रामहरी श्रेष्ठ हत्या प्रकरण : अदालत परिसरमा भक्कानिइरहिन् रमिला, दिनभर आएन मुद्दाको मिसिल (भिडिओ) – Nepal Press

रामहरी श्रेष्ठ हत्या प्रकरण : अदालत परिसरमा भक्कानिइरहिन् रमिला, दिनभर आएन मुद्दाको मिसिल (भिडिओ)

चितवन । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न भएको अभियोगमा फरार रहेको कालीबहादुर खामलाई हिजो प्रहरीले पक्राउ गरेपनि उनकी श्रीमती रमिलाले औपचारिक जानकारी आज बिहान पाइन् ।

ज्यान मुद्दा ठूलो भएको कारण हिजो ठमेलबाट पक्राउ परेपनि काठमाडौँबाट प्रहरीले खामलाई चितवन पठाएको थियो । आज बिहान दुई बजे प्रहरी टोलीले खामलाई चितवन ल्यायो ।

१५ वर्ष अगाडि श्रेष्ठको अपहरण गरि तत्कालीन माओवादी जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरमा हत्या गरि घटना लुकाउने प्रयास गरिएको घटनाको मुद्दा भएकोले प्रहरीले त्यतिबेला नै अनुसन्धान पूरा गरेको छ । अहिले मुद्दाको अनुसन्धान गर्नुपर्ने बाँकी छैन ।

त्यसैले आफ्नो नियन्त्रणमा आएलगत्तै प्रहरीले खामलाई बिहान १० बजे नै अदालत पेश गर्ने योजना बनायो । र, चितवनमा बिहानै ल्याएपछि चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले मुद्दाका प्रहरी कर्मचारीलाई श्रेष्ठकी पत्नी रमिलालाई मुद्दाका प्रतिवादी पक्राउ परेको र आजै जिल्ला अदालत पेश गरिने जानकारी दिन लगाए ।

प्रहरीले बिहान ८ बजे नै उनलाई फोन गरि कालीबहादुर पक्राउ परेको र आजै जिल्ला अदालतमा १० बजे नै पेश गरिने जानकारी गराए । चितवन जिल्ला अदालत परिसरमामा खाम विरुद्धको सुनुवाइ कुरिरहेकी रमिलाले भनिन्, ‘प्रहरीले दुई घण्टाको बीचमा आइपुग्नु भनेपछि ढिला गर्ने कुरै भएन । गाडीबाट नभ्याइएला भनेर १० बजेको प्लेन टिकट काटेर चितवन आएँ ।’

रमिलाका दुई छोराछोरी छन् । उनीहरु दुवै नेपाल बाहिर भएकाले भिनाजु नारायणकुमार श्रेष्ठको साथ लागेर उनी चितवन आइपुगिन् । तर, जिल्ला अदालत चितवनमा आज खामको बयान र बहस दुवै भएन ।

रामहरीको हत्यामा संलग्न भनी तीन वर्षको सजाय काटिसकेका अर्का अभियुक्त गोबिन्दबहादुर बटालाको त्यो फैसला पुनरावलोकनपछि सर्वोच्च अदालतले नै पुनः मुद्दा अघि बढाउने निर्णय गरेको छ । त्यसैले चितवनबाट तत्कालीन पुनरावेदन हुँदै सर्वोच्च पुगेपछि रामहरि श्रेष्ठको मुद्दाको सबै मिसिल सर्वोच्च अदालत नै पुगेको थियो ।

२०७७ असोज १५ गते आफ्नै फैसलामा पनि पुनरावेदन गरि पुनः अघि बढाउने निस्सा दिएपछि गोविन्दबहादुर बटालाको पनि मुद्दा अघि बढिरहेको छ । चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बटालाको मुद्दा चलिरहेकोले मिसिल सर्वोच्च अदालत पुगेको जानकारी दिए ।

रमिला जिल्ला अदालत पुग्दा प्रहरीले खबर गरेअनुसार नै काली बहादुर खामलाई जिल्ला अदालत लगेर हाजिर गरिसकिएको थियो । उनलाई प्रहरी घेरामा अदालत परिसरको गोलघरमा राखिएको थियो । सामान्यतया अभियुक्त अदालत लैजाँदा उनीहरुले मास्क लगाएका हुन्छन् ।

प्रहरीले जोखिम आंकलन गरेर हत्कडी पनि लगाउने गर्छ । तर, खामले मुखमा मास्कसमेत लगाएका थिएनन् । रातो र हल्का सेतो सर्ट र पाइन्टमा अदालत हाजिर गराइएका प्रहरीसँग गफ गरेर अदालत परिसरको गोलघरमा समय बिताइरहेका थिए ।

तर, खामलाई देखेपछि रमिलाको भने अदालत परिसरमा नै भक्कानो छुट्यो । ‘मैले यो सरकारसँग मेरो छोराछोरीको जिम्मा लिउ, मेरो श्रीमानलाई शहीद घोषणा गर पनि कहिल्यै भनिनँ’, उनले पत्रकासहरुसँग कुरा गर्दै भनिन्, ‘न्यायको लागि १५ वर्षदेखि कहाँ कहाँसम्म पुगेँ । बल्ल सरकारले समातेको छ । अब मेरो श्रीमानको हत्यारालाई प्रचलित कानून बमोजिम कारबाही गरोस् ।’

खामलाई अदालत हाजिर गराएपछि गोलाप्रथाबाट उनको मुद्दा हेर्ने न्यायाधीश पनि छानिए । जिल्ला न्यायाधीश दयाराम ढकालको वेञ्चमा मुद्दा पर्यो । तर, सर्वोच्चबाट मुद्दाको मिसिल भने चितवन आइपुगेन ।

‘सर्वोच्च वा चितवन अदालतको कर्मचारीले मिसिल लिएर आउनुपर्ने हो’, जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले भने, ‘हामीले अभियुक्त हाजिरी भएपछि पत्र बनाएर सर्वोच्च पठायौँ । उहाँहरुले पनि औपचारिक पत्र पाएपछि बल्ल फाइल पठाउनुपर्ने हो । यो सबै प्रकृया गर्दा आज ढिला भयो ।’

मिसिल नै नआइपुगेपछि मुल्तवीमा राखिएको मुद्दाको फाइल नै खोल्न पाइएन । न्यायधीश ढकालले सक्कल मिसिल पेश भएपछि अभियुक्तलाई उपस्थित गराउनु भनेर आदेश दिए । त्यसपछि खामलाई प्रहरीले नै फिर्ता लगेर आफ्नो हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले मुद्दाको प्रक्रियामा अनुसन्धानको काम सकिएकोले प्रहरीको काम अदालत पेश गर्ने मात्रै भएको जानकारी दिए ।

प्रहरीले भोलि बिहीबार पनि बिहान १० बजे नै अभियुक्त खामलाई अदालत पेश गर्ने जनाएको छ । आज कार्यालय समयभर फाइल नआइपुगेपछि साँझ पाँच बजे सर्वोच्चबाट मुद्दाको सक्कल मिसिल चितवन आइसकेको छ । श्रेस्तेदार आचार्यले भोलि बिहानैबाट बयानको प्रकृया सुरु हुने र भोलि नै थुनछेक मात्रै नभएर अन्तिम फैसला पनि आउन सक्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर