सुनको सिक्री नपाएपछि महानगरका कर्मचारीले गरे बिहे रद्द, लिइसकेका थिए १२ लाख र मोटरसाइकल (भिडिओ) – Nepal Press

सुनको सिक्री नपाएपछि महानगरका कर्मचारीले गरे बिहे रद्द, लिइसकेका थिए १२ लाख र मोटरसाइकल (भिडिओ)

मण्डपबाटै बेहुलासहित ८ जना पक्राउ, बेहुली भन्छिन्- यस्तोसँग बिहे गर्दिनँ

जनकपुरधाम । वरमाला विधि गरिसकेपछि सुनको सिक्री नदिएको भन्दै लफडागरी जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाह छन् । विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा बेहुलालाई साहसहित ८ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको हो ।

बेहुला शाह विरगञ्ज महानगरपालिकामा कम्प्यूटर अपरेटर पदमा कार्यरत छन् । सामाजिक परम्परा अनुसार शाह र वीरगञ्ज महानगरपालिका २४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसंग विवाह तय भएको थियो ।

बेहुलीका बुबा सुखल सामान्य गृहस्थ छन् । उनले बेहुलाले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार र एक थान ल्यापटप लिइसकेका छन् । तर विवाह मण्डपमा बेहुलाले सुनको सिक्री पनि मागेका थिए ।

बेहुली पक्षले अहिले तत्काल सिक्री दिन नसक्ने भनेपछि बेहुला शाहले होहल्ला गरे । विवाह अब हुँदैन भनेर जन्तीहरुलाई फर्काउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएको स्थानीले बताएका छन् ।

पक्राउ परेका बेहुला शाहसहितलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पर्साका प्रहरी प्रमुख एसपी कुमोद दुङ्गेलले दाइजो नदिएको निहुंमा विवाह रद्द गरिएकाले बेहुली पक्षले जाहेरी दिएमा कानून बमोजिम कारबाही अगाडि बढाउने जानकारी दिए ।

बेहुलाको लफडाले बेहुली पक्ष ठूलो समस्यामा परेको छ । भोज, टेस्ट, साउण्ड, सजाबट र लत्ताकपडामा बेहुली पक्षको ठूलो रकम बर्बाद भएको बताइएको छ ।

बेहुलीले अब विवाह नगर्ने प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘सिक्री माग्दै लफडा गरियो । मारपिट पनि भयो । अब म चाहदिनँ कि त्यस्तो फेमली र त्यस्तो व्यक्तिसँग विवाह होस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *