बिना मगरका प्रतिस्पर्धी तारा लामा भन्छन्- सत्ता गठबन्धनलाई जनताले रुचाएका छैनन्, मेरो जित निश्चित छ – Nepal Press
नेपाल टक

बिना मगरका प्रतिस्पर्धी तारा लामा भन्छन्- सत्ता गठबन्धनलाई जनताले रुचाएका छैनन्, मेरो जित निश्चित छ

कैलाली । कञ्चनपुर निर्वाचन क्षेत्र १ मा अहिले संघीय पूर्वमन्त्री र प्रदेशका पूर्वमन्त्री बीचको चुनावी प्रतिस्पर्धालाई रोचकरूपमा हेरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुहारीसमेत रहेकी माओवादी पोलिटब्युरो सदस्य बिना मगर एमालेका तारा लामा तामाङसँग चुनावी मैदानमा छिन् ।

मगर संघीय पूर्व खानेपानी मन्त्री हुन् भने तामाङ सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री । अघिल्लो पटक सहयात्री भएर चुनावी मोर्चामा हिँडेका उनीहरू अहिले एक-अर्कालाई हराउने मार्चमा छन् । अघिल्लो पटक मगर प्रतिनिधिसभामा उम्मेदवार बन्दा तामाङ प्रदेश सभाका उम्मेदवार थिए । उनीहरू दुवैजना विजयी भए ।

यस क्षेत्रमा २०५१ सालयता संसदीय निर्वाचनमा एमाले विजयी हुन सकेको छैन । तर, आफूले झण्डै तीन दशकदेखिको जितको खडेरी तोड्ने तामाङ बताउँछन् ।

अघिल्लो पटक आफू प्रदेशसभा सदस्य हुँदा र मन्त्री भएपछि गरेका कामबाट जनता प्रभावित भएको र अहिलेको सत्ता गठबन्धन जनताले नरुचाएको बताउने तामाङ आफ्नो क्षेत्रमा विकासको गति दिने गरि चुनावी मैदानमा उत्रिएको दाबी गर्छन् ।

प्रस्तुत छ, यी र यीनै विषयमा तामाङसँग गरिएको कुराकानी नेपाल टकमा

– २०५१ पछि यो क्षेत्रमा एमाले विजयी हुन सकेको छैन । तपाईँको उम्मेदवारीले नयाँ इतिहास बन्ला ?

गठबन्धन जनताले रुचाएका छैनन् । नेकपा एमालेलाई जनताले रुचाएका छन् । मैले प्रदेशसभामा हुँदा गरेको कामलाई जनताले मूल्यांकन गरेका छन् । योभन्दा पहिलो जितेको सांसद बलियो मन्त्री हुँदा पनि यो क्षेत्रमा खासै केही नगरेको हुँदा उहाँलाई फेरि जनताले स्वीकार गर्ने छैनन् । हामीलाई जनताले जिताउँछन् भन्नेमा हामी विश्वस्त छौँ ।

– अघिल्लो पटक आफैँ जिताउन लागेको उम्मेदवारहरूलाई अहिले हराउन लागिरहनु भएको छ । केही त्यही व्यक्ति राम्रो भन्दै मत माग्ने कहिले मत नदिनुहोला भन्ने, मतदाता अन्यौलमा गर्दैनन् ?

पर्दैनन् । त्यो बेला व्यक्तिभन्दा पनि पार्टीलाई जिताउन लागिरहेका थियौँ । त्यो बेलामा पनि गठबन्धन भएको थियो । मेरो पनि त्यो बेला पार्टीबाट संघमा सिफारिस भएको थियो । उहाँको पनि संघमा सिफारिस भएको थियो । गठबन्धनमा उहाँको भागमा पर्‍यो । उहाँको भागमा परेपछि त्यो बेलाको गठबन्धनलाई जनताले अनुमोदन गरेको थियो । अहिले पार्टी अलग भएको हुँदा त्यस्तो फरक पर्दैन ।

– कस्ता एजेण्डा लिएर मत मागिरहनुभएको छ ?

यहाँ सबैभन्दा धेरै दोदा नदीले समस्या गरिरहेको छ । अझै पनि केही स्थानीय तह मूल सडकसँग जोडिएका छैनन् । सबै क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने मेरो योजना छ । मैले प्रदेशसभा सदस्य हुँदा सुरूवात गरेको कामहरूलाई पूर्णता दिनुपर्ने पनि छ । सीमा व्यवस्थापन गर्ने पनि मेरो पहल हुनेछ । सीमा क्षेत्रमा भएको विवादकै कारण गोविन्द गौतमको ज्यान गएको थियो । त्यसैले मैले यो विषयलाई केन्द्रमा पनि निकै गम्भीर रुपमा राख्ने प्रतिबद्धता गर्दछु । अव्यवस्थित बसोबासी र आरक्षपीडितहरूको समस्या समाधान गर्ने पनि एजेण्डा छन् ।

– निर्वाचनको पूर्वसन्ध्यामा आरक्षपीडितका विषयमा नेताहरू गम्भीर हुन्छन् त्यसपछि चासो दिँदैनन् भन्ने पनि आरोप छ नि ?

यथार्थ कुरा बोल्ने बानी हुन्थ्यो भने यस्तो समस्या हुने थिएन । त्यहाँ कोही रिसाउला भन्ने सोच र आरक्षपीडितलाई भोट बैङ्कको रूपमा प्रयोग गरिरहेको कारणले गर्दा उनीहरूको समस्या समाधान भएन जस्तो लाग्छ । खागसरि केपी ओली नेतृत्वको सरकारमा भूमि आयोग गठन गर्दा त्यसले जति सम्बोधन गर्न सक्छ त्यसलाई भूमि आयोगले सम्बोधन गर्ने र सम्बोधन गर्न नसकेको ठाउँमा आरक्ष समस्या समाधान समिति गठन गरेपछि धेरै काम भइरहेको थियो तर, त्यसलाई हटाइयो । त्यसपछि अहिले पनि उनीहरूको समस्या समाधान हुन सकेको छैन । त्यहाँ भोटको राजनीति नगरी समस्या समाधानतर्फ केन्द्रित हुँदा समस्या हल हुन्छ जस्तो लाग्छ ।

– एमालेले अहिले विभाजनको चोट खेपिरहेको छ । त्यसैमाथि तपाईँको क्षेत्रमा बागीहरू पनि छन् । त्यसले तपाईँलाई असर गर्ला नि ?

उहाँहरू पार्टीबाट निष्कासन भइसकेको हुँदा बागी भन्न मिल्दैन । विगतमा उहाँहरू एमालेकै नेता कार्यकर्ता हुनुहुन्थ्यो । उहाँहरूसहित चुनावमा होमिन पाएको भए राम्रो हुन्थ्यो । तर, उहाँहरू चुनावको समयमा आफूलाई स्वतन्त्र उम्मेदवारको हैसियत दिनुभएको छ । यसलाई समयमा जनताले बुझ्नेछन् । मलाई लाग्छ यसले निर्वाचनमा धेरै प्रभाव पर्दैन ।

– केही समयअघि मात्रै तपाईँ नेकपा एसबाट एमालेमा फर्किनुभएको छ । संकटमा पनि एमालेमै रहेकाहरूले टिकट पाएनन् भन्ने पनि छ, यसले परिणाममा असर गर्दैन ?

जनताले यसले धेरै महत्त्व दिएका छैनन् जस्तो लाग्छ । म हिजो एमालेमै थिए । केही समय विद्रोह गरेको कुरालाई मैले कमजोरी गरेको छु भनेर भनिसकेको छु । त्यो कमजोरी बाबजुद पनि व्यक्तिगत मलाई केही अप्ठ्यारो भएपनि फेरि यहाँको जनताको लागि मैले धेरै काम गरेको छु । त्यसले गर्दा जनताले न्याय गर्छन् जस्तो लाग्छ ।

– यहाँ कांग्रेस र माओवादीको मात्रै तालमेल भएको छ । नेकपा एसको उम्मेदवार छैन, सत्ता गठबन्धनमा तालमेल पनि छैन । त्यो मत कता जान्छ होला ?

जहाँसम्म मलाई लाग्छ त्यो मत नेकपा एमालेलाई आउँछ । त्यस्तो आधिकारिकरूपले दिन्छु नभने पनि उहाँहरूको मत हामीलाई नै आउँछ ।

– कांग्रेसभित्रको किचलो पनि एमालेका लागि लाभदायी हुने अवस्था हो ?

उहाँहरूको पार्टीको आन्तरिक कुरा हो । यो हामीलाई लाभ हुने/नहुने भन्दा पनि जनताले गठबन्धनलाई रुचाएका छैनन् यत्ति थाहा छ मलाई ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर