दोस्रो उपत्यकास्तरीय ह्वीलचियर बास्केटबल: आर्मी र जावलाखेल च्याम्पियन – Nepal Press

दोस्रो उपत्यकास्तरीय ह्वीलचियर बास्केटबल: आर्मी र जावलाखेल च्याम्पियन

काठमाडौं । दोस्रो उपत्यकास्तरीय ह्वीलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्वीलचियर स्पोर्ट्स क्लब (जेडब्ल्यूएससी)ले जितेका छन् ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्रको कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा पुरुषतर्फ विभागीय डर्बीमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफलाई र महिलातर्फ जेडब्ल्यूएससीले इस्पाइनल कट इन्जरी नेटवर्क नेपाल (एससीआईएनएन)लाई पराजित गर्दै उपाधि जितेका हुन् ।

पुरुषतर्फ रोमाञ्चक बनेको खेलमा आर्मीले एपीएफलाई २१-१७ ले पराजित गर्‍यो । आर्मी र एपीएफ पुल ‘ए’ मा सँगै थिए । पुल ‘ए’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । पुलको खेलमा पनि आर्मीले एपीएफलाई २६-२१ स्कोरले पराजित गरेको थियो।

आर्मीले सेमिफाइनलमा बीआईएमाथि ३६-१७ स्कोरको फराकिलो जीत हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो । एपीएफ भने प्रतिस्पर्धात्मक खेलमा एससीआईएनएनलाई २०-१९ स्कोरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा एससीआईएनएन तेस्रो भयो । एससीआईएनएनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बीआईएलाई १७-१६ स्कोरले पराजित गर्‍यो ।

महिलातर्फको सेमिफाइनलमा बीआईएलाई १४-० स्कोरले पराजित गर्दै जेडब्ल्यूएससी फाइनल पुगेको थियो । फाइनलमा जेडब्ल्यूएससीले एससीआईएनएनमाथि १८-७ स्कोरको सहज जीत दर्ता गर्‍यो ।

एससीआईएनएनले सेमिफाइनलमा विइनमाथि १४-४ स्कोरको सहज जीत हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो । बीआईए भने तेस्रो बन्यो । तेस्रो स्थानका लागि भएको भिडन्तमा विइनलाई बीआईएले ६-० स्कोरमा सहजै पराजित गर्‍यो ।

प्रतियोगिताको विजेता टोली आर्मी र जेडब्ल्यूएससीले ५०-५० हजार रुपैयाँ हात पारे । उपविजेता टोली एपीएफ र एससीआईएनएनले ४०-४० हजार रुपैयाँ पाए । यस्तै तेस्रो हुने एससीआईएनएन र बीआईले ३०-३० हजार रुपैयाँ जिते ।

‘मोस्ट भ्यालुयबल प्लेअर’ पुरुषतर्फ आर्मीका रामबहादुर तामाङ र महिलातर्फ जेडब्ल्यूएससीका राजनी राई घोषित भए । यस्तै पुरुषतर्फ आर्मीका रमेश खत्री र महिलातर्फ जेडब्ल्यूएससीकी तुलसा मगर ‘हाई’ स्कोरर रहे । खत्रीले फाइनलमा ८ र मगरले ६ स्कोर गरेका थिए । चारै जनाले २५-२५ सय रुपैयाँ हात पारे ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र समापन राखेपका सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *