खगराजका दुःख: मुख्यमन्त्री भएनन्, दलका नेता पनि रहेनन् – Nepal Press
टिप्पणीः

खगराजका दुःख: मुख्यमन्त्री भएनन्, दलका नेता पनि रहेनन्

कैलाली । गत मङ्सिरमा ४ मा वाम लोकतान्त्रिक गठबन्धनसहित चुनावमा होमिँदा सुदूरपश्चिमको मुख्यमन्त्रीका दाबेदार थिए, माओवादीका खगराज भट्ट।

निर्वाचनका लागि प्रचार प्रसारमा डडेल्धुरा पुगेका तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै मञ्चबाट उभिएर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रूपमा खगराज भट्टलाई चित्रण गरेपछि उनलाई निर्विकल्प मुख्यमन्त्रीको रुपमा हेर्न थालियो ।

प्रदेशमा माओवादीका सबै भन्दा उपल्लो तहका नेता हुन् खगराज भट्ट । केही समय अघि सम्म इन्चार्ज रहेका भट्ट अहिले प्रदेशका एक्ला स्थायी कमिटी सदस्य हुन् । उनी०७४ सम्म डडेल्धुराबाट प्रतिनिधि सभामा देउवाका प्रतिस्पर्धी थिए।

माओवादी सशस्त्र द्वन्द्व छोडेर शान्ति प्रक्रियामा आएपछि २०६४, ०७० र ०७४ का तीन निर्वाचन देउवासँग भिडे तर उनलाई हराउन सकेनन्।
यस पटकको चुनावमा उनै भट्टले गठबन्धनका कारण देउवालाई प्रतिनिधि सभा छोडेर आफू प्रदेश सभातर्फ झरे।

उनी प्रदेश सभामा झरेपछि सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रुपमा हेरिएका थिए। माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भट्टलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्री बनाउनमा सहमत थिए।

देउवाले निर्वाचनताका भट्टका लागि मत माग्दै उनलाई भावी मुख्यमन्त्रीका रुपमा सार्वजनिक कार्यक्रममै चित्रण समेत गरेका थिए।
२०६४ सालदेखि डडेलधुराबाट प्रतिनिधिसभा (पहिलो र दोस्रो संविधानसभासहित) चुनाव लड्दै आएका आफैँ पनि प्रदेशसभामा जान तयार थिएनन् ।

तर, पाँच दलीय गठबन्धनमा डडेलधुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छोड्नुपर्ने भयो । लगातार देउवासँगै प्रतिस्पर्धा गरिरहेका भट्टलाई प्रदेशसभामा लैजाने क्रममा मुख्यमन्त्रीको आश्वासन दिइयो ।

देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री बन्ने गरी प्रदेशसभामा जान भट्टलाई आग्रह गरिएको थियो, जसअनुसार भट्ट डडेलधुरा (क) बाट निर्वाचित भए ।

देउवा र प्रचण्डको वचन बमोजिम स्वाभाविक रुपमा भट्ट दलका नेता भए तर, मुख्यमन्त्री भने बन्न सकेनन् ।

पुस १० अनपेक्षित ढंगले फेरिएको राजनैतिक समीकरण पनि भट्ट मुख्यमन्त्रीबाट रोकिए । एमाले र माओवादी एक ठाउँमा आउँदा सुदूरपश्चिम एमालेको भागमा पर्‍यो र राजेन्द्रसिंह रावल मुख्यमन्त्री भए ।

देउवा र प्रचण्ड दुबैबाट मुख्यमन्त्रीको आश्वासन पाएका भट्ट राजेन्द्रसिंह रावलको नेतृत्वमा रहेको सरकारमा विना विभागीय मन्त्री बन्न भ्याए । तर, यो सरकार १ महिना पनि टिकेन ।

केन्द्रमा माओवादी एमाले गठबन्धन हुँदा प्रदेशमा एमाले माओवादीको सरकारले विश्वासको मत पाउन नसकेपछि कांग्रेसको हातमा सत्ता पुगेको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । यहाँ एमालेका १० र माओवादीका सभामुख सहित ११ सांसद छन् । सरकार गठन गर्दा हस्ताक्षर गरेका नागरिक उन्मुक्तिका ७ सांसद विश्वासको मत दिने दिन काठमाडौँमै रहेपछि सुदूरपश्चिममा संविधानको धारा १६८ (३)अनुसार ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री भए ।

त्यस बेला पनि माओवादी संसदीय दलका नेता रहेका भट्टले कांग्रेस र माओवादी मिलेरै सरकार बनाउन सक्ने भन्दै प्रचण्ड र देउवाले दिएको आश्वास अनुसार संविधानको धारा १६८ (२) अनुसार नै सरकार बनाउनु पर्नेमा थिए तर, यो पनि भएन ।

विश्वासको मत दिने बेला सम्म केन्द्रमा माओवादी कांग्रेस फेरि एक ठाउँमा आइरहेको थियो त्यसले पनि भट्टलाई कुनै राहत भएन बरु विश्वासको मत नदिने अडानमा रहे । त्यो बेलादेखि नै माओवादी भित्र संसदीय दलका नेता भट्टसँग अरू सांसदहरू चिढिँदै गएका थिए । सरकारमा पठाउँदा एकलौटी गरेको आरोप उनीमाथि बलियो भएर लाग्यो अन्ततः संसदीय दलको नेता भएको करिब एक वर्षमै उनी अल्पमतमा परे । हटाइए ।

प्रचण्ड र देउवाले दिएको आश्वासन अनुसार पुस १० मा अहिलेकै गठबन्धन रहेको भए भट्ट नै मुख्यमन्त्री बन्ने सम्भावना अधिक थियो । कांग्रेस सभापति देउवासँग लगातार निर्वाचन लड्दै लगाएका र आगामी दिनमा डडेल्धुरामा भट्टलाई बिच्काएर फाइदा हुने नदेखेका देउवा प्रचण्डसँग बीचमा गठबन्धन नटुटेको भए भट्टलाई नै मुख्यमन्त्री बनाउन चाहन्थे ।

तर, एमाले र माओवादीको गठबन्धन भएपछि माओवादीको प्राथमिकतामा सुदूरपश्चिम भन्दा बढि कर्णाली पर्‍यो । कर्णालीमा जनार्दन शर्माले आफ्ना परिवारका सदस्य मानिएका राजकुमार शर्मा रोज्दा सुदूरपश्चिममा भट्ट छुटे । शर्मा र भट्ट दुबै जनार्दनका टिममा रहेका थिए । त्यो बेला आफूलाई मुख्यमन्त्री बनाउन पहल नगरेको भन्दै जनार्दनसँग रुष्ट रहेको भट्टलाई अहिले दलको नेता हटाउँदा पनि जनदर्शनले त्यति रोक लगाएनन् ।

जसका कारण मुख्यमन्त्री बन्नबाट पहिलो पटक चुकेका भट्ट फेरि पनि मुख्यमन्त्रीको रिङबाट बाहिरिएका छन् ।

सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार आगामी १ वर्ष पछि सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुँदा माओवादीले नेतृत्व पाउने सम्भावना रहेको छ तर, त्यो बेला अब माओवादीको भागमा मुख्यमन्त्री पर्दा पनि त्यो बेला सम्म दलको नेता फेरि नफेरिए भट्टको सम्भावना क्षीण भएको छ ।

पुस १९ मा सभामुख सहितका ७ जनाले प्रधानमन्त्री तथा माओवादी अध्यक्षलाई भेटेरै दलको नेता परिवर्तन गर्नु पर्ने अवस्था आएको बताएका थिए । राष्ट्रिय सभा निर्वाचन पछि अगाडी बढ्न सुझाव दिएका प्रचण्डलाई त्यसपछि माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव, विना मगर र खगराज भट्टले संयुक्त रुपमा भेटेर सुदूरपश्चिम संसदीय दलको नेताका विषयमा गम्भीर चासो व्यक्त गरेका थिए ।

तत्काल संसदीय दलको नेता हटाउन नहुने भन्दै प्रचण्डलाई उनीहरुले रिपोर्टिङ गरेका थिए । प्रदेश अध्यक्ष चौधरीका अनुसार प्रचण्डले पनि तत्काल हटाउन नहुने बताएका थिए । त्यसको केही दिनमा सुदूरपश्चिममा दलको नेताबाट बहुमतले निर्णय गर्दै भट्ट हटाइए ।

सुदूरपश्चिममा सबै भन्दा उपल्लो तहको नेताका रुपमा रहेको भट्टलाई बहुमतको आधारमा दलको नेताबाट हटाएपछि उनले आफूलाई गलहत्त्याएको आभास गरेका छन् । यो घटनाले माओवादी भित्रको तिक्तता अझै बढ्ने देखिन्छ ।


प्रतिक्रिया

One thought on “खगराजका दुःख: मुख्यमन्त्री भएनन्, दलका नेता पनि रहेनन्

  1. प्रचण्डको पाउ नमल्नेको हालत यस्तै हो प्रचण्ड एण्ड कम्पनीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर