल विद्या मुनर माविका उत्पादन उमेशले २०६४ मा एसएलसी दिए ।

सप्तरीको शम्भुनाथ नगरपालिका- ७ भगतपुरका रैथाने उनले मधेश छाडेर पहाडी क्षेत्र टेकेकै उच्च शिक्षाको क्रममा हो । उनी २०६५ मा धरान आए । धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा डिप्लोमा सिभिल इन्जिनियरिङ पढे । राजनीतिक नक्सामा धरान तराईको जिल्ला सुनसरीमै परे पनि भौगोलिक रुपमा यो पहाड हो ।

धरानभन्दा अग्लो पहाड पुग्न उमेश आफ्ना सहपाठीहरु लिएर २०६६ ताका पुगेका थिए भेडेटार । धरानको न्यानोबाट भेडेटारको चिसोमा पहिलो पटक साक्षात्कार गरेर आएका उमेश पहाडी हावापानी देखेर चकित भए । उनले आफ्ना साथीहरुलाई सुनाएका थिए, ‘भेडेटार जान त ज्याकेट लाएर जानुपर्ने रैछ !’

विद्यार्थीकालमा भेडोटारको मात्रै चिसोसँग परिचित उमेश जागिरकालमा भने देशभरका पहाडी क्षेत्रहरुमा चिसिन पाए । उनी जागिरकै सिलसिलामा कोशी प्रदेशको भारतीय राज्य सिक्किमसँग जोडिएको च्याङ्थापुदेखि कर्णाली प्रदेशको चौरजहारीसम्म पुगे । उमेशले कोशीको भोजपुरका पहाडदेखि गण्डकी प्रदेशका बागलुङे पहाडहरुमा टेके । मधेशका रैथाने उनले कतिपय पहाडका मान्छेले गर्नेभन्दा धेरै पहाडी यात्राको अनुभव लिए ।

सिक्किमलाई रक्सी बेच्ने च्याङ्थापु, शिक्षक रक्सी खाएर विद्यालय जाने चौरजहारी

पढाइ सकेर घरमै बसिरहेका थिए उमेश । उनलाई धराने साथी कमल आलेमगरले पाँचथरको च्याङ्थापुमा काम भएको सुनाए । उनी कमलकै सिफारिसमा २०६९ सालमा पाँचथर पुगे । ओयाङबजारबाट सिक्किम सीमासम्मको मध्यपहाडी सडकको काममा खटिए उनी ।

च्याङ्थापुमा उनका रोचक अनुभव छन् । नेपाली भाषा फरर बोल्ने भारतको सिक्किमेलीहरु देख्दा सुरुमा उनलाई अनौठो लाग्यो । नेपाली बोल्ने विभिन्न देशमा भएको जानकारी त थियो उनलाई । तर, नेपाली र सिक्किमै छुट्याउनै नसक्ने चै च्याङ्थापु पुगेरमात्रै थाहा पाए । च्याङ्थापु र सिक्किमको रक्सीको साइनो उनलाई झन गजब लाग्यो ।

‘रातिराति नेपालबाट रक्सी उता बिक्री हुन्थ्यो’, उमेश भन्छन्, ‘नेपाली घरेलु रक्सी सिक्किममा लोकप्रिय रहेछ ।’

च्याङ्थापुमा लिम्बूवान कार्यकर्ताले चन्दा मागेर हैरान पारे उनलाई । उमेशले आफू निर्माण कम्पनीको ठेकेदार नभएकाले चन्दा दिन नसक्ने बताउँथे । ठेकेदार पनि बाठा, काम भएको ठाउँमा विरलै आउँथे, उनी घरी फिदिम र घरी काठमाडौंमै हुन्थे । ठेकेदार र लिम्बूवान कार्यकर्ताको कमै भेट हुन्थ्यो । भेटमा उनी पाँचदश हजार दिएर टार्थे ।

‘हाम्रो खोलाको ढुंगा, गिटी, बालुवा किन झिेकेको भन्दै चन्दा माग्थे लिम्बूवान कार्यकर्ता’, उमेश भन्छन्, ‘ठेकेदार बाठा थिए, मैले झिकेर नुवाकोट लगेको छैन, तपाईंकै गाउँमा त प्रयोग भएको छ भनेर चुप लगाउँथे ।’

च्याङ्थापुमा काम गरेको ठेकेदार कम्पनीले कर्णाली प्रदेशको पश्चिम रुकुममा पनि ठेक्का पायो । किटेनीदेखि चौरजहारीसम्मको १० किलोमिटर काममा उमेश खटिए । पुसको चाडोमा उनी चौरजहारी पुगेका थिए । बेलाबेला सडक चेक गर्न मधेशकै यादव थरका इन्जिनियर (उमेशलाई उनको नाम याद छैन) आउँथे । र, भन्थे, ‘म दुई महिनामा एक दिन आउँदा त गाह्रो छ । तिमी कसरी यही बसेर काम गर्न सकेको ?’

इन्जिनियर यादवको कुरा सही थियो, थामिनसक्नुको जाडो थियो चौरजहारीमा । शौचालयमा पानी लाने ड्रम हुन्थ्यो । बिहान उठ्दा माथिको भाग बरफ भएको हुन्थ्यो । त्यसैले सबैजसो साथी आफू पहिलो हुनु नपरोस् भनेर कुर्थे । उमेश प्रायः पहिलो हुन्थे । बरफ फालेर पानी लान्थे ।

मधेशको शीतलहर र जाडो धानेका उमेशलाई चौरजहारी धेरै गाह्रो भयो । मधेश र पहाडको जाडोमा के फरक छ ? उनी भन्छन्, ‘जाडो त जाडै हो दुवै, तर फरक छ । तराईमा हुस्सु लागे पनि पानी जम्दैन । मधेशमा जाडो हुँदा पनि पानी तातो हुन्छ । पहाडमा पानी छोयो कि हात चल्दैन ।’

च्याङ्थापुमा जस्तै चन्दा आतंक थिएन चौरजहारीमा । रक्सी सम्बन्ध भने थियो । चौरजहारीले च्याङ्थापु जस्तो भारतमा रक्सी बेच्ने अवस्था थिएन । चौरजहारीमा रोचक चैँ शिक्षकले बिहानै रक्सी पिएको देखे उमेशले ।

‘मैले बिहानै रक्सी खाएकै चैँ त्यहीमात्रै देखेको हो’, उमेश भन्छन्, ‘बिहानै रक्सी खाएर विद्यालय जाने शिक्षकले के पढाउँलान् ?’

भोजपुरले प्रहरी बुझ्ने मौका दियो, बागलुङले मध्य नेपाल बुझ्न सिकायो

कर्णालीको काम सकेर फुर्सदमा थिए उमेश । फेरि अर्का धनकुटेली साथी देवेन्द्र लिम्बूले खबर गरे भोजपुरको प्रहरी कार्यालय निर्माणको जागिरको बारेमा । देवेन्द्रले विराटनगरबाट भोजपुर धाउने प्रहरीका प्राविधिक डीएसपी ईश्वरी थापालाई भेट्न भने । भेटेर उमेश भोजपुर हानिए । भोजपुरको तिवारी भञ्ज्याङ, अन्नपूर्ण र लेगुवाका इलाका प्रहरी कार्यालयको भवन निर्माणमा उनी खटिए ।

प्रहरीलाई खासै नजिकको नमान्ने उमेशले आफ्नै जिल्लाका भएकाले प्रहरी हबल्दार खिलानन्द यादवसँग दोस्ती गर्न खोजे । तर, खिलानन्दले उनलाई दोस्त होइन दुश्मन जस्तो व्यवहार गर्न थाले । उनलाई हेप्ने, गाली गर्ने र मानमर्दन गर्न थाले ।

‘उसले सधैं मेलै खाजा-नास्ता खुवाएको चाहेको थियो होला’, उमेश भन्छन्, ‘केही दिन त खुवाएकै हो । तर, पछि फेरि हेप्यो, एक दिन त नराम्रो गाली गर्‍यो ।’

उनले आफ्नै ठानेकाले हेपेपछि इन्स्पेक्टर अमरबहादुर गजमेरलाई गुनासो गरे । इन्स्पेक्टरले थर्काएपछि हवल्दारको सकस कम भयो । त्यही बेला उमेशलाई लाग्यो, ‘सबै प्रहरी राम्रा नहुँदा रहेछन् । सबै खराब पनि नहुँदा रहेछन् । आफ्ना भनेका सबै आफ्ना जस्ता नहुँदा रहेछन् । पराई ठानेकाहरु पनि पराई जस्ता नहुँदा रहेछन् ।’

भोजपुरको कार्यकाल सकिएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जोडिएर बागलुङ पुगे उमेश । उनी बागलुङ सदरमुकाममा साढे पाँच वर्ष बसे । त्यो समय आफूले बागलुङका विद्यालयहरु हेरेको उनले बताए । बागलुङ बसेर पोखरा आउजाउ गरिरहँदा उनले गण्डकी प्रदेशलाई नजिकबाट बुझ्ने मौका पाए । विद्यार्थी हुँदा पोखरा शैक्षिक भ्रमणमा आएका उनले जागिरको क्रममा नियमित ओहोरदोहोर नै गरे । गण्डक क्षेत्रलाई नियाले ।

मधेशभन्दा भिन्न पहाडी दुःख: खान र हिँड्न पनि छैन सुख

झण्डै दशक नेपालको पहाडी क्षेत्रमा बिताएका उमेशको बुझाइमा पहाड र मधेशका कतिपय दुःख मिल्छन् । बेरोजगार दुवैतिर उस्तै छ । देशमा काम नपाएर विदेश जाने बाध्यता दुवैतिर छ । कतिपय समस्या भने भौगोलिक कारण भिन्न छन् । जस्तै, पहाडमा सिंचाइ सजिलो छ, उब्जनी असजिलो । उमेशको गाउँमा उब्जनी सहज छ, सिंचाइ असहज ।

चौरजहारीमा फागुनमा रोपेको कुरा जेठ-असारमा मात्रै पाकेको देख्दा उमेश चकित भए । मधेशमा छिटो पाक्ने तर पहाडमा ढिलो देखे ।

मधेशमा बेरोजगारी समस्या भए पनि कर्णालीमा जस्तो सबै छोराछोरी छोडेर भारत जाने प्रचलन चैं नभएको उमेश बताउँछन् । मधेशभन्दा पहाडका केही समस्या भने फरक रहेको उमेशको बुझाइ छ । त्यो हो- दुर्गम र खाद्यान्न अभाव ।

‘मैले ५० रुपैयाँ तिरे भने जिल्ला सदरमुकाम राजविराज घरबाट पुग्न सक्छु’, पहाडी दुर्गमबारे उमेश भन्छन्, ‘बागलुङको सिमीबाट सदरमुकाम पुग्न झण्डै एक हजार रुपैयाँ तिर्नुपर्छ । त्यसमाथि एक दिन समय लाग्छ । एक हजार कमाउने दुःख त मेरो र सिकीको मान्छेको एकै हो नि ।’

पहाडमा खान नै अभाव देखे उमेशले । ‘चौरजहारीमा हुँदा एक दिन कामदारहरुले खाजा खान गएको बताए । के खाजा ल्याएछन् भनेर हेरेको तातो पानी र मकै ल्याएको देखें’, उमेश भन्छन्, ‘नूनसँग मकै र तातोपानी खाने, काम चैँ ढुंगा फुटाउने ।’

पश्चिम रुकुमको यो उदाहरण दिँदै उमेश भन्छन्, ‘पहाडको जस्तो खानकै दुःख चैं छैन मधेशमा ।’

मधेश आन्दोलन हुँदा जागिर पहाडले पहाडेलाई मात्रै दिन्छ भन्ने नारा सुनेर पत्याएका थिए उमेशले । कोशी, कर्णाली र गण्डकीमा पहाडे साथीहरुकै साथले जागिर खाएपछि उनले पत्याउन छोडे । अहिले लोकसेवा तयारीमा जुटेका उनी लोकसेवाको निष्पक्षतामा विश्वस्त छन् ।

मधेश आन्दोलन हुँदा मधेशीलाई पहाडमा मान्छे नगन्ने नारामा उनले विश्वास गरेका थिए । पहाडमा मधेशी भएकैले खाना खाएको, गाडी चढेको अतिरिक्त पैसा नलिएको र समान व्यवहार गरेको भोगेपछि उनले विश्वास गर्न छोडे । पहाड र मधेशका जनस्तरमा आफूले समस्या नदेखेको भन्दै उमेश पहाडले मधेश र मधेशले पहाड थप बुझ्न आवश्यक भएको बताउँछन् ।

उनी भन्छन्, ‘पहाडले ओर्लेर मधेश बुझ्ने र मधेशले उक्लेर पहाड बुझ्न आवश्यक छ । भाषण सुनेरमात्रै देश बुझिँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *