बागमती सरकारमा सामेलबारे निर्णायक बैठकमा हानेपा- केन्द्रीय समितिमा छलफल जारी – Nepal Press

बागमती सरकारमा सामेलबारे निर्णायक बैठकमा हानेपा- केन्द्रीय समितिमा छलफल जारी

हेटौंडा । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएर शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई अल्पमतमा पारिदिएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी चलिरहेको छ ।

केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ । तर, यी दलको मात्र बहुमत पुग्ने अवस्था छैन ।

११० सांसद रहेको बागमतीमा सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । तर, यहाँ नयाँ गठबन्धसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जनामात्र छन् । सरकार बनाउन हाम्रो नेपाली पार्टी (हानेपा) लाई गठबन्धनमा सामेल गर्ने कसरतस्वरूप जम्मकट्टैल सरकारले दुई मन्त्री अफर गरेको बाहिरिसकेको छ । हानेपाबाट यहाँ शैलेन्द्र बज्राचार्य र सरिता खड्गी २ जना सांसद छन् । मुख्यमन्त्रीनिकट स्रोतकाअनुसार दुवैजनालाई मन्त्रीको अफर गरिसकिएको छ ।

नेमकिपाका ३ जना सांसद रहेपनि आफूहरू सरकारबाहिरै बस्ने एक सांसद बताउँछन् । गठबन्धनले पनि सरकारमा उनीहरूलाई ल्याउन कसरत गरेको छैन ।

यस प्रदेशम नयाँ गठबन्धन जोगाउन हाम्रो नेपाली पार्टी निर्णायक बनेपछि उसले पनि बार्गेनिङ पावर बढाएको स्रोत बताउँछ । यसअघि दुईवटा सरकारलाई समर्थन गरेको हानेपाले सरकार बनेपछि वास्ता नगरेको भन्दै ‘बदला’ को मुडमा रहेको बताइएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले सरकारबारे हानेपाको आजै आधिकारिक धारणा आउने बताए ।

‘यस अघि समर्थन लिँदा भएको सहमतिलाई सरकारले वास्ता गरेन । यसपटक गम्भीर हामी गम्भीर रूपमा अघि बढ्छौं’, उनले भने ।

उनले थपे, ‘अहिले बागमती प्रदेश सरकारलाई पनि हानेपा अनिवार्य चाहिएको छ, यो अवस्थामा हामीले हाम्रो स्वतन्त्रता, अस्तित्वलाई कसरी रक्षा गर्दै अघि बढ्ने हो भन्ने विषयमा आजै फाइनल डिसिजन दिँदैछौं ।´

लौरोका प्रवक्ता ई. रोहन कार्कीले काठमाडौंमा केन्द्रीय समिति बैठक बसिरहेको र केही बेरमा निर्णय सार्वजनिक गरिने जानकारी दिए ।

बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केही दिन सरकार बनाउने कसरतमा लागेपनि नेकपा एस एमाले-माओवादीसहितको गठबन्धनमा सामेल भएपछि अहिले त्यो च्याप्टर क्लोज भइसकेको छ । यहाँ कांग्रेसका ३७, राप्रपाका १२ र नेकपा एसका ७ सांसद छन् ।

नेकपा एसले बागमती प्रदेशमा आफूहरूको उपस्थिति अन्य प्रदेशको तुलनामा बढी रहेको भन्दै मुख्यमन्त्री दाबीसहित गठबन्धनमा दबाब बढाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर