मन्त्रीहरूलाई लाग्यो चुनाव, मधेस भवन सुनसान (तस्बिर/भिडिओ) – Nepal Press

मन्त्रीहरूलाई लाग्यो चुनाव, मधेस भवन सुनसान (तस्बिर/भिडिओ)

जनकपुरधाम । संसदीय निर्वाचन नजिकिएसँगै जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीहरूको निवास तथा मन्त्रालयहरू रहेको मधेस भवन सुनसान बनेको छ ।

मधेस भवनको मुख्यद्वारामा विगतमा सुरक्षाकर्मीले चेकजाँच गर्दै आएको थियो । तर आवतजावत गर्नेहरूको संख्या घटेपछि सुरक्षाकर्मीले गर्ने चेकजाँच पनि बन्द छ । दैनिक भिडभाड हुने मधेस भवनमा अहिले कर्मचारी बाहेक कोही भेट्दैनन् ।

मधेस भवनको परिसरमा रहेको एकै चार तल्ले भवनमा पाँच मन्त्रालय छ– सामाजिक विकास मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय र उद्योग, पर्यटन तथा वन मन्त्रालय ।

उक्त भवनको ग्राउन्डमा रहेको सामाजिक विकास मन्त्रालय पुग्दा मन्त्री नवल किशोर साहको कार्यकक्षको ढोका बन्द थियो । मन्त्रालयमा अधिकांश कर्मचारी पनि अनुपस्थित थिए ।

मन्त्री साह कार्यकक्षको ठिक अगाडी रहेको कोठामा पुग्दा प्रवक्ता डा. मुक्ति नारायण साह भेटिए । मन्त्री ज्यू आउनुभएको छैन भन्ने जिज्ञासामा उनले भने, ‘काम परेपछि आउनुहुन्छ । अहिले क्वाटरमा बस्नुभएको छ । हामीलाई काम पर्दा उतै गइहाल्छौँ ।’

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पुग्दा अगाडीको कुर्सीमा एक युवक बसिरहेका थिए । उनी मन्त्री शत्रुधन महतोलाई निमन्त्रणा कार्ड दिन पुगेका थिए । उनले भने, ‘मन्त्री ज्यूलाई निमन्त्रणा दिन आएका छौं । तर कोही नभेटेपछि यहाँ प्रतीक्षा गर्न बसेको मात्र हुँ ।’

उक्त मन्त्रालयको भित्र प्रवेश गर्दा कर्मचारीहरू भेटिएनन् । कर्मचारीहरू नभए पनि कोठामा भने पंखा नाचिरहेको थियो । एउटा कोठामा एक जना भेटिए पनि उनले केहि बोल्न मानेनन् ।

यस्तै, अर्थमन्त्री शैलेन्द्र साह र कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव पनि मन्त्रालयमा देखा परेनन् । सोही भवनमा रहेको वाणिज्य, आपूर्ति तथा विज्ञान मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले नै राखेका छन् । उनी भने कहिल्यै उक्त मन्त्रालय जाने गरेका छैन ।

मन्त्रालयका एक कर्मचारीले भने, ‘यो मन्त्रालयमा केहि काम नै छैन । कुल बजेट मात्र २ करोड छ । मुख्यमन्त्री ज्यू आएर पनि के गर्नुहुन्छ । काम परेपछि हामी उहाँको निवास नै पुग्छौँ ।’ मुख्यमन्त्री राउत लामो समयदेखि काठमाडौंमा रहेको ती कर्मचारीको भनाई थियो ।

मधेस भवनमै गृह तथा सञ्चार मन्त्रालय र सामाजिक विकास मन्त्रालय पनि छन् । तर गृह तथा सञ्चार मन्त्री भरत साह र सामाजिक विकास मन्त्री रामसरोज यादव पनि मन्त्रालयमा भेटेनन् । मन्त्री साह काठमाडौंमा छन् भने मन्त्री यादव काम विशेषले बाहिर गएको एक कर्मचारीले बताए ।

स्रोतका अनुसार मन्त्रीहरू सरकारी सुविधामै अहिले निर्वाचन क्षेत्र केन्द्रित भइरहेका छन् । निर्वाचन नजिकिएसँगै उनीहरू आ–आफ्नो क्षेत्रमा पुगेर चुनावी माहौल बनाउन व्यस्त भएकाले मन्त्रालय आउन पाइरहेका छैन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर