पहिलो पटक डिस्टींक्सन भएका जम्कट्टेल तेश्रो पटक जस्ट पास मात्र – Nepal Press

पहिलो पटक डिस्टींक्सन भएका जम्कट्टेल तेश्रो पटक जस्ट पास मात्र

हेटौंडा । सत्ता राजनीतिको तेश्रो परिक्षामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल जस्ट पास भएका छन् । सामान्यतया परिक्षामा पास हुनको लागि जति अंक चाहिने हो त्यतीमात्र आउँदा जस्ट पास भन्ने प्रचलन छ । सोही नियमलाइ मान्ने हो भने यो पटक मुख्यमन्त्री जम्कट्टेल जस्ट पास मात्र भए ।

बागमती प्रदेश सरकार टिकाउनको लागि आवश्यक ५६ मतमा उनले ५६ मात्र ल्याए । ११० जना प्रदेशसभा सदस्य रहेको बागमतीको सत्ता जोगाउने परिक्षामा सोमबार जम्कट्टेलले १०८ उपस्थिति सदस्यमा ५६ मत ल्याएपछि उनि तेश्रो पटक भने जस्ट पास भए ।

यो पटक जम्कट्टेलको पक्षमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीका १ जना गरि ५६ जनाले विश्वासको मत दिए भने विपक्षमा काङ्ग्रेसको ३७ मात्र मत पर्यो । राप्रपाको १२ जना प्रदेशसभा सदस्य तथा नेमकिपाका ३ जना गरि १५ जना प्रदेशसभा सदस्यले तटस्थमा मतदान गरेपछि उनि जस्ट पास भएका हुन् ।

२०७९ साल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोही वर्ष माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए । पहिलो पटक विश्वासको मत लिने क्रममा जम्कट्टेलले उपस्थित १०९ प्रदेशसभा सदस्यमा १०५ जनाको मत परेको थियो । बागमती प्रदेशसभामा रहेका सात मध्य ६ दलले जम्कट्टेलको पक्षमा मतदान गरेपछि उनि डिस्टींक्सनमा पास भएका थिए ।

तर त्यसको केही समयमा नै केन्द्रीय राजनीतिमा भएको सत्ता गठबन्धनको परिवर्तनको कारण एमालेले सरकारको समर्थन फिर्ता लियो भने राप्रपा पनि सरकारबाट बाहिरियो । सरकार अल्पमतमा परेपछि सत्ता बचाउने दोश्रो परिक्षा सोहि वर्षको चैत्र १० गते भएको थियो ।

चैत १० मा विश्वासको मत लिने बैठमा जम्कट्टेलले ६७ मतमात्र प्राप्त गरे । पहिलो पटक विशाल मत पाएका जम्कट्टेलले दोस्रो पटक भने एमाले, राप्रपा र नेमकिपाको मत पाएनन् ।

त्यसपछि करिब एक वर्ष ढुक्कले सरकार हाकेका जम्कट्टेललाइ केन्द्रमा भएको सत्ता गठवन्धनको स्वरुप परिवर्तन तेश्रो पटक परिक्षामा होमिन वाध्य बनायो । यो पटक भने उनलाइ सत्ता जोगाउन फलामको चिउरा चपाउनु जस्तै बन्यो । काङ्ग्रेसले विपक्षमा रहने भन्दै फागुन २३ मा सरकार छाडेर सरकारलाइ दिएको विश्वासको मत फिर्ता गरेपछि चैत १९ मा जस्ट पास हुन पनि जम्कट्टेललाइ धौ–धौ परेको देखियो ।

हाम्रो नेपाली पार्टीको दुई मध्य एक प्रदेशसभा सदस्यलाइ मन्त्री बनाएर ५६ अंक पुराएका उनलाइ विश्वासको मत लिने एक दिन अघि समाजवादीको निर्णयले थप टाउको दुखायो । तर अन्तिम समयमा समाजवादीले विश्वासको मत दिने निर्णय गरेपछि उनि जस्ट पास हुँदै सरकार जोगाउन सफल बने ।

विश्वासको मत पाएपछि पत्रकारले यो पटक त जस्ट पास मात्र भैयो नि भनेर गरेको प्रश्नमा उनले राजनीतिमा एक अंक पनि महत्वपूर्ण हुने बताए । कसैको पनि स्पष्ट बहुमत नभएको प्रदेशसभामा यस्तो हुनु स्वभविक रहेको उनको धारणा थियो ।

संविधानको व्यवस्था अनुसारको यो कार्यमा एक मतले सफल हुनु र धेरै मतले सफल हुनुमा भिन्नता नरहेको उनको दाबी छ । आफूले गठबन्धनको सरकार जोगाउन गरेको प्रयास सफल भएको भन्दै अब सरकार आफ्नो नियमित काममा फर्कने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर