नेपाल आइडलबाट फ्याँकिएपछि कमेडीमा हुत्तिएका म्याकुरी – Nepal Press

नेपाल आइडलबाट फ्याँकिएपछि कमेडीमा हुत्तिएका म्याकुरी

घर फर्किन गुन्टा कसिसकेका म्याकुरीलाई एउटा भिडिओले रोक्यो

काठमाडौं । पछिल्ला केही वर्षमा देशभित्र हास्य कलाकारिता निकै फस्टाइरहेको छ । हाँस्न चाहने दर्शकले टेलिभिजनदेखि युट्युबसम्म भरपुर खुराकहरु पाइरहेका छन् ।

कुनै बेला हास्य कार्यक्रम भनेको नेपाल टेलिभिजनमा प्रशारण हुने एकाध टेलिसिरियलमात्रै थिए । हास्य कलाकारहरु पनि औंलामा गन्न सकिने थिए । तर, अहिले युट्युबको व्यापकतासँगै हास्य कलाकारहरुको उपस्थिति निकै बाक्लिएको छ । थुप्रै हास्य कलाकारहरु छोटो समयमा दर्शकमाझ बलियो प्रभाव छोड्न सफल पनि भएका छन् । तीमध्येका छुटाउनै नमिल्ने एक नाम हुन् पवन खतिवडा उर्फ म्याकुरी ।

छोटो समयमै सफलताको शिखर चुमेका पवनको कमेडी यात्रा भने त्यति सहज थिएन । हास्य कलाकार बन्ने उनको सपना पनि होइन । उनी खासमा गायक बन्न चाहन्थे । मध्यम वर्गीय परिवारबाट आएका उनले कमजोर आर्थिक स्थितिकै कारण आफ्नो गायक बन्ने सपना त्याग्नुपरेको थियो ।

एक भाइ र एक बहिनीका दाजु पवन धनकुटामा जन्मिएका हुन् । उनलाई सानैदेखि गायनमा रुचि थियो । धनकुटामै विज्ञान विषयमा स्नातक तह सकेका उनी गायक बन्न भनी सन् २०१८ मा काठमाडौं आए । पहिलो चोटि काठमाडौं आउँदा उनले घरबाट सात हजार रुपैयाँ गोजीमा बोकेका थिए । उनलाई कमेडियन बन्छु भन्ने एक मनमा पनि थिएन ।

‘४-५ वर्ष अगाडिसम्म पनि मलाई कमेडियन भन्ने थाहै थिएन । न कमेडियन बन्छु भन्ने नै थियो । मलाई खालि गायक बन्छु भन्ने थियो’, विगत सम्झिँदै म्याकुरी भन्छन् ।

यद्यपि, उनी कलेज पढ्दा अलिअलि कमेडी गर्थे । रेडियोमा कमेडी कार्यक्रम नै चलाउँथे । त्यही भएर कमेडीमा उनको दख्खल बढ्दै गयो ।

काठमाडौं आएपछि उनले मास्टर्सको पढाइ र गायन कक्षा एकै चोटि ज्वाइन गरे । लुम्बिनी एकेडेमीमा मास्टर्स पढ्न भर्ना भएका थिए । काठमाडौंमा जीविकोपार्जन उनले सोचे जस्तो सजिलो थिएन । आर्थिक भार कम गर्न बेलामौका उनी दोहोरी साँझमा गाउने गर्थे ।

विज्ञान विषयमा स्नातक सकेका पवनको परिवारको चाहना भने छोराले सरकारी जागिर खाओस् भन्ने थियो । तर, गायक बन्ने रेसमा दौडिएका उनी परिवारको सोचअनुसार ढल्न सकेनन् ।

गायनको तृष्णा अहिले पनि उनमा छ । यसलाई मेटाउन उनी अवसर पाउनासाथ गाउने गर्छन् । हालसम्म १५ वटा गीत रेकर्ड गराइसकेका छन् । चार हप्ता अगाडि मात्र उनले ‘बदनाम बनायौ’ बोलको गीत गाएका थिए । यो गीत उनको आफ्नै जीवनमा आधारित छ ।

पवन भन्छन्, ‘घरमा कराइरहनु हुन्थ्यो । लोकसेवा भिड, अधिकृत भिड भन्नुहुन्थ्यो । यत्रो पढेको मान्छे के दोहोरीमा गाउँदै हिँडेको भनेर पछिसम्म गाली गर्नुहुन्थ्यो । गायक बन्छु भनेको छ, न कमाएको देखिन्छ न त काम गरेको देखिन्छ भनेर गनगन गरिरहनु हुन्थ्यो ।’

पवन पुतलीसडकस्थित एक एकेडेमीमा गायन सिक्न भर्ना भएका थिए । तर, महिनावारी फी तिर्न पनि धौधौ परेपछि तीन महिनामै उनले गायनको यात्रामा पूर्णविराम लगाउनुपर्‍यो । गायनको भोक मेटाउन उनी ‘नेपाल आइडल’ मा अडिसन दिनसमेत पुगे । यो कुरा सायद धेरैका लागि नौलो हुनसक्छ । उनले अडिसनमा चलचित्र प्रेमपिण्डको ‘के भनुँ, म कसो गरी परें, मोहिनीको माया जालैमा’ भन्ने गीत गाएका थिए । तर, तीन महिना पनि राम्ररी गायन सिक्न नपाएका उनी सेलेक्ट हुन सकेनन् र अडिसनबाटै फ्याँकिए ।

गायनको तृष्णा अहिले पनि उनमा छ । यसलाई मेटाउन उनी अवसर पाउनासाथ गाउने गर्छन् । हालसम्म १५ वटा गीत रेकर्ड गराइसकेका छन् । चार हप्ता अगाडि मात्र उनले ‘बदनाम बनायौ’ बोलको गीत गाएका थिए । यो गीत उनको आफ्नै जीवनमा आधारित छ । आर्थिक स्थिति कमजोर नभएको भए अहिले पनि गायन क्षेत्रमै आफू सक्रिय रहने पवनको भनाइ छ ।

गायनमा भविष्य नदेखेपछि उनी कमेडीतर्फ धकेलिएका हुन् । सुरुमा उनी सरोज घिमिरेले बनाएको ‘हालत खराब’ नामक सिरियलमा आवद्ध भए । यो उनको कमेडीमा डेव्यु थियोे । एक वर्ष लगातार सिरियलमा अभिनय गर्दा पनि केही उपलब्धि नभएपछि उनले घर फर्कने निधो गरे । विज्ञान विषय लिएर पढेको र गाउँमा पनि विज्ञान शिक्षकको खाँचो भएको भनेर घरबाट बोलाइएपछि उनले उतै जाने सोच बनाए ।

‘काठमाडौंमा भने जस्तो सजिलो थिएन, खान लाउनै मुस्किल पर्ने । कमेडियनको जीवन त झनै नाजुक थियो । न कमाइ हुने न त भविष्यको ग्यारेन्टी । बिजोकै थियो’, कमेडीबाट हरेस खाएर बसेको दिन सम्झिँदै उनी सुनाउँछन् ।

भारतका भाइन्सहरुबाट प्रेरित भई उनले पिके (पवन खतिवडा) भाइन्स नाम राखेर एउटा युट्युब च्यानल पनि खोलेका थिए । तर, सब्स्क्राइबर्सको खडेरी थियो । उनले अरुको मोबाइल माग्दै आफैं सब्स्क्राइब गर्दै बल्लतल्ल आफ्नो च्यानलमा १६९ पुर्‍याएका थिए ।

घर जाने निर्णय गरेपछि एउटा अन्तिम भिडियो खिचेर जाउँ भन्ने सोचे । मोबाइलबाटै एउटा भिडियो खिचेर अपलोड गरे । सौभाग्य भनौं या संजोग, सन् २०१९ मा अपलोड गरिएको उनको त्यो भिडियो एकाएक भाइरल भयो । उक्त भाइरल भिडियोको टाइटल थियो- ‘लेजेन्ड्स अप्रिल फुल’ ।

त्यही एउटा भिडियोले उनलाई घर जान रोक्यो । दुई जना केटा र केटीबीच फोनमा भएको झगडा र नोकझोक देखाइएको भिडियोले लाखौं भ्यूज पायो । टिकटकमा पनि धेरैले म्याकुरीको संवादमा अभिनय गरे । उनको हौसला एकाएक बुलन्द भयो । त्यसपछि ‘चुतिया बाउ’ शीर्षकको अर्को भिडिओले पनि तहल्का पिट्यो, जसमा उनले बाबु र छोराको दोहोरो भूमिका खेलेका थिए ।

विस्तारै उनले थप कमेडीका भिडियो हाल्न थाले । सबै भिडियोमा दर्शकको राम्रो प्रतिक्रिया आउन थाल्यो । उनको व्यस्तता बढ्न थाल्यो । नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियलहरुमा पनि काम पाए । धुर्मुस-सुन्तलीले बनाएको ‘सेन्टी भाइरस’ बाट चलचित्रमा डेव्यु गरे । यसरी उनको कमेडी दोकान दिन प्रतिदिन ठूलो हुँदै गयो । अहिले उनी कमेडी क्लव विथ च्याम्पियनमा अभिनय गरिरहेका छन् । उनको कामप्रति परिवारको पनि समर्थन र सन्तुष्टि छ ।

यति छिटो सफल हुन्छु भन्ने पवन आफैंले पनि सोचेका थिएनन् । हचुवामा सुरु गरेको उनको च्यानलमा अहिले २० जना कार्यरत छन् ।

उनी भन्छन्, ‘यति छिटो यत्रो ठूलो परिवार हुन्छ भन्ने मनको एक छेउमा पनि थिएन । ५ हजार सब्स्क्राइबर्स पुगे पनि धेरै खुसीको कुरा थियो । तर, सोचेभन्दा धेरै छिटो सफलता पाएँ । सबैप्रति आभारी छु ।’

पवन हाल ‘वडा नं ४२०’ नामक सिरियलमा व्यस्त छन् । उनी आफैंले बनाएको यो सिरियल नेपाल टेलिभिजनमा हरेक सोमबार प्रशारण हुने गर्छ । सोमबार टीभीमा आउने सिरियल उनी मंगलबार आफ्नो युट्युब च्यानलमा हाल्छन् । उनी बिक्की अग्रवालको नयाँ शो ‘कमेडी दरबार’ मा पनि देखिँदैछन् ।

लेखनमा रुचि भएकाले उनले केही समय स्क्रिप्ट लेखनको तालिम पनि लिए । सुरुका दिनहरुमा आफ्ना हरेक भिडियोको लेखन तथा निर्देशन उनी आफैं गर्थे । तर, समयसँगै व्यस्तता बढ्न थालेपछि अहिले उनले निर्देशनको पार्ट देवजंग थापा र लेखनको पार्ट सरोज भण्डारीलाई सुम्पिएका छन् ।

आफ्नो कर्ममा निरन्तर अघि बढिरहेका म्याकुरीले २०७८ साल असोज १८ गते प्रेमिका सुम्निमासँग औपचारिक तवरबाट विवाह गरेका थिए । सुम्निमा र म्याकुरी एकै टीममा मिलेर काम गर्थे । काम गर्ने क्रममै यी दुईको प्रेम फस्टाएको थियो । दुई वर्ष प्रेम सम्बन्धमा रहेर यी दुईले विवाह पनि गरे । तर, दुर्भाग्यवश उनीहरुको वैवाहिक सम्बन्ध भने लामो समय टिक्न सकेन । अहिले उनीहरु सम्बन्धविच्छेदको प्रक्रियामा छन् ।

पवन र सुम्निमाको कलाकारितामा सहयात्रा जारी रहन्छ वा रहँदैन ? यसबारे केही भन्न नसक्ने उनी बताउँछन् ।

‘सहकार्य टुटे-नटुटेको भन्नेबारे मलाई थाहा छैन । यसबारे केही कुरा भएको छैन र यसबारे के हुन्छ भन्ने मलाई थाहा पनि छैन’, पवनले भने ।

श्रीमतीसँग डिभोर्सको चर्चाबीच ‘म्याकुरी’ केही दिनअघि पवनले एउटा खुशीको खबर शेयर गरे । उनले आफ्नो युट्युब च्यानलमा १० लाख सब्स्क्राइबर्स पुर्‍याएर गोल्डेन बटन पाएका छन् । उनले खुसी साट्दै सिल्भर र गोल्डेन बटन दुवै बोकेको तस्वीर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सिल्भर बटन चाहिँ उनले चार वर्षअघि नै पाएका हुन् ।

पवन हाल ‘वडा नं ४२०’ नामक सिरियलमा व्यस्त छन् । उनी आफैंले बनाएको यो सिरियल नेपाल टेलिभिजनमा हरेक सोमबार प्रशारण हुने गर्छ । सोमबार टीभीमा आउने सिरियल उनी मंगलबार आफ्नो युट्युब च्यानलमा हाल्छन् । उनी बिक्की अग्रवालको नयाँ शो ‘कमेडी दरबार’ मा पनि देखिँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *