शेखर-गगनलाई देउवाले फेरि पेले, केही दिन अल्मल्याएर आफ्नैलाई टिकट ठेले – Nepal Press

शेखर-गगनलाई देउवाले फेरि पेले, केही दिन अल्मल्याएर आफ्नैलाई टिकट ठेले

काठमाडौं । लामो रस्काकस्सीपछि नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गरेको छ । नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको असहमतिकाबीच सभापति शेरबहादुर देउवाले आफूले चाहेका व्यक्तिहरुलाई टिकट दिलाएका हुन् ।

आफ्नै निवासमा बूढानीलकण्ठमा चार दिनसम्म लगातार बैठक राखेर राखेपछि आफू निकटका व्यक्तिलाई देउवाले टिकट थमाएका हुन् । आज बसेको संसदीय बोर्डको बैठकले सिफारिस गरेको नामलाई केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरिसकेको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार इलाम २ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । पार्टीले सर्वसम्मत निर्णय गरेको बताउँदै उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन अन्य दलसँग पनि सहयोग माग्ने बताए ।

उनले भने, ‘निर्वाचन जित्नको लागि सबैको सहयोग आह्वान गर्छौँ । व्यक्तिगत मतदाता र अन्य दलसँग पनि उम्मेदवारलाई विजयी गराउन अपिल गएका छौँ । अपिल गर्दै गर्दा केही दलहरूसँग त्यस्तो परिस्थिति बन्यो भने सहकार्य पनि हुनसक्छ ।’

देउवाले एकलौटी आफू पक्षका नेताहरुलाई टिकट दिएकोप्रति इतर पक्ष सन्तुष्ट छैन । इतर पक्षले इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउन चाहेको थियो । तर, त्यसमा देउवा तयार भएनन् ।

इतर पक्षका एक नेता भन्छन्, ‘आजको बैठकमा पनि गगनजीसहित हामी सबैले आ-आफ्नो कुरा राखेकै हौं । तर, सभापतिजीले आफ्नो अडान छाड्नुभएन । उहाँले हिजोको बैठकमा नाम प्रस्ताव गरेर उम्मेदवार टुंगो लगाइसक्नुभएको थियो ।’

देउवाले एकलौटी निर्णय गराएर आफूले चाहेका नेताहरूलाई टिकट दिएपनि पार्टीको निर्णय मान्नुको विकल्प नभएको ती नेताको भनाइ छ ।

कांग्रेसले इलाममा उम्मेदवार बनाएका खड्कालाई गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए। भने, अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
उनी गत स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका- ५ मा स्वतन्त्र उम्मेदवार रहेका प्रेमबहादुर थापासँग सिंह ७० मतले पराजित भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीबाट विद्रोह गरेर स्वतन्त्र लडेका थापा २७१ मतसहित विजयी हुँदा एमाले उम्मेदवार राकेशबहादुर सिंहले २१५ पाएका थिए । अभिषेक २०१ मत ल्याउँदै तेस्रो भएका थिए ।

तर, कांग्रेसले टिकट दिनुअघि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दाङ्बेलाई रियल ग्राउण्ड बुझ्न पठाएको थियो । इलाम पुगेर फर्किएका नेताहरूको कुरा सुनेपछि देउवाले गत निर्वाचनमा १४४ मतले पराजित खड्कालाई नै उम्मेदवार बनाउने अडान लिएका हुन् ।

देउवाको अडान अनुसार पहिलो नम्बरमा सिफारिस भएर आएर आचार्यलाई बाइपास गरेर खड्कालाई टिकट दिँदा घातक हुने कोइराला पक्षको बुझाइ छ । शेखर-गगनले मात्रै होइन पछिल्लो समय देउवानिकट रहेका शशांक कोइरालाले पनि हारेको व्यक्तिलाई टिकट दिन नहुने देउवासमक्ष राखेका थिए ।

मंगलबार शेखर र शशांकले देउवाकहाँ पुगेर खड्कालाई टिकट दिँदा हार-जीतको जिम्मा आफैं लिन भन्दै रिसाएर हिँडेका थिए ।

‘इलाममा सबैले भेषराजले जित्छ भन्दैछन्, तपाईं किन बुझ्नुहुन्न ? भेषराजलाई टिकट दिनुभयो भने ठीक छ । होइन भने हार-जीतको जिम्मा तपाईं नै लिनुस्’ उनीहरूको भनाई थियो ।


प्रतिक्रिया

One thought on “शेखर-गगनलाई देउवाले फेरि पेले, केही दिन अल्मल्याएर आफ्नैलाई टिकट ठेले

  1. जसले टिक पाए पनि नेपाली कांग्रेसकै कार्य कर्ताले पाएको हो बाहिरको होईनन् सबै एक भएर अगाडि बढ्न जरुरी छ । जय नेपाल
    खड्का र सिंह लाई सफलताको शुभ कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर