चुनावपछि एउटा वडाबाट ५-६ जनालाई मलेसिया पठाइदिने आरजुको आश्वासन (भिडिओ) – Nepal Press

चुनावपछि एउटा वडाबाट ५-६ जनालाई मलेसिया पठाइदिने आरजुको आश्वासन (भिडिओ)

काठमाडौं । कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नै नपठाउने भाषण गरेकी प्रधानमन्त्री पत्नी तथा कांग्रेस सांसद आरजु राणाको अर्को रोचक वक्तव्य सार्वजनिक भएको छ । उनले चुनावी भाषण गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराएको खण्डमा एउटा वडाबाट ५-६ जना युवालाई मलेसिया पठाइदिने आश्वासन बाँडेकी छन् ।

सामाजिक सञ्जालमा बाहिरिएको भिडिओ फुटेजमा आरजुले एउटा सानो भेलालाई सम्वोधन गरिरहेको देखिन्छ । उनले आफूलाई मलेसियामा फ्रि भिसा फ्रि टिकटको केही कोटा प्राप्त भएको उल्लेख गरेकी छन् । उक्त कोटामा त्यस वडाबाट ५-६ जनालाई मलेसिया पठाउने प्रयास गर्ने उनको आश्वासन छ ।

आरजुले भनेकी छन्, ‘कसैले मलाई फ्रि भिसा फ्रि टिकटको अलिकति कोटा दिन्छु भनेको छ । यहाँबाट काठमाडौं जान पनि त्यो उ (खर्च) पर्र्दैन । सप्पैलाई त हामी गर्न सक्दैनौं, किनभने यसको मापदण्ड हुन्छ । त्यस्तै छ भने यो वडाबाट ५-६ जनालाई प्रयास गर्छौं ।’

उनी थप्छिन्, ‘पहिले इलेक्सन सिध्याउँ । अनि जीवनजीसँग सम्पर्क गर्नुस् । अलिकति मान्छेलाई केही न केही रोजगारीको बाटो दिन्छौं ।’

लामो समयका लागि भने यहीँ नै रोजगारी सिर्जना हुने खालको काम ल्याउने उनले बताइन् ।

‘अहिले यो ल्याउँछु भन्न सक्दिनँ । तर हामीले योजना बनायौं भने केही न केही काम गर्न सक्छौं । अब त तपाईंहरुले मलाई चिन्नुभाको धेरै भइसक्यो । म जे बोल्छु त्यो गर्छु, नत्र म बोल्दिनँ । मलाई यहाँ आएर काम गर्ने बाटो बनाइदिनुस् । हाम्रो साथीहरुलाई जिताइदिनुस्,’ आरजुले भनेकी छन् ।


प्रतिक्रिया

One thought on “चुनावपछि एउटा वडाबाट ५-६ जनालाई मलेसिया पठाइदिने आरजुको आश्वासन (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर