मेटमणिको दाबी- प्रचण्ड, माधव र ओली १५/१५ महिना प्रधानमन्त्री बन्ने सहमति (भिडिओ) – Nepal Press

मेटमणिको दाबी- प्रचण्ड, माधव र ओली १५/१५ महिना प्रधानमन्त्री बन्ने सहमति (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले माधव नेपाल पनि १५ महिना प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरेका छन् ।

विश्वासको मत दिनुअघि केपी शर्मा ओली र प्रचण्डसँग प्रतिबद्धता मागेको नेकपा एसले माधव नेपाल प्रधानमन्त्री बन्ने ग्यारेन्टी खोजेको थियो । बुधवार मुख्य नेताहरुबीच १५/१५ महिना प्रधानमन्त्री बन्ने समझदारी बनेको चौधरीको दाबी छ ।

न्युज एजेन्सी सरोकारसँगको कुराकानीमा चौधरीले भने- अब १५ महिना प्रचण्ड प्रधानमन्त्री रहने, त्यसपछि १५ महिना माधव नेपाल र चुनावी सरकारको नेतृत्व केपी शर्मा ओलीले १५ महिना गर्ने समझदारी भएको छ । त्यस अनुसार हामीले विश्वासको मत दिने हो ।

उनले थपे, ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ । जुन विषयहरु बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ । तर आज त्यो सबै सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरेका छौँ । हामीले जे विषयमा सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन सकेन, भएन भने, इमान्दारी भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौँ । १५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र त्यसपछिको प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने सहमति भएको छ ।’

माधव नेपाल संविधानको कुन धारा बमोजिम प्रधानमन्त्री बन्ने भन्नेबारे चाहिँ उनले बताएका छैनन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री रहेका प्रचण्डले राजीनामा दिएपछि धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ ।

प्रधानमन्त्रीले राजीनामा दिएपछि फेरि सोही धारा बमोजिम सरकार बन्ने तर्क नेकपा एसका नेताहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर