केदार कार्कीलाई विश्वासको मत लिन एमाले-माओवादीले समय दिने, नलिए स्वत: पदमुक्त हुने दाबी (भिडिओ) – Nepal Press

केदार कार्कीलाई विश्वासको मत लिन एमाले-माओवादीले समय दिने, नलिए स्वत: पदमुक्त हुने दाबी (भिडिओ)

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने बताएका छन् । १ महिनाभित्र विश्वासको मत नलिए स्वत: पदमुक्त हुने दुई दलको दाबी छ ।

मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुई दलका नेताले केदार कार्कीमाथिको समर्थन फिर्ता लिइसकेकाले विश्वासको मत लिनुपर्ने बताए । एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानूनले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दाबी गरे ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान लिइँरहदा एमाले र माओवादीले संविधानको धारा १८८ (२) अन्तर्गत विश्वासको मत लिनुपर्ने बताएको हो ।

सो धारामा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्री बनेका कार्कीलाई माओवादीले दलको तर्फबाट विश्वासको मत दिएको थियो ।

माओवादी का कोशी प्रदेशसभा सदस्य दुर्गा चापागाईँले एमाले र माओवादीले विशेष अधिवेशन माग गरेकाले एक महिनाअगाडि नै मुख्यमन्त्री अल्पमतमा रहेको संसदमा देखाउने बताए । उनले मुख्यमन्त्रीले अटेर गरे प्रदेशसभामा संकल्प प्रस्ताव समेत पास गर्न सक्ने भएकाले सरकार परिवर्तन हुने बताए ।

पत्रकार सम्मेलनमा प्रमुख सचेतक भण्डारीले अल्पमतमा सरकार परेकाले नया कार्यक्रमहरु स्विकृत नगर्न, योजनाहरू काट्न र कर्मचारी हरूको सरुवा नगर्न समेत आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर