नगरपालिकाकै संलग्नतामा अवैध उत्खनन : नदीबाटै कब्जा भए जेसीबी, टिपर र ट्र्याक्टर – Nepal Press
फलोअप

नगरपालिकाकै संलग्नतामा अवैध उत्खनन : नदीबाटै कब्जा भए जेसीबी, टिपर र ट्र्याक्टर

कैलाली । कैलाली गोदावरी नगरपालिकाका तीन वटा नदीमा वातावरणलाई नै प्रभाव पार्ने गरि प्राकृतिक स्रोतको दोहन गरेपछि प्रशासनले हस्तक्षेप गरेको छ ।

जिल्लास्तरीय अनुगमन समितिको बैठकले आज ती नदी अनुगमन गरेर ढुवानी साधन कब्जा गरेको हो । जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुुसालले १९ सवारी साधन नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार १० टिपर, ३/३ वटा टेक्टर, जेसीबी र स्काभेटर नियन्त्रमा लिएको हो । ‘मापदण्ड विपरीत उत्खनन गरेको पाइएपछि हामीले नियन्त्रणमा लिएका हौ’, उनले भने । नदीबाटै नियन्त्रणमा लिएका ती साधन स्थानीय प्रशासनको जिम्मा लगाइएको उनले बताए ।

गोदावरी नगरपालिकाको खुटीया, खैराना र गोदावरी नदीको ढुंगा गिट्टी बालुवाको नियम विपरीत उत्खनन भएपछि जिल्लास्थित नदिजन्य पदार्थ अनुगमन समितिले आज अनुगमन गरेको हो ।

सबैभन्दा बढी कैलालीको गोदावरी नदीमा वातावरण प्रभाव मुल्यांकनको अवज्ञा गर्दै उत्खनन भइरहेको छ । गोदावरी नदीमा आधादर्जन जेसीबीहरु हालिएका छन् भने वातावरण प्रभाव मूल्यांकनमा बढीमा एक मिटर गहिरो खन्न सकिने प्रावधान विपरीत ५ मिटर सम्मका ठूला ठूला खाल्टा बनाइएका छन् ।

याे पनि पढ्नुस्: नदीजन्य पदार्थको अवैध उत्खननमा नगरपालिकाकै संलग्नता (भिडिओ)

नदीजन्य पदार्थको प्रायजसो संकलनको ठेक्का गरिन्छ तर सूचना प्रकाशित गर्दा पनि टेन्डर नपरेको भन्दै गोदावरी नगरपालिकाले गत वर्षदेखि नै आफै अमानतमा तीनवटै नदीबाट नदीजन्य स्रोत संकलन गरि बिक्री गरिरहेको छ । खैराना खोलामा नदीको बीचमा ठूला ठूला खल्टा हुने गरी उत्खनन गरिएको छ भने बस्तीतिर रहेको नर्सरीभीत्र पनि उत्खनन गरिएपछि त्यहाँका जनता नदी गाउँ पस्ने चिन्तामा छन् ।

गतवर्ष आमानतमा (आफै) नदीजन्य पदार्थ संकलन गर्दा सादा कागजमा रोयल्टी संकलन गरिएको भेटाएपछि स्थानीयले विरोध गरेका थिए । यसपालि पनि आधाभन्दा बढी नदीजन्य पदार्थ बिना रसिद गइरहेको स्थानीयको आरोप छ ।

जिल्ला भरीको नदीजन्य पदार्थको अनुुगमनका लागि जिल्ला समुन्वय समितिका प्रमुखको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, बन र आन्तरिक राजश्वका प्रमुख सदस्य रहेको समिति रहने प्रावधान छ ।

केही दिनदेखि नदीजन्य पदार्थको अवैध उत्खननका खबरहरु सामजिक सञ्जालमा आएपछि, जिल्ला स्थित नदिजन्य पदार्थ अनुुगमन समितिले आईतबार नदीमा रहेका जेसीबी, टिपर र ट्र्याक्टरहरु नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *