ओली पक्षबाट निर्वाचन आयोगमा जाने नेता तोकिए, प्रचण्ड-माधव पक्ष छलफलमै – Nepal Press

ओली पक्षबाट निर्वाचन आयोगमा जाने नेता तोकिए, प्रचण्ड-माधव पक्ष छलफलमै

काठमाडौं । निर्वाचन प्रयोजनका लागि दल दर्ता र हालसम्म निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आज आयोगमा बोलाएको छ ।

आयोगले एउटै पत्रमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गरेर पाँच-पाँच जना प्रतिनिधि पठाउन आग्रह गरिएकोमा ओली पक्षले सात जनालाई आयोगमा पठाउने भएको छ ।

प्रचण्डको पक्षबाट भने जाने वा नजाने टुंगो भइनसकेको स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले बताए । यद्यपी आयोगले बोलाइसकेको हुनाले कुनै न कुनै रुपमा सूचना दिइने उनले नेपालप्रेसलाई बताए ।

ओली पक्षबाट भने महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङनै निर्वाचन आयोगमा जाने भएका छन् । त्यस्तै पहिलेदेखिनै निर्वाचन आयोगमा पत्राचार गर्ने अधिकारीका रुपमा कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल र कानुनविदहरु बाबुराम दाहाल तथा रमेश बडाल निर्वाचन आयोग जादैछन् ।

आयोगले दुवै अध्यक्षलाई आफ्ना प्रतिनिधिसहित उपस्थित हुन आग्रह गरेको छ । प्रचण्ड पक्षका नेता पोखरेलले आफूहरु छलफलमा रहेको बताए । आयोगले नेकपाको विवादको बारेमा छलफल नहुने गरि पत्राचार गरेको छ ।

नेकपा विभाजन नभएको ठहर गरेको आयोगले पठाएको पत्रमा पनि अध्यक्ष भनेर पहिलो नम्बरमा केपी शर्मा अ‍ोली र दोस्रो नम्बरमा पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेको छ । संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन २०७४ को दफा ४८ अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्न र आयोगले निर्वाचन तयारीका सन्दर्भमा हालसम्म गरेका कामको छलफल गर्न नेकपा केन्द्रीय कार्यालयलाई पत्राचार गरेको हो ।

ओलीलाईनै अध्यक्ष मानेर आयोगले निर्वाचनको तयारीका लागि बोलाएकाले प्रचण्ड-माधव पक्ष आन्तरिक छलफलमा छ । सो पक्षले निर्वाचनको काम रोक्न आयोगलाई आग्रह गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर