नामकरणपछि कोशी प्रदेशसभाको पहिलो बैठक बस्दै, ३ विधेयक पास गर्ने कार्यसूची
विराटनगर । प्रदेशको नामकरणपछि पहिलो पटक कोशी प्रदेशसभाको बैठक आज बस्दै छ ।
आइतबार बस्ने दोस्रो प्रदेश सभाको पहिलो बजेट अधिवेशनको पहिलो बैठकमा दुईवटा विधेयक पेस हुने भएको छ।
बैठकमा प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश निजामती सेवा ऐन पहिलो संशोधन अध्यादेश र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेशलाई प्रदेश सभामा पेस गर्ने कार्यसूची पास गरिएको संसद् सचिवालयले जनाएको छ।
प्रदेश सभाको आइतबारको बैठकमा नै प्रचलित प्रदेश ऐनहरूमा रहेको प्रदेश १ लाई संशोधन गरी कोशी प्रदेश कायम गर्ने विधेयक पनि आज नै पारित गर्ने कार्यसूची रहेको ।
आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखले आव्हान गरेको प्रदेश सभाको बैठकको पत्र पढेर सुनाउने, शून्य समयमा प्रदेश सभाका सदस्यहरूले बोल्ने, विधेयकहरू पेस गर्ने तथा संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची कार्य व्यवस्था परामर्श समितिमा निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए ।