अलपत्र परेर बसेका साढे ७ हजार विद्यार्थीलाई पुन: चीन पठाउन संसदीय समितिको निर्देशन (भिडिओ) – Nepal Press

अलपत्र परेर बसेका साढे ७ हजार विद्यार्थीलाई पुन: चीन पठाउन संसदीय समितिको निर्देशन (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले अलपत्र परेर बसेका विद्यार्थीहरूलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरवारमा बसेको बैठकले कोरोना महामारीका कारण चीनबाट फर्किएर अलपत्र परेका विद्यार्थीलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनको लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौं विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीमगरले बताइन् । उनले भनिन्, ‘चीनमा पढिरहेका इन्जिनियरिङ सेक्टरका, मेडिकल सेक्टरका र अन्य सेक्टरका विद्यार्थीहरू आएर अलपत्र परेका छन् । कूटनीतिक पहल गरेर पढ्न पठाउनुपर्ने उनीहरूको एकमात्र माग छ । पहिला यो विषयमा परराष्ट्र छलफल गरोस् र कूटनीतिक पहल गरेर विद्यार्थीहरुलाई पढन पठाउने व्यवस्था चाँही शिक्षा मन्त्रालयले गरोस् । हजारौं विद्यार्थी अलपत्र परेका छन । उनीहरूको भविष्य डामाडोल भएको छ ।’

समितिका सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले ३ दिनभित्र चीन अध्ययनका लागि पुनः जाने व्यवस्था विद्यार्थीलाई मिलाउन सरकारलाई दबाब दिए ।

अर्का सदस्य मानबहादुर विश्वकर्माले मेडिकल तथा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको प्राक्टिकल अनलाइन कक्षाबाट हुने व्यवस्था खारेज गर्न माग गरे । यस्तो प्राक्टिकलले दक्ष जनशक्ति निर्माण नहुने उनको भनाइ थियो ।

बैठकमा शिक्षामन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले संसदीय समितिले दिएको निर्देशनअनुसार चीनमा अध्ययनका लागि पुनः जाने विद्यार्थीहरुको आवश्यक व्यवस्था तत्काल मिलाउने प्रतिबद्धता जनाए । हाल चीनमा मात्रै अध्ययन गर्न जाने विद्यार्थीको संख्या ७ हजार ४८० जना रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *