सुदूरपश्चिम माओवादी दलकाे नेताबाट हटाइएका खगराजलाई प्रधानमन्त्रीकाे ढाडस- तपाईंमाथि अन्याय हुन दिन्नँ – Nepal Press

सुदूरपश्चिम माओवादी दलकाे नेताबाट हटाइएका खगराजलाई प्रधानमन्त्रीकाे ढाडस- तपाईंमाथि अन्याय हुन दिन्नँ

कैलाली । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुदूरपश्चिम प्रदेशका माओवादी मन्त्री सहितका नेताहरूको भेटवार्ता भएको छ । बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी दलको नेता परिवर्तन गरेपछि प्रदेशमा विवाद सुरु भएको थियो ।

आज बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्ट सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सांसद जनकीदेवी कुँवर, प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र प्रचण्ड बुहारी समेत रहेकी नेतृ विना मगरले प्रचण्डलाई भेटेर समसामायीक विषयमा जानकारी गराएका हुन् ।

बिहान करिब ८ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच करिब ३० मिनेट संवाद भएको थियो ।

हरिराम चौधरी, खगराज भट्ट, रमेश धामी, बिना मगर लगायतले सुदूरपश्चिम प्रदेश माओवादीमा अहिले समस्या देखिएको र केन्द्रबाट यस विषयमा हस्तक्षेप गर्न आवश्यक रहेको बताएका थिए ।

लेखराज भट्ट एमाले भएपछि कमजोर भएको पार्टी खगराज भट्टलाई दलको नेताबाट हटाएर थप कमजोर बनाउन लागेको प्रदेश अध्यक्ष चौधरीले प्रधानमन्त्रीलाई बताएका थिए । पछिल्लो घटनाक्रमले राम्रो सन्देश नदिएको उनले बताए ।

याे पनि पढ्नुस्: खगराजका दुःख: मुख्यमन्त्री भएनन्, दलका नेता पनि रहेनन्

स्थायी कमिटी सदस्य समेत रहेका भट्टले आफू माथि अन्याय भएको जिकिर गरे ।

‘मेरो राजनैतिक जीवनको इतिहासमा सबै भन्दा ठूलो धक्का खाए’ उनले प्रचण्डलाई सुनाए ।

सबैको कुरा सुनेपछि प्रचण्डले तत्काल मन्त्रीमण्डल फेरबदल नहुने बताएका थिए । बहुमत प्रदेश सभा सदस्यहरूसँग संसदीय दलको नेता हेरफेर गरेपछि भेट नभएको भन्दै यस विषयमा केन्द्रीय समिति बैठक पछि थप छलफल हुने बताए । त्यो भन्दा पहिले मन्त्रीहरू हेरफेर नहुनेमा आश्वस्त हुने प्रचण्डले भनेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले खगराज भट्टलाई अन्याय हुन नलिने बताए । यस विषयमा दुबै पक्षसँग बसेर छलफल गरेर निकास दिने प्रचण्डले बताए ।अघिल्लो शुक्रवार माओवादी बहुमत प्रदेश सभा सदस्यहरूले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए ।

११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र सुदूरपश्चिममा एक जना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णय गरेको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकीदेवी कुँवर उपस्थित थिएनन् । ४ जनाको अनुपस्थितिमा ६ प्रदेश सांसदले गरेको निर्णय सच्याउन माओवादीको प्रदेश कमिटीले निर्देशन दिइसकेको छ । तर, संसदीय दलले उक्त निर्णय नै अल्पमतको रहेको भन्दै कार्यान्वयन नहुने बताइसकेको छ ।

आज दुई मन्त्री, दुई सांसद र दुई नेताले प्रचण्डलाई सुदूरपश्चिम प्रदेशको विषयमा थप जानकारी गराएपछि अब दुबै पक्षसँग बसेर थप छलफल हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर