सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गर्ने बेहुलासहित ५ जनाविरुद्ध मुद्दा दर्ता – Nepal Press

सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गर्ने बेहुलासहित ५ जनाविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम । सुनको सिक्री नदिएको झोंकमा विवाह रद्द गरेका बेहुलासहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बाराको कलैया उपमहानगरपालिका- ४ का बेहुला उमेश साहसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको हो ।

विवाहसम्बन्धी कसुरमा ५ जनाविरुद्ध बेहुली पक्षले मुद्दा दर्ता गराएको पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

सामाजिक परम्पराअनुसार कलैयाका बच्चालाल साहका छोरा उमेश र वीरगञ्ज महानगरपालिका- २४ रानीघाटका सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीबीच विवाह तय भएको थियो । बेहुला साह वीरगञ्ज महानगरपालिकामा कम्प्युटर अपरेटर रहेको बुझिएको छ ।

बेहुला कर्मचारी भएकै कारण बेहुली पक्षले नगद १२ लाख र मोटरसाइकलबापत ३ लाख २५ हजार, एक थान ल्यापटप र अन्य गरगहना दाइजो दिन तयार भएको थियो । स्रोतका अनुसार सम्झौता भए जति दाइजो केटा पक्षले लिइसकेको छ ।

दाइजो लिइसकेका बेहुला फागुन २८ गते सोमबार राति विवाह गर्न जन्ती लिएर बाजागाजासहित बेहुलीको घर पुगेका थिए । स्वयम्वर पनि भयो । जन्तीको स्वागत र खानपान चल्दै गर्दा बेहुलाले सुनको सिक्री नदिएको भन्दै होहल्ला सुरु गरेका थिए ।

होहल्ला गरेपछि जन्ती र बेहुली पक्षबीच कुटाकुट भएको थियो । बेहुला अब बिहे गर्दिनँ भन्दै जन्ती लिएर घर फर्किन लाग्दा पुगेका प्रहरीले अवस्था साम्य पार्ने प्रयास गरेका थिए । बेहुलाले असामान्य हर्कत गरेपछि उनीसहित ६ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

बेहुली पक्षले मुद्दा दर्ता गराएपछि बेहुलासहितलाई कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।

याे पनि पढ्नुस् : सुनको सिक्री नपाएपछि महानगरका कर्मचारीले गरे बिहे रद्द, लिइसकेका थिए १२ लाख र मोटरसाइकल (भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *