रुसी सेनाबाट भागेर घर फर्केका युवराज- ११ दिने तालिमकाे भरमा पठाइएकाे थियाे युक्रेनको सीमा क्षेत्रमा – Nepal Press

रुसी सेनाबाट भागेर घर फर्केका युवराज- ११ दिने तालिमकाे भरमा पठाइएकाे थियाे युक्रेनको सीमा क्षेत्रमा

रुपन्देही । प्यूठानको स्वर्गद्वारी नगरपालिका- ९ जुडापाटाका २४ वर्षीय युवराज नेपाली मासिक ३ देखि ४ लाखसम्म कमाइ हुने साथीहरुको कुरा सुनेपछि परिवारमा कसैलाई नभनी रुस हिंडेका थिए । प्लस टु सम्मको अध्ययन गरेका उनी नेपालमा रोजगारीका लागि धेरै ठाउँमा धाए । तर, कतै नपाएपछि साथीहरुकै कुरामा लागेर युवराज रुस पुगेका थिए ।

रुस गएको तेस्रो दिनमै उनी फौजमा भर्ती भए । ११ दिनको सामान्य तालिमपछि युके्रनको सीमा क्षेत्रमा लड्न पठाइएको उनले बताए । रूसी सेना बनेर ७ महिना युद्धभूमिमा लडेपछि आफू घाइते भएको र उपचारका लागि धेरै समस्या झेल्नुपरेको युवराज बताउँछन् ।

‘साथीहरुले कमाइ हुन्छ भनेर गइहालें । म रुस नपुग्दै मलाई बोलाउने साथी लडाइँमा बितिसकेका रहेछन्, गएको तीन दिनमै भर्ती भएँ । एक साताको तालिम लिएपछि युक्रेनको सीमा क्षेत्रको लडाइँमा सीधै पठायो’ युवराज भन्छन्, ‘मलाई लडाइँमा अगाडि जानुपर्दैन, ड्रोनले अगाडि कमाण्ड गर्छ भनिएको थियो । तर, हामीलाई नै अगाडि पठाइयो, उनीहरुले अनुभव नै नभएकालाई एकैचोटी मैदानको अग्रभागमा पठाए ।’

शरीरभरि गोलीका छर्रा लागेका युवराज सँगै गएका अधिकांश साथीहरुको हालखबर थाहा नभएको बताउँछन् । ‘घाइते भएपछि रुसका ६ वटा अस्पतालमा उपचार गराएँ’, उनले भने, ‘घाउ केही निको भएपछि अस्पतालबाट सीधै क्याम्पमा पठाइएको थियो । लडाइँमा आफ्ना अधिकांश साथीहरु गुमाएँ ।’

जसरी पनि नेपाल फर्कने अठोट लिएपछि अस्पतालबाट आफूलाई लिएर हिंडेको ट्याक्सीलाई थप रकम दिएर नेपाली दूतावास पुगेको र त्यहीबाट नेपाल फर्केको युवराज बताउँछन् ।

‘लडाइँमा गएको केही समयमै हामी धेरै नेपालीहरु दुर्घटनामा पर्‍यौं । म घाइते भएँ, उपचार गर्न ६ वटा अस्पतालमा पुगैं । अन्तिम अस्पतालबाट डिस्चार्ज दिएर पुनः क्याम्प पठाएको थियो, मैले चलाखी गरेर दूतावास गएर यता आएँ, भाग्यले बाँचियो’ युवराज भन्छन् ।

तीन दाजुभाइमध्ये माइलो युवराज अविवाहित हुन् । नेपाल पुगेपछि पनि रुसको लडाइँ र गोलीको आवाज सम्झिँदा झस्किने गरेको उनी बताउँछन् ।

उनका अनुसार यहाँबाट जाने बेलामा दिने भनिएको तलबसमेत पाइएन । ‘यहाँबाट त ४ लाखसम्म हुन्छ भनेर गएको नि ! तलब पाउन पनि समस्या, ५०-५० हजार गरेर दिने । तलब पूरै कति भन्ने पनि मेसो पाइएन’, उनले भने, ‘नेपालीमात्र होइन, अरु देशका पनि यस्तै अञ्जान र भ्रममा रुस पुगेका रहेछन् ।’

नेपालबाट धेरै युवा रुसी सेनामा पुगेको उनको भनाइ छ । तर, क्याम्प फरक भएकाले धेरैसँग चिनजान नभएको युवराज बताउँछन् । आफूसँगै गम्भीर घाइते र मृत्यु भएकाको पनि पहिचान नभएकाले परिवारमा सम्पर्क गर्न नसकिएको उनको भनाइ छ ।

‘सबैको ठेगाना थाहा हुने कुरा भएन । मैदानमा ढलेको नेपाली हो भन्ने त थाहा हुन्थ्यो । तर, उसको घरतिर केही थाहा छैन’, युवराज भन्छन्, ‘१५ हजार जति नेपाली त्यहाँको सेनामा छन् भनेर केही साथीले सुनाएका थिए । तर, आधिकारिक सूचना कसैसँग छैन ।’

नेपालमै रोजगारी भएको भए अरुको देशमा गएर युद्ध लड्न तथा मर्न जानुपर्ने बाध्यता नहुने युवराज बताउँछन् । सेनामा भर्ती भएपछि कमाण्डरले बाहिर कतै सम्पर्क गर्न नदिने भएकाले पनि बढी समस्यामा परेको उनी सुनाउँछन् ।

मोबाइल र कागजपत्र सबै कमाण्डरले राखिदिने भएपछि धेरैलाई भाग्न र नेपाल फर्कन समस्या रहेको उनको भनाइ छ ।

‘केही नहुँदासम्म सबै उस्तै देखिन्छ । तर, गोली लागेपछि त्यहाँका कसैले वास्ता गर्दैनन्, फर्केर हेर्दैनन्, रुसीहरु आफैं अघिल्लो मोर्चामा बस्दैनन् । सबै बाहिरबाट गएकालाई अगाडिको भागमा लड्न पठाउँछन्’, उनले भने, ‘म जाँदा त धेरै नेपाली थिएनन् । तर, पछि कति धेरै थपिएका छन्, अरु देशबाट पनि उस्तै गएका छन्, यति ठूलो समस्या भएको ठाउँमा पनि बेरोजगारका कारण जानुपरेको अवस्था छ ।’

नेपालमा सेना र प्रहरीमा भर्ती हुन धेरै ठाउँमा धाएर असफल भएपछि उता लागेको युवराज बताउँछन् । स्वदेश फर्केपछि पनि रुसको लडाइँले तर्साइरहेको उनको भनाइ छ ।

‘अब भने यही केही काम गर्छु । घाइते अवस्थामा फर्केको छु, नयाँ जीवन पाएको छु’, उनले भने, ‘सरकारको तर्फबाट केही राहत पाए त्यसलाई सदुपयोग गर्छु, नपाए आफैं पनि केही गरेर बस्छु ।’

प्यूठानबाटै रूसी सेनामा गएका स्वर्गद्वारी- ७ तापाका लालबहादुर घर्तीमगरको मृत्यु भएको छ । स्वर्गद्वारी- ९ का दीपक बुढाथोकी युक्रेनको युद्ध मैदानमा अलपत्र छन् । बुवा देवीराम बुढाथोकीले छोरा दीपकको उद्धार गर्न अनुरोध गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *