अर्थमन्त्रीले उद्घाटन गरे तीन ठूला पुल, पुल बनेपछि स्थानीय हर्षित – Nepal Press

अर्थमन्त्रीले उद्घाटन गरे तीन ठूला पुल, पुल बनेपछि स्थानीय हर्षित

रुपेन्देही । बुटवल उपमहानगरपालिकाभित्र रहेका  तीन ठूला पुल नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार एकैदिन उद्घाटन गरेका छन् ।

यहाँस्थित तिनाउ र दानव नदीमा निर्माणसम्पन्न भएका ३ ठूला पुल अर्थमन्त्री पौडेलले उद्घाटन गरेका हुन् ।
बुधबार बिहान तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, नयाँगाउँस्थित दानव नदीमा रहेको पुल र देवीनगरस्थित तिनाउ पुल उद्घाटन भएको हो ।

डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरका अनुसार तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।

२०७३ असार २९ गते निर्माण शुरु भएको सो पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो । कंक्रिट प्रि स्टेट प्रविधिमा बनाइएको सो पुल लुम्बिनी बिल्डर्सले निर्माण सम्पन्न गरेको हो । १८० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको यसको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।

त्यसैगरी देवीनगरस्थित हात्तिसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो । ११० मिटर लम्बाई ११ मिटर चौडाई रहेको यो पुल लुम्बिनी अरनिकोले जिम्मा पाएको थियो ।

२०७२ असार ३० मा निर्माण शुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो । यसको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

त्यसैगरी नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो । २०६९ असार २४ गते निर्माण शुरु भएको यो पुल २०७६ भदौ ३० गतेमात्र सम्पन्न भएको हो ।

स्थानीयको विवादका कारण लामो समय अलपत्र परेको थियो । ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाई रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको पनि जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

यो क्षेत्रका जनप्रतिनिधिसमेत रहेका अर्थमन्त्री पौडेलकै पहलमा संघीय सरकारबाट बजेट विनियोजन गरी यी पुल निर्माण गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

पुल बनेपछि स्थानीय हर्षित

पुल बनेपछि अहिले साबिकको मोतिपुर सेमलारलगायतको क्षेत्रमा चहलपहल बढेर बुटवलकै एउटा बजारको रुपमा विकसित हुँदै गएको बुटवल १७ का वडाध्यक्ष सन्तबहादुर रानाले बताएका छन् ।

पुल नहुँदासम्म केही फाट्टफु्ट्ट किराना पसलहरु मात्र थिए । अहिले सुनचाँदी पसलदेखि हार्डवेयर पसलसम्म खुलेका छन्– उनले भने– ‘पाँचपाँच तले अग्ला घरहरु बनिरहेका छन् अन्य विकास पनि बिस्तार भएको छ ।’

तिनाउ र दानवका यी तीन वटा पुलले मोतिपुरबासीलाई मात्र होइन शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिकासम्मलाई बुटवलसँग दुरी घटाएको छ ।

लामो समयसम्म देवीनगरको तिनाउमाथि झोलुंगे पुल थियो । झोलुंगे पुलबाट पैदलयात्रीलाई सहज भएपनि सवारीबाट ओहोर दोहोर गर्न भने मोतिपुरबासीलाई बेलबास, जीतगढी भएर घुमेर बुटवल आउनुपर्दथ्यो ।

२०७३ साउनमा झोलुंगे पुल तिनाउको बाढीले बगाएपछि भने तिनाउपारीको बुद्धनगर, नहरपुर, मोतीपुरलगायतका स्थानीयलाई पैदलयात्रा पनि असहज बनेको थियो । अहिले पक्कीपुलको निर्माण सम्पन्न भएपछि भने स्थानीयलाई ओहोरदोहोर गर्न निकै सहज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *