नर्भिक अस्पतालमा टेस्टट्यूब-बेबी सेन्टर संचालनमा आउँदै – Nepal Press

नर्भिक अस्पतालमा टेस्टट्यूब-बेबी सेन्टर संचालनमा आउँदै

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अत्याधुनिक प्रविधिबाट बाँझोपनको उपचार हुने भएको छ । हस्पिटलले बाँझोपनको उपचार गर्न विशेष प्रजनन् केन्द्र स्थापना गरी अन्तर्रांष्ट्रियस्तरको सेवा दिने जनाएको हो ।

प्रबन्ध निर्देशक मेघा चौधरीका अनुसार नर्भिकले २ महिनाभित्रमा आइभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । बरिष्ठ स्त्रीरोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टीमले उपचार सेवा प्रदान गर्ने भएको छ ।

डा. शर्माका अनुसार सेवा सुरु भएपछि नर्भिक हस्पिटलको आइभीएफ एण्ड फर्टिलिटी सेन्टर मुलुकमा उपलब्ध अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ ।

उक्त सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि-जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत संचालन हुनेछ । नेपालमा हालसम्म कुनै पनि आइभीएफ सेन्टरमा प्रि-जेनेटिक डाइग्नोसिस सेवा संचालनमा आउन सकेको छैन ।

प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराइन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण हुने उनको भनाई छ ।

डा. शर्माले १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालमा आबद्ध रहेर स्त्रीरोग तथा बाँझोपनबाट पीडितलाई सेवा दिँदै आएकी छिन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्री रोग, प्रसूति सेवाका साथै निःसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ ।

परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निःसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ ।

बढ्दो उमेर, ढिलो विवाह, धुमपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनले देखाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *