कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, को-को बन्दैछन् मन्त्री ? – Nepal Press

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, को-को बन्दैछन् मन्त्री ?

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसलाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारी भएको बताए । उनले भने, ‘हामीबिच छलफल पनि भइरहेको छ । अब सरकारलाई वैशाखको पहिलो साताभित्रै पूर्णता दिने तयारी भएको छ ।’

यसअघि एमालेसँग रहेका तीन मन्त्रालयलाई कांग्रेसलाई दिने तयारी मुख्यमन्त्री शर्माको छ ।

यता, नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्वको दाबी राखेका छन् । केन्द्रमा माओवादी र काँग्रेसको सरकार भएको हुनाले कर्णालीमा पनि हुनु स्वाभाविक रहेको शाहीले बताए । सरकारमा अब हामी छिट्टै जान्छौँ शाहीले भने ।

यस्तै, माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्ल मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा कांग्रेस सरकारमा जाने बताए । ‘यसअघि एमालेले सम्हालेका मन्त्रालय कांग्रेसले पाउने बुझाइ छ । सभामुखको विषयमा अहिलेलाई केही सोचेका छैनौँ’, मल्ले भने ।

४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । कांग्रेससँग १४, माओवादीसँग १३, एकीकृत समाजवादीका एक जना सांसद छन् । यस्तै एमालेसँग सभामुखसहित १०, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नयाँ नेतृत्व पाउनेछ ।

कांग्रेसबाट राजीव विक्रम शाह, हिक्मत विष्ट, कृष्ण बिसी र सुरेश अधिकारी मध्ये मन्त्री बन्ने सम्भावना बढी भएका नेता हुन् । सुर्खेत जिल्लाका पार्टी सभापतिका खड्ग पोख्रेल, महिलाबाट केन्द्रीय सदस्य जानकी सिंहको पनि सम्भावना रहेकाे नेताहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *