बुटवलमा विकासको बहार, १० दिनमा दुई केवलकारको शिलान्यास – Nepal Press

बुटवलमा विकासको बहार, १० दिनमा दुई केवलकारको शिलान्यास

रुपन्देही । फागुन १ गते बुटवलबाट पाल्पाको बसन्तपुर पुग्ने केवलकारको शिलन्यास गरेर काठमाडौं गएका अर्थमन्त्री तथा सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलले आइतबार बुटवलमा अर्को केवलकारको शिलन्यास गरेका छन् । पौडेलले बुटवल उपमहानगरपालिकाको वडा नं १ स्थित फुलबारीदेखि पाल्पा र रुपन्देहीको संगमस्थल नुवाकोट गढी जोड्ने सिद्धार्थ केबलकारको शिलान्यास गरेका हुन् ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म पुग्न केवुलकार सञ्चालनमा आउने भएको छ । बुटवलदेखि करिब २ किलोमिटर दूरीको केवुलकार लाइन निर्माणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन् ।

नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालिले यसअघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृति लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिएका छन् ।

१८ महिनाभित्रै बुटवल–नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा निर्माणको काम हुन लागेको हो । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा.लि.ले निर्माणको जिम्मा पाएको हो ।

मनोरम हिमश्रृंखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ । २२र२४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवासमेत रहेको नुवाकोटसम्म पुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।

रुपन्देहीको बेलबास शान्तिचोकबाट ११ किलोमिटर दूरीमा रहेको नुवाकोट हुँदै दोभान जोड्ने सडक बनेपछि सहज बनेको नुवाकोट यात्रा केवुलकारले थप सहज बनाउने भएको छ । ऐतिहासिकस्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिकस्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

सिद्धार्थ केबलकारको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाइने र त्यसको लागि आर्थिक क्षेत्रबाट कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्ता छन् अर्थमन्त्रीका विकासे योजना

पौडेलले पछिल्लो तीस वर्षमा रुपन्देहीमा भएका विकास प्रयासलाई अध्ययन गर्नुपर्ने उल्लेख गर्दै रुपन्देही जिल्लाले बिकासको रोल मोडलको भूमिका खेल्ने दावी गरे ।

उनले विकास हेर्न र सिक्न रुपन्देही जानुपर्छ भन्नेगरी विकास गर्ने दावी गर्दै रुपन्देही मुलुककै लागि विकास सिक्ने पाठशाला बनेको बताए । आफूहरुले सम्भावना छैन भनेको अन्तर्राष्ट्रिय विमानस्थल बनाएर रुपन्देहीमा विकासका लागि जे पनि सम्भव छ भन्ने कुराको पुष्टि गरेको बताए ।

उनले बुटवलमा निर्माणाधीन बुटवल बेलहिया ६ लेन सडक, बुटवल पोखरा डेडिकेटेड डवल लेन सडक, बुटवल नारायणगढ सडक, र डिपीआर बनिसकेको बुटवल गोरुसिंगे सम्मको सडक निर्माण पूरा हुँदा रुपन्देहीमात्र होइन लुम्बिनी प्रदेश नै विकासको रोलमोडल हुने दावी गरे ।

पौडेलले तिनाउ र दानव नदीको वारिपारि निर्माण थालिएको तिनाउ र दानव करिडोर, लुम्बिनीको गुरुयोजना, बुटवल मेडिकल कलेजलगायतका राष्ट्रिय महत्वका आयोजना पुरा हुंदा रुपन्देहीको बिकासले कांचुली फेर्ने बताए । पौडेलले कालिगण्डकी डाइभर्सनको डिपीआर आगामी असार मसान्तसम्म सम्पन्न हुने उल्लेख गर्दै यो आयोजना विकासको अनुपम नमुना बन्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live