कोशीको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी, देखाए नयाँ सरकारको ढोका खोल्ने यस्तो चाबी – Nepal Press

कोशीको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी, देखाए नयाँ सरकारको ढोका खोल्ने यस्तो चाबी

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले नयाँ गठबन्धनका दलहरूले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिनुपर्ने बताएका छन् । उनले संसदहरूले प्रदेश प्रमुखको कार्यालयमा लाइन लागेर मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेकाले पहिले त्यो समर्थन फिर्ता लिनुपर्ने बताएका हुन् ।

समर्थन फिर्तापछि यो सरकार अल्पमतमा पर्ने उनको भनाइ छ । नेपाल प्रेससँग कुरा गर्दै उनले केदार कार्कीलाई समर्थन गरेका सांसदहरू हस्ताक्षरसहित समर्थन फिर्ता लिन सभामुख र प्रदेश प्रमुखकोमा जानुपर्ने बताए ।

उनले भने, ‘हामीले बहुमत सिद्ध गरेर गएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नुपर्छ । प्रदेश प्रमुखले एक साताका लागि मुख्यमन्त्री केदार कार्कीलाई समय दिनुपर्ने र त्यो अवधिमा बहुमत जुटाउनु या राजीनामा गर्नुको विकल्प हुँदैन ।’

उनले नयाँ सरकार पुन: संविधानको धारा १६८ (५) अन्तरगतै बन्ने दाबी गरेका छन् । अहिले सरकार परिवर्तनका विषयमा कानूनी जटिलता देखिएको भए पनि कुनै पनि सरकार अल्पमतमा परेपछि नटिक्ने राईको भनाइ छ ।

‘मुख्यमन्त्रीज्यू अदालत जानु होला तर उहाँ अल्पमतमा परेपछि अदालतले उहाँलाई मुख्यमन्त्री बनाउँदैन यो मेरो विश्वास हो ।’

अहिले केन्द्रबाट कुनै निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा ठोस कदम नचालेको राईले बताए ।

‘निर्णय भएर निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा छलफल गर्न जाँगर चलेको छैन । सरकार परिवर्तनका विषयमा ठोस कुरा न तल भएको छ न माथि नै कुनै निर्णय भएको छ’, राईले भने ।

मुख्यमन्त्रीमा दाबी

पूर्वमुख्यमन्त्रीसमेत रहेका राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्री एमालेले दाबी गर्न नहुने बताएका छन् । उनले एमालेले नै अहिलेको परिस्थितिमा पुर्‍याएको जिकिरसहित नैतिकताका आधारमा पनि एमालेले कोशी प्रदेशको नेतृत्व दाबी गर्न नहुने बताए ।

कुराकानीको क्रममा उनले भने, ‘उहाँहरू (एमाले) ले केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेर कानूनी जटिलता उत्पन्न गराएको गराउनुभयो । त्यसैले नैतिकताका आधारमा उहाँहरूले यस पटक मुख्यमन्त्री दाबी गर्नु हुँदैन ।’

उनले कोशी प्रदेशमा आफ्नो दाबी रहने बताएका छन् । यो गठबन्धन सत्ता टिकाउन बनेकाले आफूहरूले चाहिँ किन छाड्ने ? भन्दै उनले प्रश्नसमेत गरे ।

‘यसअघिको गठबन्धन संविधान मिचिएकाले संविधानको रक्षाका लागि बनेको हो । तर, यो गठबन्धन सत्ता टिकाउनका लागि हो । त्यसैले यो गठबन्धनमा मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ ।’

अन्य प्रदेशमा पार्टीलाई मुख्यमन्त्री दिए कोशीमा छाडिदिने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर