आर्सनलको घरमा लिभरपुलको हार – Nepal Press

आर्सनलको घरमा लिभरपुलको हार

हेटौँडा । इङ्ग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुललाई पराजित गर्दै पहिलो स्थानसँगको अग्रता घटाएको छ ।

आइतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ ले विजयी भएको हो ।

खेलको प्रारम्भदेखि नै आक्रामक फुटबल खेलेको आर्सनलको जितमा बुकायो साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे भने लिभरपुलको खातामा रहेको एक गोल पनि आर्सनलबाटै उपहार आएको थियो ।

खेलको १४औँ मिनेटमा आर्सनलका साकाले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । तर पहिलो हाफको अन्त्यतिर लिभरपुलले उपहार गोल मार्फत खेल बराबरीमा ल्यायो । लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले कन्ट्रोल गर्न नसक्दा आत्मघाती गोल भयो ।

दोस्रो हाफमा थप आक्रामक बनेको आर्सनलले ६७औँ मिनेटमा मार्टीनेली मार्फत गोल गर्दै टिमलाई २(१ अवस्थामा पुर्‍याए ।

इन्जुरी समयको दोस्रो मिनेटमा ट्रोसार्डले गोल गरेपछि आर्सनलले खेल ३-१ ले जित्यो ।

जित पछि आर्सनलले शीर्ष स्थानको दूरी घटाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अंक छ । लिभरपुल २३ खेलमा ५१ अंक सहित शीर्ष स्थानमा कायम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *