‘कोशी’ र ‘लुम्बिनी’ नामकरण र सीमांकनको विपक्षमा उभियो जनमत, पहिचानको आन्दोलन गर्ने निर्णय – Nepal Press

‘कोशी’ र ‘लुम्बिनी’ नामकरण र सीमांकनको विपक्षमा उभियो जनमत, पहिचानको आन्दोलन गर्ने निर्णय

जनकपुरधाम । जनमत पार्टीले प्रदेश १ को नाम ‘कोशी’ र प्रदेश ५ को नाम ‘लुम्बिनी’ अस्वीकार गरेको छ ।

वीरगञ्जमा चैत ३ र ४ गते बसेको जनमतको केन्द्रीय समिति बैठकले ‘कोशी’ र ‘लुम्बिनी’ प्रदेशको नाम अस्वीकार गर्दै पहिचानसहितको नाम राख्नुपर्ने निर्णय गरेको हो ।

प्रदेश १ मा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेशको सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णयसमेत गरिएको जनमतका सचिव बीपी साहले जानकारी दिए ।

उनका अनुसार मधेश-थरूहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन पनि परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय पनि गरिएको बताए ।

‘प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐनकानूनहरू चाँडै निर्माण गराउन दबाब दिने निर्णय पनि गरेका छौं’, उनले भने ।

जनमतका सचिव साहले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधान गर्न तथा आगामी वर्ष किसानहरूलाई समयमै मलखाद र बीउबिजन सहज उपलब्ध गराउन सरकारलाई दबाब दिने निर्णय पनि गरिएको बताए ।

जनमतको केन्द्रीय समितिले मधेशमा सुख्खा याममा हुने गरेको खानेपानीको अभावसँग जुध्न पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट उपलब्ध गराउन संघीय सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

उनका अनुसार बैठकमा पेश भएको ‘आखिर नेपालको विकास किन भएन ? रिभर्स इन्जिनियरिङ दृष्टिकोण तथा दोस्रो गणतन्त्र तथा सामाजिक लोकतन्त्रको लडाइँ’ शीर्षकको राजनैतिक प्रस्ताव पारित भएको छ । २०८१ जेठ १५ गते काठमाडौंमा आमसभा गर्न तयारीमा जुट्ने निर्णय पनि भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर