सञ्चार मन्त्रालयले दिएको समयसीमामा भाइबर र लिंक्डईन मात्रै सूचीकरणका लागि आए – Nepal Press

सञ्चार मन्त्रालयले दिएको समयसीमामा भाइबर र लिंक्डईन मात्रै सूचीकरणका लागि आए

फेसबुक, युट्यूबलगायत समाजिक सञ्जालले गरे बेवास्ता

काठमाडौं । हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दुईवटा सामाजिक सञ्जाल मात्रै सूचीकरण हुन आएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन आह्वान गरेकोमा भाइबर र लिंक्डईन मात्रै सूचीकृत हुन आएका मन्त्रालयले जनाएको छ ।

गत मंसिर १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरुलाई तीन महिनाभित्र सूचीकृत हुन आह्वान गरेको थियो । जसमा दुईवटा सामाजिक सञ्जाल भाइबर र लिंक्डईनले मात्रै सूचीकरण हुनका लागि आएको मन्त्रालयले जनाएको हो ।

नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याटलगायतका सामाजिक सञ्जाल भने सूचीकृत हुन आएका छैनन् । सामाजिक सञ्जालमार्फत समाजमा अराजकता बढेको गुनासा बढेकाले निर्देशिकामा प्रमुखरूपमा स्वनियमनको प्रावधान राखिएको मन्त्रालयले बताएको थियो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित सम्बन्धी निर्देशिका २०८० को दफा ३ ले सामााजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले निर्देशिक बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने भनेको छ ।

जसका लागि मन्त्रालयले सर्वाजनिक सुचना प्रकाशित गर्नुपर्ने उक्त निर्देशिकाको दफा ३ को उपदफा(२) को (१) ले व्यवस्था गरेको छ । सोहि उपदफा अनुसार मन्त्रालयले गत मंसिर १५ गते नै सूचना सर्वजनिक गरी सूचीकरणका हुन आह्वान गरेको थियो । मन्त्रालयले तीन महिनाभित्र अर्थात फागुन १५ गतेसम्म मन्त्रालयमा सूचीकरण हुनका लागि आह्वान गरेको थियो ।

सूचीकृत हुन आएका दुईवटा सामाजिक सञ्जालको विवरण भेरीफाई गरी थप आवश्यक विवरण माग गरी सूचीकृत गरिने मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार बाँकी सामाजिक सञ्जालको हकमा पुन बैंठक बसेर निर्णय गरी काम अगाडी बढाइनेछ ।

‘हामीले ३ महिनाको समय दिएर सूचना सर्वाजकि गरेका हौं । अहिलेसम्म २ वटा सामाजिक सञ्जाल मात्रै सूचीकरण हुन आएको देखिन्छ’, प्रवक्ता सुवेदीले भने, ‘अब अहिले मन्त्रालयमा सूचीकृत हुन आएका दुई सामाजिक सञ्जालको विवरण भेरीफाई गरी बाँकी आवश्यक विवरण माग गरी सूचीकरण गर्न काम हुनेछ भने बाँकी सम्पर्कमा नआएका सामाजिक सञ्जाललाई के गर्ने भनेर फेरी निर्णय गर्छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *