बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित – Nepal Press

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

रुपन्देही । बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७९÷८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वोत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो ।

नेपाल नगरपालिका संघले मंगलबार आयोजना गरेको समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो । तीमध्ये स्थानीय आर्थिक विकासतर्फ बुटवलले देशका सबै स्थानीय तहलाई उछिनेको हो ।

नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको मेयर पाण्डेयले बताए ।

‘बुटवल उपमहानगरपालिका आफ्ना सबै क्षेत्र परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको छ’, उनले भने, ‘आर्थिक रचना र प्रणालीले मानिसको विधि पद्धति, मानव सम्बन्धमा परिवर्तन ल्याउन सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर