मदिरा विक्री र सेवनमा रोक ! होटेल, रेस्टुरेन्ट र क्लबबारे यसो भन्छन् काठमाडौंका सिडिओ
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख गोविन्दप्रसाद रिजालले मतदान स्थल आसपासमा हुने मदिराको विक्री वितरण तथा सेवनमा बढी निगरानी रहने बताएका छन् ।
उनले होटेल, रेस्टुरेन्ट र क्लबमा हुने मदिराको विक्री वितरण तथा सेवनबारे के हुन्छ भन्नेमा स्पष्ट जवाफ दिन सकेनन् । ‘हुन त यो सूचना सबैका लागि हो । तर हामीले मतदान स्थल आसपासमा हुने यस्ता गतिविधिमा बढी निगरानी गर्न भनेका छौँ । निर्वाचनलाई प्रभावित नगरोस् भन्ने हो’, सहसचिवसमेत रहेका रिजालले भने।
काठमाडौं जिल्ला प्रशासनले आगामी मंगलवारदेखि वैशाख ३० गते निर्वाचन मतदान नसकिँदासम्म मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न नगराउन सूचना निकालेको थियो ।
आइतबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनले स्थानीय निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि मंगलबार राती १२ बजेदेखि त्यस्तो नियम लागु गरिएको जनाएको छ । निर्वाचनका क्रममा मतदातालाई प्रभावित बनाउन मदिराको अधिकतम प्रयोग हुने गरेको पाइएको छ ।