नौ दिन चीन घुम्दै परराष्ट्रमन्त्री श्रेष्ठ- कैलाश तिर्थाटनमा तीन दिन बिताउने – Nepal Press

नौ दिन चीन घुम्दै परराष्ट्रमन्त्री श्रेष्ठ- कैलाश तिर्थाटनमा तीन दिन बिताउने

काठमाडौं । परराष्ट्रमन्त्री नियुक्ति भएपछि गत बुधबार परराष्ट्र मन्त्रालय परिसरमा नारायणकाजी श्रेष्ठले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिवहरुको भेला बोलाए । भेलामा उनले सम्बोधन गर्दा १२ वर्षपछि फेरि परराष्ट्र मन्त्रालयमा आएको भन्दै सम्बोधन सुरु गरे ।

उनलाई विभिन्न सल्लाहहरु पूर्व राजदूत तथा परराष्ट्र सचिवहरुले दिए । दिनेहरुको सूचीमा भेखबहादुुर थापादेखि नयाँ पुस्ताका राजदूतहरुसम्म थिए । सबैको सल्लाहमा विदेश मामिलामा बदलिँदो विश्व घटनालाई ख्याल गरेर नेपालको कूटनीतिक परिपक्वता देखाउन, नेपालको स्वार्थ केन्द्रमा राख्न राजदूतहरुको सल्लाह थियो । मन्त्री श्रेष्ठले सल्लाह लिए ।

सल्लाह लिएर उनले परिपक्वता देखाउने प्रयास पनि गरे । तर आइतबार चीन उडेका श्रेष्ठले परिपक्वता देखाउन नसकेको कूटनीतिक क्षेत्रका चासो सरोकार राख्नेहरुले सार्वजनिक रुपमै भन्न थालेका छन् । सत्ताधारी सबैभन्दा ठूलो दल नेकपा (एमाले)का विदेश मामिलाका उपप्रमुख विष्णु रिजाल पनि आलोचक देखिए ।

उनले श्रेष्ठले लम्बेतान चीन भ्रमणबारेमा सार्वजनिक रुपमै तीतो पोखे । उनले सामाजिक संजालमा लेखे, ‘कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनु भएको थियो । दुनियाँले के भन्छ होला ? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’

विदेश विभागका काम गरेका तथा परराष्ट्र अध्ययन प्रतिष्ठानबाट प्रकाशन भएको पुस्तक ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ किताबका सम्पादकसमेत रहेका रिजालको तर्कमा सहमत भएका छन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई । १२ वर्ष अगाडि आफू प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेका श्रेष्ठलाई उनले पेलपाल प्रतिकृया दिँदै लेखेका छन्, ‘नपाउनेले केरा पायो बोक्रै समेत खायो ।’

नौ दिने चीन यात्रामा रहेका श्रेष्ठले दुई दिन त तिर्थाटनमै बिताउने छन् । आजमात्रै उनी बेइजिङ पुगेका छन् । भोलि दूतावासमा हुने औपचारिक कार्यक्रममा सरिक हुनेछन् । चिनियाँ समकक्षी वाङ यिको निम्तोमा चीन पुगेका उनले भेट्ने उच्च सरकारी अधिकारी अहिलेसम्मको जानकारीमा वाङ यिनै हुनेछन् ।

नौ दिने चीन भ्रमणमा पुगेका श्रेष्ठले तीन दिन तिर्थाटनमै बिताउने छन् । चैत १६, १७ र १८ मा उनको यात्रा तिर्थाटन क्षेत्रमा हुनेछ । चैत १६ गते शुक्रबार उनी ल्हासा पुग्नेछन् । १७ गते कैलाश मानसरोबार जान उनी एक दिन अगाडि ल्हासा जानेछन् । १८ गते उनले तिब्बत छोड्नेछन् ।

परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको कार्यक्रममा उपस्थित भएका एक पूर्व राजदूतले श्रेष्ठले सल्लाह लिएको तर लागू नगरेको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै ती करिअर डिप्लोम्याटले भने, ‘चीन जस्तो शक्तिशाली छिमेकीसँग दीर्घकालिन फाइला हुने गम्भिर सम्झौता वा अन्य छलफल भए पनि एउटा कुरा । एजेण्डा, त्यसको तयारी र भ्रमण दल हेर्दा कूटनीतिक उदेस्य भन्दा पिननिक जस्तो देखिएको छ’, उनले थपे, ‘यस्तो भ्रमणले मन्त्रीज्यूको नीजि मामिलामा त फाइदै होला । देशको कूटनीतिक मामिलामा चैँ घाटा मात्रै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर