गगन थापा र प्रदीप पौडेलको एमाले तारिफ: स्वाभाविक कि रणनीतिक ? – Nepal Press
टिप्पणी

गगन थापा र प्रदीप पौडेलको एमाले तारिफ: स्वाभाविक कि रणनीतिक ?

काठमाडौं । गगन थापाको पहिचान भनेकै चर्को बोली हो । विद्यार्थी नेता हुँदा तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध चर्को बोलेरै चर्चा पाएका थिए । ज्ञानेन्द्रलाई आलोचना गर्दा उनले भगवान पशुपतिनाथलाई विम्ब बनाएका थिए ।

तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालादेखि हालका सभापति शेरबहादुर देउवासम्मलाई केही पर्नासाथ गगनले चर्को बोल्ने गरेका छन् । कुरा यति हो उनी विद्यार्थी नेता र केन्द्रीय सदस्यमात्रै हुँदा चर्को बोलीको वजन धेरै हुन्थ्यो । महामन्त्री भएपछि चर्को बोलीको वजन कमजोर भएको छ । अहिले उनलाई नै नेता कार्यकर्ताहरुले प्रश्न गर्न थालेका छन् । किनभने उनी पार्टी सत्तामा छन् अहिले ।

फरक पार्टी अथवा विपक्षी पार्टीलाई चर्को बोल्न त गगन अब्बल नै छन् । २०७२ सालको संविधान बनेपछि नेकपा एमाले उनको आलोचनाको पहिलो निशाना थियो । एमालेमा पनि उनको निशाना केपी शर्मा ओली परेका थिए ।

गगनको आलोचना एमाले सत्तामा र ओली प्रधानमन्त्री हुँदामात्रै सीमित भएन । एमाले विपक्षी बेन्चमा घचेडिएर बस्दा पनि सत्ताधारी गठबन्धनका नेता गगनले एमाले र त्यसमा पनि ओलीलाई बढी आलोचना गरेका थिए ।

सदन, सडक र सञ्चारमाध्यम सबैमा यो लय गगनले कायमै राखेका थिए । तर, पछिल्लो समयमा कांग्रेस-माओवादी सत्ता गठबन्धन फेरिएर एमाले-माओवादीमा रुपान्तरण भएपछि गगनले एमालेसँग अस्वाभाविक सफ्ट कर्नर राखेका छन् ।

त्यो सफ्ट कर्नरको एक उदाहरण उनको सोमबारको सदनको मन्तव्य हो । जुन मन्तव्यमा उनले एमालेको तारिफ गरेका छन् । आजसम्म सदनमा एमालेले गरेको कुनै एक कामको तारिफ नगरेका उनले सोमबार भने बडो खुलेर प्रशंसा गरेका छन् । सुन काण्डमा एमालेले गगनको दुर्लभ तारिफ पाएको छ ।

एमालेको प्रशंसामा गगनले भनेका छन्ः

‘केही समय अगाडि प्रतिपक्षी ठाउँबाट सदनमा एक विषय जोडदार उठायो । सुनको प्रकरणमा शक्तिशाली मान्छेहरु जोडिएका छन् । त्यसैले प्रहरीको नियमित अनुसन्धानले मात्रै यो छानबिन सही टुंगोमा पुग्न सक्दैन । शक्तिशाली नेताहरुलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर हामीले समाचार सुन्यौं, कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारलाई धन्यवाद छ ।

यो आयोगले किटान गरेको एउटा पनि मान्छे छुट्नुहुन्न । यसमा हाम्रो सरकारलाई पूर्ण साथ रहन्छ । तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । तर, यसले संँगसँगै हामीलाई एउटा कुरा सिकाएको छ । त्यो बेलामा नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिपक्षीको ठाउँबाट यो विषयलाई जोडदार ढंगले नउठाएको भए आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुनेरहेछ ।’

यही तारिफ विश्वप्रकाश शर्माले गरेको भए सामान्य हुन्थ्यो । विश्वप्रकाशको निर्वाचन क्षेत्रमा गत चुनावमा पुगेर ओलीले लामो आलोचना गरेका थिए । विश्वप्रकाशले चुनावीसभामै कुनै चर्को आलोचनाले उत्तर दिएनन् । उनको स्वभावै यस्तो हो । विश्वप्रकाश व्यङ्ग्य, ठट्टा र सफ्ट तरिकाले आलोचना गर्छन् ।

राम्रो कुराको सार्वजनिक तारिफ पनि गर्छन् विश्वप्रकाश । त्यही उनको स्वभावले एमालेलाई मत हाल्दै आएकाहरुको सहयोगमा विश्वप्रकाशले जीवनकै पहिलो संसदीय चुनावी जीत निकाल्न सफलता पाए । विश्वप्रकाश मार्काका नेता होइनन् गगन । त्यही कारण उनको एमालेको तारिफ स्वाभाविक जस्तो देखिँदैन ।

एमालेको तारिफ गर्नेमा गगन एक्ला होइनन् । उनकै पुस्ताका अर्का नेता तथा सांसद प्रदीप पौडेलले पनि एमालेको तारिफ गरेका छन् ।

प्रदीप पौडेलले चैत २ गतेको सदनमा भनेका थिएः

‘अर्को नयाँ प्रकरण आएको छ । सुन तस्करी । म तत्कालीन प्रतिपक्षी नेकपा एमालेलाई विशेष धन्यवाद दिन चाहन्छु । यस्ता प्रकरणहरुको छानबिन राज्यको संयन्त्रबाट हुन सक्दैन । जाँचबुझ आयोग बनाउनुपर्छ भनेर त्यो बेलामा प्रतिपक्षीले भनेको थियो । म सत्तारुढ पार्टीको सांसद भएर पनि त्यही कुरा उठाएको थिएँ ।’

गगन जस्ता आक्रामक नभए तापनि प्रदीपको एमाले तारिफ रोचकै लाग्छ । प्रतिनिधिसभा निर्वाचनमा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललाई हराएका प्रदीपले एमालेको तारिफ गगनभन्दा तीन दिन अगाडि सदनमै गरेका थिए ।

नेपाली कांग्रेसका दुई युवा नेता गगन र प्रदीपको एमाले तारिफ स्वाभाविक देखिँदैन । स्वाभाविक नदेखिनुमा मूलतः चार कारण छन् ।

एक- सत्ताधारी दलको घटकलाई सदनबाट तारिफ गर्ने वा कुनै राम्रो कामको सार्वजनिक जस दिने प्रचलन दुवै नेताको यस अगाडि यो स्तरमा कुनै काम भएको देखिँदैन ।

दुई- हालसालै कांग्रेस नेतृत्वको गठबन्धनलाई किक आउट गरेर बनेको नयाँ गठबन्धनको सबैभन्दा ठूलो दलसँग त कांग्रेस बिच्किनुपर्ने हो । तर, उनीहरुले सदनबाटै तारकातार एमालेको तारिफ गर्नु स्वाभाविक देखिँदैन ।

तीन- एमाले नेपाली कांग्रेसको प्रमुख प्रतिस्पर्धी हो । प्रमुख प्रतिस्पर्धीलाई तारिफ गर्ने प्रचलन नेपालमा छैन । तिललाई पहाड बनाउने चलन छ । त्यो चलनका दुई पात्र गगन र प्रदीपसमेत हुन् ।

चार- एक जनाले तीन दिन अगाडि गरेको तारिफ अर्कोले तीन दिनपछि र त्यही लाइनमा दिनु संयोगमात्रै मान्न सकिन्न । अझ गगन र प्रदीप आफ्ना कुरा तौलीतौली बोल्ने नेता भएकाले यो दुर्लभ संयोगमात्रै हुन नसक्ने शंका गर्न सकिन्छ ।

गगन र प्रदीपको एमालेको तारिफ स्वाभाविकभन्दा रणनीतिक कारण हुनसक्छ । यसका पनि चार कारणको अनुमान गर्न सकिन्छ ।

एक- रवि लामिछानेको मन्त्रालयको कामबाट अहिले नेताहरु पक्राउ परिरहेका छन् । सुन काण्डमा एकपछि अर्को पक्राउ परेको जस रास्वपा र रवि लामिछानेलाई जाँदा राजनीतिक बजारमा घण्टीको नेप्से माथि पुग्ला र कांग्रेसलाई घाटा होला भन्ने भयले बरु एमालेलाई अगाडि सारेर जसको विभाजन गर्ने कांग्रेसको रणनीतिक योजना हुनसक्छ । सदनमा रवि लामिछानेको विरोध, सहकारी मुद्दामा रविलाई पटक पटक गगनको आक्रोश र गृहमन्त्रीको राजीनामाको कुरा लिएर भएका सदन अवरोध यसलाई आधार दिने केही दृश्य हुन् ।

गगन थापाले पनि रास्वपाले उम्मेदवारी नदिएर जितेको राम्ररी थाहा छ । स्वर्णिमले रास्वपामा प्रवेश गरेर कांग्रेसको तनहुँको आधार इलाकामा हमला गरेको ताजा स्मृति छँदैछ । यी सबै कारणले रवि र रास्वपालाई उच्चस्तरीय नेता सुन काण्डमा पक्राउ परेको कुराको जस दिन चाहँदैन कांग्रेस । ऊ एमालेलाई जस दिएर रवि र रास्वपाको माहोललाई एक हदसम्म भए पनि कमजोर बनाउन चाहन्छ ।

दुई- एमाले र माओवादीको गठबन्धनमा भावनात्मक दरार ल्याउन एमालेको तारिफ गर्ने रणनीति अख्तियार गरेको हुनसक्छ । कांग्रेसले एमालेको नाम बारम्बार लिएर किन अस्वाभाविक तारिफ गरिरहेको छ ? यसको कुनै रहस्य त छैन भनेर माओवादीमा एक खालको भय उत्पन्न गराएर गठबन्धनको मनोवैज्ञानिक बल कमजोर बनाउने एक सजिलो रणनीतिमा यो तारिफ श्रृङ्खला आएको हुनसक्छ ।

तीन- माओवादीले मात्रै एमाले र कांग्रेसलाई घुमाइघुमाइ प्रधानमन्त्री खायो । यो अति भयो । अब मिलौं भनेर भित्रभित्रै तयारी गरेको वा त्यस्तो गर्ने सम्भावनाको ढोका खोल्न पनि यस्तो तारिफ सुरु गरेको हुनसक्छ । एमालेले मन्त्रीमा ‘टीम बी’ पठाउनु र तालुकदार मन्त्रालयमा हत्ते नगर्नुले यो तर्कलाई बल पुग्छ । उसो त एमालेमा प्रदीप ज्ञवाली र कांग्रेसमा मीनेन्द्र रिजालले विभिन्न समयमा एमाले र कांग्रेस मिलेर राजनीतिक स्थायित्व दिन सकिने तर्क सार्वजनिक रुपमा दिँदै आएका पनि छन् ।

ओलीले फागुन ३० गते सदनमा देउवालाई भनेकै थिए, ‘म भन्न चाहन्छु शेरबहादुरजीलाई । बसौं, कुरा गरौं न । छलफल गरौं । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन ।’

चार- जसको मुद्दा हो, उसले जायज जय पाउनुपर्छ भन्ने कुराको थालनीको लागि यस्तो गरिएको हुनसक्छ । यद्यपि, नेपाली राजनीतिक खेल र खेलाडीको ‘सीभी’ हेरेर भन्दा यो नै प्रमुख कारण हो भन्ने आधार छैन ।

खैर, जे कारणले जे परिणाम सोचेर कांग्रेसका दुई युवा सांसद गगन र प्रदीपले जुन हिसाबले एमालेको तारकातार तारिफ गरिरहेका छन्, यो कदम स्वाभाविक होइन, रणनीतिक नै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर