मतगणनामा अवरोध गर्नेलाई कानून अनुसार कारवाही गर्न निर्वाचन आयोगको निर्देशन – Nepal Press

मतगणनामा अवरोध गर्नेलाई कानून अनुसार कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतदानमा अवरोध गर्नेलाई कानुन अनुसार कारबाही गर्न गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदान स्थलका मतदान केन्द्रमा विभिन्न राजनीतिक दल, दलका प्रतिनिधि, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि एवम् मतदान स्थलमा प्रवेश गरेका विभिन्न व्यक्तिलाई कारबाही गर्न यस्तो निर्देशन दिएको हो ।

निर्वाचन सम्बन्धी कसूरजन्य जुनसुकै कार्यमा संलग्न भएका र मतगणना कार्यमा अवरोध गर्ने ती व्यक्तिलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न यस्तो निर्देशन दिइएको आयोगका प्रवक्तासमेत रहेको सहसचिव शालिग्राम शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन आयोगका अनुसार मतदान तथा मतगणनाको समयमा अनावश्यक वादविवाद गर्ने, मतदानमा अवरोध सिर्जना गर्ने, मतपेटिका खोस्ने, मतपेटिका तथा मतपत्र नष्ट गर्ने, मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने लगायतका कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्नका लागि निर्देशन दिइएको हो ।

यस्तै मतदान स्थल तथा मतगणना स्थलमा हुलदङ्गा सिर्जना गर्ने, ढुङ्गामुढा गरी असामान्य स्थिति सिर्जना गर्ने, हातहतियार सहित मतदान केन्द्रमा प्रवेश गर्ने, मतदान केन्द्रको अनधिकृत कब्जा गरी एक पक्षीय रूपमा मतदान गर्ने लगायतका कार्य गर्नेलाई पनि यस्तो निर्देशन दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *