संघीय संसद बैठकको कार्यतालिकाः दुई महिनामा प्रतिनिधिसभाको ७ र राष्ट्रियसभाको १३ दिन – Nepal Press

संघीय संसद बैठकको कार्यतालिकाः दुई महिनामा प्रतिनिधिसभाको ७ र राष्ट्रियसभाको १३ दिन

फागुन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । सोमबार सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दुई महिनाको बैठक बस्ने कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक कार्यतालिकाअनुसार माघ र फागुनमा प्रतिनिधिसभाको बैठक ७ र राष्ट्रियसभाको बैठक १३ दिन बस्ने भएको छ ।

प्रतिनिधिसभाको सोमबार सुरु भएको पहिलो बैठक एक घण्टामात्रै बसेको छ । पहिलो दिनको बैठकमा अधिवेशन आह्वानको पत्रको जानकारीसँगै बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन, संघीय संसदको कार्यवाहक महासचिव तोकिएको जानकारी, राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० र बाधा अड्काउ फुकाउ अध्यादेश पेश भएको छ ।

अब प्रतिनिधिसभाको अर्को २४ गते बुधबार बस्नेछ । बुधबारको बैठकको शून्य समय, दलीय आधारमा मन्तव्य, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ दफाबार छलफलसहित पारित गर्ने तथा अन्य विधायिकी कार्य गर्ने कार्यतालिका छ । बुधबारकै बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने दिनको जानकारी गराउने कार्यतालिका सार्वजनिक भएको छ ।

कार्यतालिकाअनुसार फागुनमा ५ दिनमात्रै बैठक बस्नेछ । पहिलो बैठक ६ गते बस्ने कार्यतालिका छ । उक्त बैठकमा शून्य समय, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि सामान्य छलफल तथा अन्य विधायिकी कार्य गर्ने कार्यतालिका छ ।

यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० स्वीकृतिका लागि पेश गर्ने पनि कार्यतालिका छ ।

फागुनको दोस्रो बैठक १० गते बिहीबार बस्नेछ । उक्त बैठकमा शून्य समय, विशेष समय, राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० प्रस्तुत तथा अन्य विधायिकी कार्य हुनेछन् । ११ गते शुक्रबार बस्ने तेस्रो बैठकमा शून्य समय, विशेष समयमा उठेका प्रश्नको जवाफ, बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० लाई समितिमा पठाउने, प्रतिनिधिसभामा उत्पत्ति भएको भन्सार विधेयक २०८० माथि सामान्य छलफल तथा अन्य विधाधिकी कार्य गर्ने कार्यतालिका छ ।

फागुन १३ गते बस्ने चौथो बैठकमा शून्य समय, विशेष समय, राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० माथि सामान्य छलफल तथा अन्य विधायिकी कार्य गर्ने कार्यतालिका छ । १४ गते बस्ने फागुनको अन्तिम बैठकमा शून्य समय, मन्त्रालयगत प्रश्नोत्तर, राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० माथि सामान्य छलफल हुनेछ । यस्तै भन्सार विधेयक २०८० लाई समितिमा पठाउने तथा अन्य विधायिकी कार्य, विनियोजन विधेयकका बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) प्रस्तुत गर्ने कार्यतालिका छ ।

राष्ट्रियसभा बैठक माघमा ४ दिन

राष्ट्रियसभा बैठक भने माघमा चार दिन बस्नेछ । हिउँदे अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्रको व्यहोरा जानकारी, मन्त्रिपरिषद् सदस्यको कार्यभारसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको जानकारी, संघीय संसदको कार्यबाहक महासचिव तोकिएको जानकारी गराइएको छ । यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० पेश भएको छ भने राष्ट्रियसभा नियमावली मस्यौदा समितिको म्याद थपका लागि प्रस्ताव पेश, राष्ट्रियसभा नियमावली समितिको म्याद थपसम्बन्धी प्रस्ताव निर्णयार्थ पेश र राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेशसँगै बाधा अड्काउ फुकाउ आदेश पनि पेश भएको छ ।

माघ २४ गते बस्ने दोस्रो बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदामाथि सामान्य छलफल, संशोधनका लागि ७२ घण्टाको सूचना, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० छलफल तथा स्वीकृत गर्ने कार्यतालिका छ । त्यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची छ । २८ गते बस्ने माघको तेस्रो बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदामाथि दफाबार छलफल र पारित गर्ने, प्रतिनिधिसभाबाट प्राप्त सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक सभामा टेबुल गर्ने, अध्यागमन विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यतालिका छ ।

माघ २९ गते बस्ने अन्तिम बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि छलफलसहित पारित गर्ने र प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

फागुनमा राष्ट्रियसभा बैठक ९ दिन बस्ने कार्यतालिका छ । जसमा ६ गते बस्ने पहिलो बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश, विधायन व्यवस्थापन समितिको विधायन व्यवस्थापनसम्बन्धी विधेयकको प्रतिवेदन पेश, प्रतिनिधिसभाबाट प्राप्त सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुने र राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्धसम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्ने कार्यतालिका छ । ११ गते बस्ने बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्धसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल र विधायन व्यवस्थापनसम्बन्धी विधेयक २०८० छलफल तथा पारित गर्ने कार्यतालिका छ ।

फागुन १४ गते बस्ने तेस्रो बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको संरक्षण क्षेत्रको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन पेश, पूर्वबजेट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश र विदाइ हुने १९ जना राष्ट्रियसभा सदस्यको अनुभवको प्रस्तुति हुने कार्यतालिका छ । १७ गते बस्ने चौथो बैठकमा पूर्वबजेट छलफल प्रारम्भ, विधायन व्यवस्थापन समितिको स्थानीय तहको कानून निर्माण प्रक्रियासम्बन्धी अध्ययन प्रतिवेदन पेश र बिदाइ हुने राष्ट्रियसभा सदस्यको अनुभवको प्रस्तुति राख्ने कार्यतालिका छ ।

फागुन १८ गते बस्ने पाँचौं बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको संरक्षण क्षेत्रको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल, बिदाइ हुने सदस्यको अनुभवको प्रस्तुति रहने कार्यतालिमा उल्लेख छ ।
२१ गते बस्ने फागुनको छैटौं बैठकमा प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको सम्बन्धमा समितिको प्रतिवेदन पेश र नवनिर्वाचित राष्ट्रियसभा सदस्यको स्वागत तथा सदस्यबाट सभामा अपेक्षा प्रस्तुत गर्ने कार्यतालिका छ ।

फागुन २७ गते बस्ने सातौं बैठकमा राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण, समितिमा सदस्यको मनोनयन र पूर्वबजेट छलफल जारी तथा प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक छलफल तथा पारित गर्ने कार्यतालिका छ । २९ गते बस्ने आठौं बैठकमा पूर्वबजेट छलफल हुनेछ । त्यसै दिन राष्ट्रियसभाको अध्यक्षको निर्वाचन हुनेछ ।

फागुन ३० गते बस्ने बैठकमा पूर्वबजेट छलफल, अर्थमन्त्रीबाट जवाफ, समिति सभापति पदको निर्वाचनको दिन र समय निर्धारण गर्ने कार्यतालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर