शिक्षक हत्या प्रकरणमा मुख्य अभियुक्त नियन्त्रणमा, कारण खोज्दै दैलेख प्रहरी
सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले भदौ २९ गते दैलेखको गुराँस गाउँपालिका-८ का शिक्षक नगेन्द्रकुमार विसीका मुख्य हत्या आरोपीलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
प्रहरीले सोही वडाकी २५ वर्षीय मुना रानालाई नगेन्द्रको हत्या आरोपमा नियन्त्रणमा लिएको र रानाले हत्या गरेको स्वीकार गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार मुनाले व्यक्तिगत रिसिवी भन्दै भदौ २८ गते राती साढे एक बजेको समयमा धारिलो छुराले घाँटीमा प्रहार गरेर हत्या गरेको स्वीकार गरेको बताए ।
‘प्रारम्भिक रुपमा उनले हत्या स्वीकार गरेकी छन् । हामीले कल डिटेल्सको आधारमा उनलाई नियन्त्रणमा लिएका हौं । सबुत प्रमाण अनुसार उनले हत्या गरेको पुष्टि नै भयो,’ डिएसपी श्रेष्ठले भने, ‘आरोपीको कोठाबाट धारिलो हतियार बरामद गरिएको छ । रगतको पदार्थ जस्तो छुरीमा देखिएको छ । त्यसलाई फरेन्सीक जाँचका लागि पठाइएको छ ।’
उनले व्यक्तिगत रिसीइवी भन्नाले कस्तो प्रकारको रिसिइवी हो भन्ने बारे खुलाउन चाहेनन् । ‘प्रारम्भिक अनुसन्धानमा खुलेको कुरा हो । उनले व्यक्तिगत रिसिइवी भन्दै केहि कारण बताएकी छन् । ती कारणको पुष्टि गर्न लागिरहेका छौं । अनुसन्धानकौ क्रममा छौं ।’
हत्यामा अरु व्यक्तिको संग्लग्नता थियो नि थिएन भन्ने बारेमा प्रहरीले जवाफ दिन चाहिरहेको छैन । अनुसन्धान प्रभावित हुने भन्दै केहि दिनमा थप विवरण र कारणबारेमा जानकारी दिने डीएसपी श्रेष्ठले बताए ।
उनले मुख्य आरोपी नियन्त्रणमा लिइएको बताउँदै हत्यामा सहयोगी, मतियारको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । बुधबार अदालतबाट म्याद थप गरेर थप सबुद प्रमाण जुटाउँदै अनुसन्धान गरिरहेको उनको भनाई थियो ।